“जा, नफौरी । यो उमेरमा आएर प्रेमका कुरा गर्न थाल्छे । त्यत्रो खहरे खोला जस्तो बैँसभरी के गरेर मरीस् त ? पोइले नपुगे एउटा नाठो समाएर च्वाप्प म्वाइँ खाएकी भए भइहाल्थ्यो नि ।” – रन्जिताले ठट्टामा उडाउँदै शोभनालाई भनी ।
“तँ मेरो कुरालाई अलि गम्भिरता साथ लिई दे न, रञ्जिता । म चाहिं मनको पीर अलि हलुका पारिदिन्छे कि भनेर भन्छु । ऊ भने हावामा कुरा गर्छे ।” – शोभना अलि झर्केर भनी ।
“तेरो कुरा गम्भिरतासाथ लिने खालको नै कहाँ छ र लिऊँ । कहाँ तेरो घरबार, चालचलन र उमेर र कहाँ तेरा प्रेमका कुरा ! ‘घोडाको सिङ उम्य्रो’ भने जस्ता छन् तेरा कुरा अनि पत्याउनु कसरी ?” – रञ्जिताले पत्यार गरिन ।
“तर भएको सत्य चाहिं त्यही हो ।” – शोभनाले लामो सास फेरेर भनी ।
शोभनाको व्यवहार देखेर रञ्जिता असमन्जस्यतामा परेर भनी – “ शोभना ! प्रेममा पर्नु, त्यसको चाहना हुनु, मिठा मिठा सपना देख्नु यो त उमेरको कुरा पो त । छोरा छोरीको प्रेम थाल्ने यो अधबैंशे उमेरमा आगो कसरी सल्कियो त यहाँ ?”
शोभनाले लामो सास फेरेर भनी – “ किशोरावस्थामा मैंले धेरै सपनाहरू देखें तर ती सपनामा मेरो प्रेम सिनेमाको प्रेम हुन्थ्यो । त्यो बेलाका चल्ती नायकहरू मेरा सपनाका राजकुमारहरू हुने गर्दथे । तिनीहरू प्रतिको मोह देखेर मेरी आमा भन्ने गर्नु हुन्थ्यो ‘यो सारै उत्ताउली छ ।’ तर त्यो उत्ताउलोपन लागी रहेन । १७ पनि नपुग्दै मेरो बिहे भयो । मलाई केटो देखाईयो तर जिन्दगीमा पहिलो पल्ट देखेको लोग्ने मानिसमा गुण थिए कि दोष, म के थाहा पाऊँ ? त्यसमा पनि धनधान्य सम्पन्न, सुख सामाग्री भरपुर र जीवनमा व्यवस्थित भइसकेको तीस नाघेको लोग्ने मानिसमा खोट देखिने सम्भावना पनि हुँदैन । मैंले त आफ्नो लोग्नेमा खोट कहिले पनि देखिन र उसको खोट रहित पूर्णतामा सधैंको निरन्तरता पाउँछु म ।”
“निरन्तरता थियो भने यो एक्लो बौलठ्ठीपन कहाँबाट आयो त तेरो ?” – रन्जिताले व्यङ्ग्यात्मक मुस्कान ओठमा ल्याएर भनी ।
शोभनाले रन्जिताको व्यङ्ग प्रति ध्यान नदिएर भन्दै गई – “ बिहे भए पछि मैंले ‘आफ्नो प्रेम पाएँ’ भनि ठानें । शायद त्यो उमेरमा यौनतृप्ति दिने कुनै पनि लोग्नेमानिस प्रेमी जस्तो लाग्छ होला । त्यो कुरा छुट्याउने मेरो उमेर पनि थिएन । म सँग समय पनि भएन । भौतिक सुखसाधनको कमी नहुने स्वास्नीमानिसको काम छोराछोरी पाउनु, हुर्काउनु, लोग्नेलाई यौनसुख दिनु, उसको घरपरिवार हेरि दिनु, यस्तै कुराहरू हुन्छन् । यस्तैमा समय बित्छ र ऊसँग सोच्ने क्षमता पनि हुँदैन । ऊ सधैं एउटा पुर्ण लोग्नेमानिसको छत्रछायामा आफूलाई सुरक्षित ठान्दछे र लोग्नेको संरक्षणलाई प्रेम ठान्दछे । त्यसैले मलाई जिन्दगीमा कुनै शिकायत भएन । म वातानुकुलित गोठमा बसे घाँस, दाना, कुँडो खाने लैनी गाई जस्तै थिएँ जो आफू पनि सन्तुष्ट छ र मालिकको माग पनि पूर्ति गरिदिन्छे ।”
“तँ पहिले त यस्ती सम्वेदनशिल थिइनस् त, शोभना ।” – रन्जिताले जिल्लिएर भनी ।
“पहिले म अरूले बनाएको संसारलाई आफ्नो ठानेर भुलेकी थिएँ । म त्यो भुलभुलैयाभित्र अल्मलिएर ठूली भइछु, बिहे गरिछु, छोरा छोरी पाएर हुर्काइछु र आधा जीवन बिताइछु । मलाई फुर्सद पनि भएनछ आफ्नो बारे सोच्ने । अहिले फुर्सदमा सोचेर हेर्छु त मसँग केही पनि रहेनछ ।” – शोभनाका आँखा निराशामा ठुला भए ।
