कथा : ऊ अचानक आयो, अचानक गयो

~प्रमिशा केसी~Pramisha KC

उसको जवाफ कुर्दै छु म । थाहा थिएन, जवाफ कुरी बस्ने उसको भूमिका कुनै दिन मैले पूरा गर्नुपर्ने समय आउनेछ । झ्यालबाहिर नियाल्दा झस्किएँ, कहाँ छु सम्झेर । बिरानो देश, बिरानो संसार, अनि यहाँँ आफ्नो लाग्ने केवल ऊ । एक सानो फरकले पनि यो बिरानो दुनियाँ रमाइलो लाग्दै थियो । तर सायद समयलाई पनि म रमाएको निको लाग्दैन क्यारे !

कस्तो परिस्थितिले मलाई डो-याउँदै दक्षिण भारत ल्याइपु¥याएछ । इन्जिनियरिङ पढ्न म रहरले यहाँ आएँ या बाध्यताले । ती कुरामा दुःख मनाउन छाडिसकेँ । तर खोइ किन कहिल्यै यो ठाउँलाई आफ्नो मान्न सकिनँ । यो ठाउँले मलाई स्विकार्यो होला सायद तर मैले बारम्बार घृणा मात्र गरिरहेँ यसलाई । अलग भाषा, भेष, सोच । किनकिन रमाउनै सकिनँ म, सायद मेरै कमजोरी थियो । अनि खोजिरहेँ यहाँ कोही आफ्नो र केही आफ्नोपन ।

फेसबुकमा साथी बनेर बोलेको केही दिनमै ‘आइ लभ यु’ लेखिदिने मान्छेलाई कसले पत्याउला ? मैले पनि पत्याइनँ, रौनकको त्यो कुरा कहिले । नजिकैको कलेजमा पढ्ने नेपाली, खै कसरी भेट भयो फेसबुकमा । अरुले भए ब्लक समेत गरिसक्थे होला, गरिनँ मैले । हाँसेरै टारिरहेँ उसका कुरा, भनिरहेँ, ‘तिम्रो झाँसामा आउने छैन म ।’ सोच्थेँ, ‘यो केटालाई फ्लर्ट गर्न नि ढंगले आउँदैन, यो तालले त कुनै केटीले पत्याउँदैनन् यसलाई, कमसेकम राम्रो चिनजानपछि त ट्राइ गर्नुपर्छ नि ! मैले नै ट्युसन दिन्थेँ यसलाई त !’ आफूलाई ‘एक्सपर्ट’ जो सोच्थेँ !

भनिरहन्थ्यो ऊ ‘ल ल नपत्याउ, तर एकदिन तिमीलाई मनाएरै छाड्छु । अनि हेर न, त्यो दिन मैले भाउ खान्छु !’ खोइ किन हो मैले ऊसँग बोल्न भने छाडिनँ । सायद मेरो जिद्दिपना थियो, उसलाई गलत साबित गर्ने, कि म उसको कुरामा फस्ने छैन । ‘गफ हो तिम्रो, पत्याउँदिनँ म ।’

फेसबुकबाट भाइबरसम्म पुग्यो त्यो नाता, मलाई आपत्ति थिएन । विश्वस्त थिएँ, उसले जतिसुकै कोसिस गरोस्, जतिसुकै नजिक होस्, मलाई ‘पट्याउन’ सक्दैन । माया–प्रेमबाट विश्वास हटेको मान्छे म । लाग्थ्यो— माया गर्न कोही आएको हैन, सबैलाई टाइमपास गर्नुछ, उसलाई पनि । यही सोचिरहेँ । र, आफ्नो सोचलाई आफ्नै जिद्दिपनाले मलजल गरिरहेँ ।

एकदिन अचानक कुरैकुरामा उसले भन्यो, ‘मैले तिमीलाई देखेको थिएँ तिम्रो कलेज छेउको बजारमा । त्यही दिनदेखि मनपरेको । पछि फेसबुकमा पनि भेटाएँ, अनि तिमीसँग मनको कुरा गरेँ, तर तिमीले कहिल्यै पत्याइनौँ !’

