~चन्द्र गुरुङ~
सखारै
एउटा कलकलाउँदो दिन उदाउँछु
दैनिकीको आकाशमा वल्लो छेउ, पल्लो छेउ घिसि्रन्छु
अहोरात्र पसिनाको अविरल खोला बगाउँछु
ढाडका कोमल हड्डीहरु खियाउँछु
जोतिन्छु खुरन्धार
मानौँ लानु छ आकाश-धर्ती नै !
समय यसरी बित्छ
मनमा अड्दैन
कर्कलाको पातमाथि नाच्ने शीतको सौन्दर्य
जीवनको आकाशमा सूर्यको उज्यालो फैलिँदैन
कुनै अर्थ छैन जूनको शीतलता ।
पल-पल व्यस्त बन्छ
सन्तानको मुहारमा खुसी ओइलाउँछ
आमाका आँखामा स्नेह छचल्किन्छ
बाका जर्जर मनमा थुप्रिएको आशीर्वाद
भ्याइँदैन थाप्न ।
चटारोमा बाँचिन्छ
फुर्सद छैन हिमाल-पहाडसित मित्रता गाँस्ने
माटोसित लम्बेतान आत्मीय बात मार्ने
सुसाउने जंगलको गीत सुन्ने ।
मनभरि ऐंजेरु जिजीविषा
जीवन रूखका टोड्कामा सन्तुष्टिले
गुँड लाएको छैन
हाँगामा शान्तिका बचेरा चिरबिराउँदैनन्
क्षणहरु थोते समयले बेस्वाद चपाउँछ ।
फुटेको बल्ब बोक्दै
जीवनको राजमार्गछेउ ल्याम्पपोस्ट उभिएको छु
समयको ह्यांगरमा झुन्ड्याएको छु
खुसीका टाँकहरु झरिसकेको बूढो कोटजस्तै ।
यति हतारमा बाँचिर’छु
भ्याएको छैन जीवनको ऐना हेर्नेसम्म ।
लाग्छ
केही छुटेको छ कतै, धेरै कुरा !
प्रकाशित: आश्विन १२, २०७१
(स्रोत : नेपाल साप्ताहिक)