“के सम्पत्ति भएन तँसँग ? कि प्रज्ञानदाईले तँलाई माया गरेन र अर्की लिएर आयो ? तँलाई कमी भयो के ?” – रन्जिताले आश्चर्य मानेर सोधी ।
शोभनाले लामो सास फेरेर भनी – “ प्राप्तीको कमी मलाई छैन, रन्जू, तर प्राप्ति मात्र पुर्णता होइन, प्राप्ति मात्र उपलब्धि होइन । जीवनमा लक्ष र उपलव्धिको महत्व जति प्राप्तिमा छ त्यो भन्दा बढी दिनुमा छ । जसरी वात्सल्य आमा हुनुको उपलव्धि हो, त्यसरी नै नारी हुनुको उपलव्धि प्रेमिका हुनु हो एउटा लोग्ने मानिसलाई प्रेम दिनु हो र त्यो प्रेम मैले लोग्नेलाई दिन सकिनछु । ऊ त मेरा छोराछोरीको बाबु मात्र भएछ, मेरो जीवनको रथको एउटा सहयात्री मात्र भएछ । हामी बिचको नाता प्रेमको बन्धन नभएर एक अर्काको स्वार्थपूर्तिको एउटा माध्यम मात्र रहेछ ।”
“कठै बरा ! मेरी शोभी भोकले मर्न लागिछ त्यसो भए ।” – रन्जिताको स्वरमा गम्भिरता पटक्कै थिएन ।
“म भोकाएकी होइन । म त अत्याधिकताले किचिएकी । जसरी कालो बादल पानी बर्षाउने ठाउँ बोज्छ, जसरी गर्भिणी चरी गुँड बनाउने रुख खोज्छे त्यसरी नै मेरो प्रेम कसै माथि खनिनु थियो अन्यथा वेवारिसे बच्चा जस्तो मेरो प्रेममा कसैको दावी हुने थिएन र दावी बिनाको प्रेम त बतासे फुल जस्तै हुन्छ बाहिरबाट हेर्दा कोरलिने फुलबाट न छुट्टिने, भित्र भने फोस्रो ।” – शोभनाले भनी ।
“पाइस् त माया दिने थलो ?” – शोभनाको त्यो गम्भिरता रन्जितालाई पटक्कै मन परेको थिएन र अझै चित्त बुझेको थिएन ।
“एकाएक भेट्टाएँ मैंले । मैंले प्रेम गरेको व्यक्ति त म भन्दा एक हात पर मात्र रहेछ । ऊ त यति नजिक रहेछ कि मेरो लोग्नेको छायाँले सधै छेक्दो रहेछ उसलाई र म देख्दिरहिनछु अथवा ऊ मेरो लोग्नेसँग यति टाँसिएको रहेछ कि उसलाई गरेको प्रेम मैंले लोग्नेलाई गरेको भनि ठानेकी रहिछु । निरन्जन सँगको मेरो नाता यस्तै रहेछ ।” – शोभनाले मुस्कुराएर भनी ।
“प्रज्ञान र निरन्जनको यस्तो काटो छिनो छ । तँ भनें…” – रन्जिताका आँखा बल्ड्याङ्रा जस्ता भए ।
“काटो छिनो छ दुई जनाका बिचमा र त्यसमा घिउ थप्ने काम सधैं गरे मैले । म चाहन्थे मेरो लोग्नेले निरन्जनलाई प्रहार गरोस्, हरूवा बनाएर मेरो सामु लिएर आओस् र म भन्न सकूँ ‘निरन्जन यो विजय मेरो हो ।’ किन चाहन्थे म यो कुरा ? मलाई थाहा थिएन तर योभन्दा पर पनि मेरो चाहना रहेछ । म त उसको लासलाई म्वाई खाएर भन्न चाहन्थे ‘निरन्जन! यो पराजय पनि मेरो हो र मेरो विजय भन्दा पराजय ठूलो छ ।”
रन्जिताले कुरा काट्दै भनी – “ जा, जा । अब दर्शन छाँट्न थाली । बुढेसकालमा प्रेम गर्नु छ त्यो पनि लोग्नेको शत्रुसँग । बुढीले त नाठा पनि छानेर खेलाउनु पर्छ नि । के अब लोग्ने छोड्ने सुर छ ।”
शोभनाले रन्जिताको अपशब्दलाई पटक्कै वास्ता नगरेंर सहज भावमा जवाफ दिई – “ पटक्कै छैन । मलाई त लोग्ने र प्रेमी दुवै चाहिन्छ । मेरो र मेरा छोराछोरीको भौतिक संरक्षणको निम्ति मेरो लोग्ने सँगको सम्बन्ध बिग्रनु पनि हुन्न र मेरो आत्मतृप्तिको लागि मेरो प्रेमी पनि मसँग हुनुपर्छ ।”
रन्जिताको स्वरमा कटु व्यङ्ग थियो – “ मान्नु पर्छ वा मान्नु पर्छ नारी आकाङ्क्षा र सपनालाई पनि । एउटै दापमा दुईटै खुकुरी अटाउन खोज्ने प्रयास त देखिएको थियो तर एउटै भाँडोमा आगो र पानी राख्ने कुरा पनि सुन्न पर्योत आज ।”