यो कुरामा पनि ‘गफ’को ट्याग लगाइदिएँ । बजारमा एकपटक देखेर एकै झल्कोमा मन पर्नु र पछि लाग्नु, कति फिल्मी ! ‘साउथ इन्डिया आइपुगेँ भनेर साउथ इन्डियन फिल्म नै बनाउने सोच छ हो ? पूरै फिल्मी सिन सोरूलस्चेछौ त ।’

म उसको कुरा सुन्न, पत्याउन तयार नै थिइनँ । रिप्लाई आएन, कुरिरहेँ । मनमा लाग्यो पनि कतै कि ऊ साँचो बोल्दै थियो । त्यो दिनको फोटोसम्म पनि राखेकी थिइनँ मैले फेसबुकमा । र पनि ऊसँग पहिलोपटक बोल्नुअघिको त्यो दिनको सम्झना ऊसँग ताजा नै थियो । कस्तो लुगा लगाएकी थिएँ, कुन क्याफेमा बसेकी थिएँ सब । मनलाई दिमागले मान्न नै दिएन । दिमाग त यही सोचेर बसेको थियो कि यो सब कुनै खेल नै हो । केही बोलेन, न अनलाइन देखेँ न ‘सिन’ । सोचेँ, कतै मलाई ब्लक त गरेन ? आत्तिएँ । तर किन ? भाइबरमा बोल्नुको फाइदा, नम्बर ! फोन गरेँ
‘हेल्लो’ ‘ब्लक गरेको मलाई ?’ ‘हँ ? को हो ?’

‘लभ गर्छु भन्छ, अझ चिन्दैन !’

‘ए, तिमी पो ? अनि तिम्रो भाइबरमा नेपालकै नम्बर छ नि त, तिम्रो यताको नम्बर कसरी चिन्नु मैले ?’ हासेँ एकैछिन आफ्नै मुर्खता सम्झेर ‘लल, भाइबरमा ब्लक गरेको हो ?’ ‘तिमीलाई किन ब्लक गर्नु ? तिमीले जे कुरा पनि गफ भनिराख्यौ अनि टाउको दुखेर सुतेको म त !’

‘ए हस्, सुत त्यसो भए ।’ ‘भो पख म आउँछु !’ जाँच नजिकिदैँ थियो, जाँचअघि पुरा गरेर कलेजमा बुझाउनुपर्ने प्रोजेक्ट बनाउँदै रातभर उसँग च्याट गरिरहेँ । ‘आज तिमीले आफैँ फोन गर्यौ, अब मलाई ढुक्क भयो तिमी मान्छौ भनेर ।’‘हाहा, म फस्दिनँ भन्ने चाहिँ ढुक्क भए हुन्छ बरु, गुड्नाइट !’

कताकता ढुक्क भने म भएकी थिएँ उसको कुरा सुनेर ‘लभ गर्छु भन्छौ, अझ चिन्दैनौ ?’ भन्दा उसले मलाई चिनेको सम्झिएर । माया गर्छु भनेको म एकलाई मात्र रहेछ ।

आवाजले फ्ल्यासब्याक बिथोलियो । आँखा फोनको स्क्रिनमै छन्, फोन आए त बज्छ भन्ने बिर्सिन्छु घरिघरि । आवाज झाडुको रहेछ । यसैगरी झाडु लगाउँदा लगाउँदै टक्क अडिएकी थिइन् आया म रुँदै आएको देखेर । यसै त ‘फरेनर’ भनेपछि गाली गर्ने बहाना खोज्नैपर्दैन प्रोफेसरलाई यहाँ, अझ प्रोजेक्टमा घरिघरी खोट निकाल्न पाए अरु के चाहियो र ? नबुझिने भाषामा पनि गाली बुझिने रहेछ, र धेरै भएपछि आँसु पनि बगिहाल्ने । मायाको कुनै भाषा हुँदैन भन्थे, तिरस्कारको पनि रहेनछ । आफ्नो कोही थिएन त्योबेला, म कलेजबाट फुत्किन चाहन्थेँ केही समय, तर सबै व्यस्त थिए । पर्सीपल्ट जाँच थियो, को जान्थ्यो र बाहिर मसँग ? अचानक रौनकलाई फोन गरेँ–
‘भेट्छौ ?’ नमान्ने कुरै थिएन, यही दिनको त प्रतीक्षामा थियो ऊ !