“त्यसैले त मैंले तँलाई बोलाएकी ।” – शोभनाले गम्भिर नै रहेर भनी । आफ्नो व्यङ्य्स, गाली, ठट्टा, कुनैले पनि शोभनालाई असर नगरेको देखेर रन्जिता पनि गम्भिर भई र भन्न थाली – “ शोभना ! लोग्ने र प्रेमी दुबै राख्ने प्रयाश सधैं भरीका लागि सफल हुने कुरा होइनन् । त्यसमा पनि लोग्नेको शत्रु प्रेमी हुने कुरा त झन् सम्भव नै होइन । त्यसैले तँ छोडी दे यो मृगतृष्णा ।”
“मेरो प्रेम मेरो कमाई हो र यो कमाइ यति मिठो छ कि त्यसलाई त्याग्ने क्षमता नै छैन ममा । त्यो त्याग्नु नै मृत्यु जस्तै हो ।” – शोभना मानिन ।
“माया गर्छ त निरन्जन तँलाई ?” – रन्जिताले प्रश्न गरी ।
“मलाई माया त मेरो लोग्नेले गर्छ । म निरन्जनलाई गर्छु । निरन्जन कसलाई गर्छ ? थाहा छैन तर त्यो डोरीले कही कसैलाई समाएकै हुनुपर्छ । होला कोहीमा बाँधिएको ऊ पनि । म त मेरो लोग्ने र प्रेमीलाई एउटै डोरीमा अल्झाएर आफ्नो गलामा झण्डाउन चाहन्छु ।” – शोभना भावुक बनी ।
“कसरी ?” – रन्जिताले प्रश्न खडा गरी ।
“दुवैलाई मित्र बनाएर । अनि तैंले त्यसमा सहयोग गरी दिनु पर्योर मलाई ।” – शोभनाले दृढता साथ भनी ।
रन्जिताले ‘नाइँ’ भन्ने कुरा नै भएन ।
शोभना र रन्जिता त्यान्द्रा, त्यान्द्रा बटुलेर जाल बुनिरहेका थिए तर प्रज्ञान र निरन्जन दुवैलाई त्यसको अत्तोपत्तो थिएन । उनीहरू त एक अर्काको शेखी झार्न र टाउको निहुराउनमा नै प्रयत्नरत थिए । चौथो र पाचौं दशकको वाटोमा कुदिरहेका ती दुई व्यवसायीहरू कमाउनु, जुटाउनु, टुटाउनु र फुटाउनुमा सीमित थिए । उनीहरू भोजमा जान्थे, रक्सी खान्थे, गजल साँझ, मुजुरा हेर्न पनि चुक्दैनथे र प्रतिद्धन्दितामा कसैको सामु झुक्दैनथे । ५०/५२ प्रज्ञान केही तालु खुइलिएको, आधा भन्दा बढी नै फुलेकों, जिउ डालको अनुपातमा तौल निकै बढी भए पनि उसको लुज फिट ड्रेसमा छोपिन नसक्ने अनुहारले नै दौड धुप, सुरा, सुन्दरी र सिगरेटको पर्याप्त दुरुपयोग भएको रुपरेखा देखाउथ्यो । शोभनालाई उसको उमेर मै जन्मिएकी पहिली छोरी भन्दा त्यति नपच्ने कुरा थिएन । ४५ पनि ननाघेको निरन्जन प्रज्ञान भन्दा अति संयमी भएकोले पैंतालिस ननाघेकै जस्तो देखिन्थ्यो । बिहे त उसले पनि गरेको थियो र उसको पनि परिवार थियो तर कुरा कथा प्रशङ्गमा उनीहरूले उल्लेख कहीँ पनि नभएकोले उनीहरूको व्यक्तित्वबारे कुरा उठाउन आवश्यकता परेन । सामाजिक मर्यादाको परम्परामा दुवै लोग्नेहरू भद्रजन भएकाले आफ्नो वैमनश्यतामा अर्काको परिवारलाई छुने प्रयास दुबैबाट भएन । दुवैले यस्तो कुरा अमर्यादित ठान्दथे । अचानक शोभनाको प्रेम नजन्मेको भए उसको पनि अस्तित्व देखिने थिएन र कुराको शुरुवात पनि हुने थिएन ।
कसैको भोजमा मौकावस रन्जिता निरन्जनसँग परिचय गर्न पुगी र भनी – “ मलाई रन्जिता भन्छन् ।”
स्वास्नीमानिसको यस किसिमको परिचय निरन्जनलाई नौलो लाग्यो किनकि त्यो उमेरका स्वास्नीमानिसले(र रन्जिता जस्ता बिहे भएकाले) आफ्नो नामको अगाडि ‘श्रीमती’ जोड्ने र पछाडी आफ्नो थर टाँस्ने त चलन नै थियो । त्यसैले उसले जवाफ दियो – “ मेरो नाम निरन्जन ।”
रन्जिताले दौतरीले दौतरीलाई भन्नु पर्दा झै गरेर भनी – “ म चिन्छु तपाईलाई ।”
निरन्जनले आश्चर्य मान्दै भन्यो – “ कसरी चिन्नु भयो तपाईले ?”
रन्जिताले सहज भावमा भनी – “ जुन सामाजिक दायराभित्र तपाई बस्नुहुन्छ मेरो दायरा पनि त्यही हो । खालि लोग्नेमानिस र आइमाई भएकाले मात्र हामी एक अर्काको बाटोमा नआइपुगेका हौं ।”
“तपाई त गजब स्पष्ट कुरा गर्नु हुँदो रहेछ ।” – निरन्जनले हाँस्दै भन्यो ।
“होइन । म पनि हाम्रो समाजका अरू स्वास्नीमानिसजस्तै हुँ । अरू आइमाई यसरी भेट हुँदा औपचारिकताका मात्रै कुरा गर्थे होलान् । म कुनै स्वार्थवस तपाईसँग चिनापर्ची गर्न आई पुगेकीले त्यो औपचारिकता पुर्यावई रहनु आवश्यकता देख्दिन । त्यसैले मात्र म अलि अलग्गै लागेकी तपाईलाई ।” – रन्जिताले मुस्कुराउँदै जवाफदिई ।
“म सँगै ? कस्तो स्वार्थ ?” – निरन्जनले चकित भएर सोध्यो ।
“कस्तो ? भनेर भनिहाल्न त म कहाँ सक्छु र ? तपाईलाई त्यो कुरा मन पर्छ कि पर्दैनत्यो नै न बुझी तपाईलाई भन्ने आँट मैंले गर्न मिल्दैन । यति नै पनि भन्नु हुन्थ्यो कि हुन्नथ्यो ।” – रन्जिताले ओठको मुस्कान ओठमै राखेर जवाफ दिई ।
रन्जिताको स्पष्टवादितालाई निरन्जनले स्विकार गरेर हाँस्दै जवाफ दियो – “ हुन्छ, हुन्छ । तपाईकै मर्जी । मेरो स्वार्थको कुरा भए पो मेरो खुशीको कुरा हुने थियो ।”
“तर एक कुरा चाहिं भनि राख्छु कि स्वार्थ मेरो आफ्नो पनि होईन । अर्को व्यक्तिको हो । म त केवल माध्यम मात्रै हुँ ।“ – रन्जिताले उही भावमा भनी ।
“त्यो व्यक्ति चाहिं देखा पर्न नहुने ?” – निरन्जनले मुस्कुराउँदै रन्जितामा आँखा गाडेर सोध्यो ।
“यो त केटाकेटीको कुरा जस्तो भई हाल्यो नि । ऊ अहिले सामु आउन सक्ने भए यत्रो भूमिकाको आवश्यकता पर्थ्यो र ? हो, समय आए पछि ऊ देखा पर्नेछ । उसको समस्या अलि अप्ठेरो छ तर तपाईको सहयोग पाए समाधान नहुने चाहिं होइन ।” – रन्जिताले अलि मुख खोली ।
रन्जिता र निरन्जनका अरू पनि कुरा भए तर कथासँग प्रासङ्गिक कुरा यति मात्रै थिए ।
त्यसको २/४ दिन पछाडि एक दिन प्रज्ञानको बैठकमा प्रज्ञान, शोभना र रन्जिता बसी रहेका थिए । कुराको प्रसङ्गमा रन्जिताले भनि – “ म त्यो निरन्जन भन्ने कस्तो रहेछ भनि ठान्थें, अस्ति एउटा भोजमा चिनापर्ची भयो । मान्छे त ग्वाँज नै रहेछ ।”
अपहेलना पुर्ण रन्जिताको स्वर सुनेर प्रज्ञानले चासो राख्दै ऊतिर फर्केर सोध्यो – “ किन त्यस्तो लाग्यो तिमीलाई ? खै मलाई त बाठै लाग्छ त ।”
रन्जिताले उसको कुरा काटेर बिचैमा भनी – “ काठै होला नि बुद्धिमा तर अनुहार देख्दा त पक्कै गोंज देखिन्छ ।”
“के कुरा गर्थ्यो त ऊ ?” – प्रतिद्धन्दिको स्वभाववस प्रज्ञानले सोध्यो ।
“त्यसो त यताउताका थरीथरीका कुरा भए ।” – रन्जिताले कुनै खास विषय लिईन ।
“मेरा कुरा पनि गर्थ्यो कि ? ” – प्रज्ञानले चासो लियो ।
“अँ, भा’कोथ्यो तपाईको कुरा पनि।’भलादमी हुनुहुन्छ प्रज्ञानजी’ भन्थ्यो ।” – रन्जिताले फुलबुट्टा भरी ।
“भन्छ नि मुखले त्यो । पायो भने दाह्रा धस्छ ।” – प्रज्ञानले निरन्जन प्रतिको घृणालाई लुकाउन सकेन ।
“के बानी होला ? अर्कालाई किन प्याच्च भनी हाल्नु पर्ने नि ।” – शोभनाले लोग्नेलाई टोकसी ।
“के त ? भएको कुरा । तिमीलाई पो त्यसको आनीबानी थाहा छैन र त्यसो भन्छ्यौ नि ।” – प्रज्ञानले आफ्नो भनाईमा जोड दिन थप्यो ।
“नराम्रो कुरा गर्दै जादा झन नराम्रो हुँदै जान्छ, राम्रो कुरा गरे राम्रो हुँदै जान्छ ।” – शोभनाले पनि आफ्नो जिद्धी छोडिन ।
“धेरै जान्ने नहोऊ न तिमी ।” – प्रज्ञानले लागेको बानी अनुरूप स्वास्नीलाई दपेट्यो ।
“खै कसैको सामु पनि प्रज्ञान दाइको बदख्वाइँ गरेको सुनिनँ निरन्जनले । म नौली ठानेर त होइन होला ।” – रन्जिताले एक वाक्य निरन्जनको पक्षमा भनी त्यही पनि दोधारमा राखेर । त्यस पछिका कुरा प्रसंगमा निरन्जनको चासो प्रज्ञानले फेरी पनि उठाएको थियो तर रन्जिताले थप केही नभनेकीले त्यो त्यसै सेलायो ।
शोभना र रन्जिताको मित्रताका बारेमा त्यो समाजमा धेरैजसो महिलाहरूलाई त थाहा थियो तर लोग्ने मानिसले भने त्यो गहिराई बुझेका थिएनन् । प्रज्ञान र निरन्जनको आपसी वैमनश्यताको कारणले शोभनाको साथीसँग निरन्जनको चिनापर्ची हुनु आवश्यक थिएन तर रन्जिताले चासो लिएपछि दोश्रो भेट हुन केही दिन पनि लागेन । निरन्जनको गाडी आउने समय र बाटो कुरेर बसेकी रन्जितालाई उसले नदेख्ने कुरा पनि भएन र गाडीमा लिफ्ट दिने प्रस्ताव पनि उसले राख्यो नै । एक छिन आनाकानी गरे पनि ऊ गाडी भित्र पसी । गाडी स्टार्ट गरेर उसले सोध्यो – “ कसरी आइपुग्नु भयो तपाई यहाँ ?”
यो प्रश्नको उत्तर रन्जिता सँग तयार थियो ।
“त्यहाँ प्रज्ञानजी कहाँ गएकी थिएँ । अब घर जाऊँ भनेर लागेकी ।”
“यसो गाडीमा छोडिदिन पनि सकेन त त्यसले ?” – निरन्जनले तितो पोखी हाल्यो ।”
“ प्रज्ञानजी हुनुहुन्न नि त घरमा । भएकै भए पनि पुर्यािई माग्ने थिइनँ । शोभना पुर्यापई दिन्छु भन्दै थिई । आफ्नो यसो एक ठाउँ पस्नु थियो अलि गोप्यसँग । त्यसैले ट्याक्सी लिएर आएँ ।” – रन्जिताले मुस्कुराउँदै जवाफ दिई ।
“भए पनि कन्जुस तेल खर्च हुन्छ भनेर लोभले मर्ने थियो होला ।” – निरन्जनले व्यंग गर्न चुकेन र फेरी थप्यो – “ बरु श्रीमती चाहिँ कस्ती छन् कुन्नि ?”
“यी सब कुरा तपाईका भ्रम मात्र हुन्, निरन्जनजी । प्रज्ञान त्यति कन्जुस पनि होइन र अर्काको खेदो खन्ने व्यक्ति जस्तो पनि लाग्दैन । तपाईहरू दुई जनाका बिचमा कस्तो सम्बन्ध छ त्यो त आफै जान्नोस् तर कतिपयले भनेको सुनेकी छु ‘तपाई दुई जनाकी बिचमा प्रतिद्वन्दिता छ रे । दुई सशक्त र सम्पन्न मानिसहरूका बिचमा प्रतिद्धन्दिता हुन अस्वभाविक होइन तर प्रज्ञानले हामी स्वास्नीमानिसका सामु तपाईको नराम्रो भनेको मैंले सुनेकी छैन । अरू कसैले तपाईलाई होच्याउन खोज्यो बरु रिसाउँछ । शायद आफ्नो प्रतिद्धन्द्वी होचिदा आफू सानो हुन्छु भनी ठानेर हो कि ?” – रन्जिताले जालको त्यान्द्रो ओछ्याई ।
निरन्जन त्यान्द्रामा अलमलिएर भन्यो – “ हो र ? खै मलाई त विश्वास लाग्दैन ।”
शोभना जाल बुन्दथी र रन्जिता ओछ्याउदथी । पटक पटकको रन्जिताको स्पष्टिकरण र बखानले प्रज्ञान र निरन्जन बिचको शत्रुताको खाडल अलिअलि गर्दै पुरिदै थियो । उनीहरूले एक अर्कालाई भेट्दा प्रत्यक्ष या अप्रत्यक्ष आक्रमण गर्न पनि छोडी सकेका थिए ।
“यस्तो अप्ठेरो काम लगाउँछेस् तँ, शोभना । केही गरी पोल खुल्यो भने मैंले त यो समाजमा बस्नु पनि पर्दैन । मेरो लोग्नेले नै लखेट्छ घरबाट । लभ म्यारिजको बेफाईदा यही त छ नि ।” – रन्जिताले भनी ।
“एक दिन देख्न पाएन भने त्यसै हुरुक्क हुँला झैं गर्छ लोग्ने अनि धाक लाउछेस् नि । ऊ त तँ अर्को सँग सुतेको देखे पनि आँखा चिम्लेर हिड्छ ।” – शोभनाले जिस्क्याई ।
“अँ, हिड्छ नि तेरो बाबु । छपक्क त्यही गिडेर चाहिं हिड्छ । तँ नकच्चरीको कामले त मेरो पो नाक काटिन बेर छैन ।” – रन्जिताले चोसो पसारी ।
“म फेरी जोडिदिउँला नि नाक मेरा काम फत्ते भयो भने ।” – शोभनाले लाडे भएर भनी ।
“दुई जनालाई प्रत्यक्ष भेट गराउनु पर्ने । त्यो बारे के सोचेकी छस् तैंले शोभना ?” – रन्जिताले सोधी ।
“मुर्ख कुरा नगर न ! दुई जनाका बिचमा विश्वास उत्पन्न नभई भेट गराउनु हुन्छ कहीं ? हतार किन पर्योई तँलाई ? “– शोभनाले सतर्क गराई । शोभना बिना कुनै चुक लक्षमा पुग्न चाहन्थी र ऊ मौका कुरेर बसिरहेकी थिई ।
केही महिना न बित्दै एकाएक प्रज्ञान विरामी पर्योई, निकै बिरामी । रन्जिताले आफूले चिने जानेका मित्र, कुटुम्बहरूलाई बढाई चढाई उसको स्वास्थ्यबारे समाचार पुर्यानउने बित्तिकै भ्याउने आफैं आए, नभ्याउनेहले शिघ्रारोग्यको कामना गर्दै पुष्पगुच्छा पठाउन पाए । रन्जिताले ‘एउटा कार्ड तपाईले पनि पठाए हुन्छ नि ‘ भनेर कर गर्दा निरन्जनले पनि पठाउन आपत्ति ठानेन । प्रज्ञान ठीक भएपछि शोभनाले भनी – “ निरन्जनले पनि शुभकामना पठाएको रहेछ । धन्यवाद पठाउने कि नपठाउने ?”
“शुभकामना पठाए पछि कसरी नपठाउने ? छोटो ठान्दैन उसले ?” – प्रज्ञानले आपत्ति जनायो ।
एक अर्कालाई शुभेच्छा पठाउने प्रक्रिया शुरु भएपछि दुई जनाको भेट हुँदा पहिले औपचारिक कुरा गर्थे भने बिस्तारै उनीहरूको बिचमा मित्रता कायम हुँदै गयो र पहिलेको आफ्नो व्यवहारलाई मुर्खताको संज्ञा दिए । यसरी दुई दुस्मनहरू एउटै बोतल तान्ने भएपछि शोभनाले भनी – “ पहिलो चरण त सकुशल सिद्धियो ।”
रन्जिताले भनी – “ तेरो जिद्धि र आँट त मान्नै पर्छ ।”
“अब निरन्जनको सामु मेरो व्यथा पुर्याोईदिने तेरो दोश्रो चरणको काम त बाँकी नै छ ।” – शोभनाले मुस्कुराएर भनी ।
“त्यो काम त तँ आफैले गरे भई हाल्छनी । मैंले किन गर्नु पर्योी ?” – रन्जिताले अलि आपत्ति उठाई ।
“समय आए पछि त म आफै गर्छु तर त्यसको लागि पृष्ठभूमी बनाई दिने काम त तेरो हो नि ।” – शोभनाले जवाफ दिई । रन्जिताले अब आए ‘नाइँ’ भन्न झन् सकिन ।
त्यस पछि निरन्जन सँग पहिलो भेट हुँदा रन्जिताले भनी – “ मेरो स्वार्थ कहिले पुरा गरिदिने ।”
रन्जिता सँग पहिलो भेटमा भएको कुरा सम्झेर हाँस्दै निरन्जनले जवाफ दियो – “ ए ! त्यो कुरा अझै बाँकी छ ? टुंगियो भनेर पो त । भन्नोस् न, जहिले जे गर्न पनि तयार छु म ।”
“पछि नाइँ त भन्न पाइन्न नि । वाचा हाल्नोस् पहिले ।” – रन्जिताले जोड दिई ।
“ल, तपाईको मासु खाने ।” – निरन्जनले रन्जिताका दुबै हात समाएर भनयो । रन्जिताले असजिलो अनुभव गरी ।
रन्जिताले दुवै हात छुटाएर भनी – “ एउटा प्रेम सन्देश दिनु छ मैंले ।”
निरन्जनले हाँस्दै भन्यो – “ मैंले त मृत्युदण्ड पो दिनु हुन्छ कि भनि ठानेको थिएँ र त्यही मृत्युदण्ड पनि स्विकार्य हुने थियो मलाई त ।”
“साच्चै, ठट्टा होइन । तपाईले अस्विकार गरिदिनु भयो भने मन नै भाँचिनेछ उसको” – रन्जिताले थपी ।
“ऊ किन सधैं नेपथ्यबाट बोल्ने गरेकी ? अगाडि आउनु हुन्न उसले ?” – निरन्जनले ठट्टैमा प्रश्न उठायो ।
“अहिलेसम्म उसको प्रतिनिधित्व मैले गरि दिएपछि उसले देखा पो किन पर्नु पर्योे त ?” – रन्जिताले उल्टै प्रश्न गरी ।
निरन्जनले पनि मिठो सँग ठट्टैमा जवाफ दियो – “ त्यसो भए उसलाई नेपथ्यमा नै बस्न दिनु होस् । जो जहाँ ठीक छ त्यही बस्नु पर्छ । मलाई त त्यो अज्ञात भन्दा तपाईको उपस्थिति नै मनपर्छ ।”
“ऊ तपाईलाई प्रेम गर्छे ।” – रन्जिताले विषयबस्तुलाई अलि खोल्न उपयुक्त ठानी र भनि – “ मेरो स्वार्थ तपाईहरू दुई जनालाई मिलाई दिनु हो ।”
“यत्रो भगिरथ प्रयत्न पनि त यसैको निम्ति त होला नि ?” – निरन्जनले मुस्कुराएर सोध्यो ।
रन्जिताले सशङ्कित भएर सोधी – “ कुन भगिरथ प्रयत्न ?”
निरन्जनले सहजभावमा भन्यो – “ यही प्रज्ञान र मेरो सम्झौता गराउने सफल उद्योगपर्व । सफलताको निम्ति बधाई छ तपाईलाई र यसमा म आफैलाई पनि सन्तोष छ । प्रज्ञानजस्तो मित्र कमैले पाउँछन् र तपाईजस्तो साथी पनि थोरै हुन्छन् ।”
“”तर यी दुई जना भन्दा पनि श्रेष्ठ छ शोभना । शोभनासँग त्यति नजिक तपाई हुनु भएकै छैन । त्यसैले उसलाई चिन्नु भएको छैन ।” – रन्जिताले हतार हतार गरेर भनी ।
“त्यो नेपथ्यको विन्दुलाई नेपथ्यमा नै रहिरहन दिनु ठीक होईन र ?” – निरन्जनले गम्भिर भएर भन्यो ।
“ऊ नेपथ्य कहाँ हो र ? ऊ त शुत्रधार हो यो कथाको । हर्ताकर्ता नै उही हो । म त उसले चलाएको डोरीमा अल्झिएकी पात्र मात्रै ।” – रन्जिताले आफ्नो सफाई पेश गरी ।
“हुन्छ । म सुत्रधार सँग पनि भेटुँला । त्यो तिथि पनि अब सुत्रधारले नै तय गर्ने त होला नि ।” – निरन्जनको सारमा केही कटुता थियो ।
“न चिडिनोस् त तपाई । सुत्रधारको स्वार्थको लागि सुत्रधार द्धारा संचालित कथामा पात्र स्वयम् को कुनै भूमिका छैन र कुनै भूमिका हुनु पनि हुँदैन । अब मेरो काम नेपथ्यमा मात्र बाँकी छ ।” – रन्जिताले आफ्नो स्थिति स्पष्ट गरी ।
निरन्जनले केही भनेन ।
समय बित्दै थियो । निरन्जन प्रतिक्षामा थियो । सुत्रधार शोभना नै थिई भने रङ्गमञ्चमा उसको प्रवेश अनिवार्य भइसकेको थियो र अरू कोही नै भए पनि अवश्य देखा पर्नेछ भन्ने उसले सोचेको थियो । रन्जिताले आफूले शोभनाको निम्ति काम गरेको स्विकारेकी थिई र त्यसलाई नपत्याउनु पर्ने कुनै कारण थिएन ।
एक दिन नभन्दै निरन्जनलाई निम्तो आयो, प्रज्ञानको निम्तो तर निम्तो पठाउने प्रक्रिया भने प्रज्ञानकोजस्तो पटक्कै थिएन । निरन्जन निम्ता मान्न प्रज्ञानको घर पुग्यो, तर प्रज्ञान घरमा थिएन । उसलाई शोभनाले स्वागत गर्दै भनी – “ आउनोस्, निरन्जन दाई । तपाई त त्यसै बेपत्ता हुनु भयो । यहाँ आउन पनि निम्तो नै चाहिने ?”
निरन्जन आफ्नो ठाउँमा बस्दै भन्यो – “ त्यसो होइन, भाउजू । कामले नै फुर्सद हुँदैन र पो । अनि प्रज्ञान खै त ? मलाई बोलाएर ऊ कता गयो ?”
“वहाँले होइन । वहाँको नाममा मैंले बोलाएकी । मेरो नाम त तपाईलाई सम्झना पनि छैन होला ।” – शोभना मुस्कुराएर जवाफ दिई ।
“अनि रन्जिता जी पनि हुनु हुन्न ?” – निरन्जनले प्रश्न गर्यो ।
“निम्ता त उसलाई पनि गरेको थिएँ तर ऊ आउन मानिन । अर्कै ठाउँमा काम छ रे । उसको स्वभाव नै त्यस्तै हो, अर्काको काम गरिदिने र काम सकेपछि फुर्सद लिने ।” – शोभनाले कुरा प्रष्ट्याई ।
निरन्जनले शोभनाको भनाईलाई समाएर सोध्यो – “ यसरी मलाई बोलाउनु पनि त केही कारण त अवश्य होला नि ?”
शोभनाले गम्भिर भएर भनी – “ छ । अवश्य नै कारण छ तर त्यो मैंले भन्ने भन्दा तपाईले बुझ्ने कुरा हो । मैंले यसरी तपाईलाई बोलाउन सक्ने स्थिति बनाउन कति समय लाग्यो ? कति प्रयाश गर्नु पर्यो ? तपाईले बुझेकै कुरा हो । १/२ बर्ष अगाडि यो कुरा र्छलङ्ग गर्न पनि सकिन्नथ्यो ।”
“”हो, मैंले मित्र पनि पाएँ र प्रेम पनि पाएँ ।” – निरन्जनले स्विकार गर्यो
। शोभनाले खुशी भएर आवेशमा भनी – “ निरन्जन दाई ! जुन प्राप्तीको निम्ति मैंले संघर्ष गरें आज त्यो पाएर म कति खुशि छु तपाई त्यसको अन्दाज नै गर्न सक्नु हुन्न । मेरो प्रेमले यत्रो खाडल पुरिदिएको छ । तपाईको प्रेम पाउँदा मलाई युद्ध जिते जस्तो भइरहेछ ।”
“तर भाउजू ।” – निरन्जनले भन्न खोज्यो ।
शोभनाले निरन्जनलाई उछिनेर त्यही भावमा भनी – “ म अलि उच्छ्रिङ्खल भए हुँला तर अति आनन्दले उच्छ्रेङखल बनाएको हो मलाई अहिले । त्यसैले दोष न दिनोस् ।”
निरन्जनले शान्त स्वरमा भन्यो – “ भाउजू ! हामी शत्रु भएर बसेका दुई जनालाई मित्रमा बदल्नु भयो म यसमा तपाईप्रति कृतज्ञ छु तर तपाई प्रति त मेरो एउटी मित्रपत्नीप्रति हुने श्रद्धा छ, प्रेम होइन । मेरो प्रेम त रन्जिता प्रति हो ।”
निरन्जनको भनाई सुनेर शोभना एक छिन आघात परे झैं वाल्ल परी तर केही निमेष पछि नै क्रोध, लोभ र निराशाले घाँटी कसिएकी शोभनाको मुखबाट निस्कियो – “ त्यस्तो धोखा दिएकी रन्जिताले ।”
निरन्जनले आफूमा कुनै परिवर्तन नल्याई जवाफ दियो – “ यसमा रन्जिताको दोष पनि छैन । ऊ त मलाई माया पनि गर्दिन । तपाई यति धेरै नेपथ्यमा बस्नु भयो कि तपाईका हातबाट डोरी छिनेको तपाईलाई पत्तै भएन । रन्जिताले पनि पत्ता पाईन । जब पत्ता पाई धेरै ढिलो भईसकेको थियो । तपाईले कसरी सोच्नु भयो कि सामु बसेर तपाईको भाषा बोल्ने रन्जितालाई छोडेर म नेपथ्यमा तपाईलाई खोज्न जानेछु भनेर ।”
तर निरन्जनको भनाइलाई नसुनेर शोभना र्बवराउँदै गई – “ तपाईको त के दोष तर त्यसलाई माफी त म कहाँ दिउँला र ? त्यस्ती छ भनेर जानेकी भए मैंले ।”
त्यो स्थितिमा शोभना सँग कुरा गर्नु बेकार ठानेर निरन्जन बाहिर निस्कियो ।
काठमाडौ
२०६३ असौज २१
(स्रोत : Ram Dahal’s Blog)