‘म यस भन्नलाई आउनलाको नभन्ठान, भेट्न मात्र हो !’ ‘त्यो त पछि थाहा हुन्छ, भेटेपछि मलाई नो भन्नै सक्दैनौ नि !’

पहिलोपटक होस्टेलमा कसैलाई नभनी हिडेँ त्यो दिन एक्लै । फर्कंदा थाहा भयो, म गएको कसैले अत्तोपत्तो पाएनछ । बिराना नै त थिए सब । तर त्यो दिन मैले कोही आफ्नो पाएकी थिएँ । नेपालीमा बोल्दै त्यस ठाउँको सबै व्यथा सुन्नु–सुनाउनुको पनि मजा थियो । धेरै दिनपछि त्यति हाँसेकी थिएँ । केही नकिनी मलमा लिफ्ट र भ¥याङ गर्दै सबै तल्ला डुलिरहनुको क्षणमा मिठास यति थियो कि खुट्टा दुखेको पनि याद रहेन । थाहा छैन, उसलाई भेटेपछि के असर भयो मलाई । सधैँ भन्थ्यो, ‘मलाई बुझ्न एक पल नै काफी छ !’ सायद त्यो एकपल त्यही भेट थियो ।त्यही राति फोनमा बोल्दाबोल्दै मैले उसलाई ‘यस’ भनिदिएँ । के मैले हतार गरेँ ? सायद तर त्यो हतारको कुनै पछुतो थिएन मलाई । फोन र भिडियो च्याट कहिले छुटेन । ‘सम्पदा, तिम्रो जाँच नसकी नभेट्ने, जाँच सकिएको भोलिपल्ट है ?’

कलेजबाट फर्किएर उसैलाई फोन गरेकी थिएँ अस्ति, सधैँजसो जाँचको रिपोर्टिङ सुनाउन । त्यसबीचका १० दिन यसरी नै त कटाउनु थियो । ‘हेल्लो !’ ‘के गर्दैछौ ?’ ‘म नेपाल जान लागेको अब !’ ‘लौ ? बिदा दिइसक्यो तिम्रो कलेजले?’ ‘छैन ।’ ‘अनि कसरी ?’ ‘सधैँलाई जान लागेको अब !’ ‘ह्या नजिस्किउ न !’ ‘जिस्केको हैन । म सक्दिनँ यहाँ यसरी पढ्न, मेरो वश को कुरा हैन ।’ ऊ सिरियस थियो । सधैँ उसका कुरालाई गफ मानिरहन्थेँ । तर, त्यो दिन उसको कुरा गफ नै भए हुन्थ्यो भन्ने प्रार्थना गर्दै थिएँ ।

‘प्लिज जिस्केको हो भन न !’ यही जपिरहेँ । अन्तिम जाँच बाँकी थियो । थाहा थिएन, म कुन कारणले दुःखी थिएँ । ऊ जाँदै छ, सधैँलाई जाँदै छ, हाम्रो मायाको १० दिन पनि नहुँदै टाढिने खबर आएकोमा, या अब यो ठाउँको एकमात्र आफ्नोपनबाट पनि वञ्चित हुँदै छु भनेर ।

अन्तिम आश थियो कि घरमा त नमान्लान् उसको कुरा, तर घरबाट पनि आउने भए आइज भन्ने कुरा आयो । यो शंका गर्ने मन छ, सोच्छ भविष्य र सपनाको यति ठूलो निर्णय यति सजिलै कसरी ? किन यति शंका गर्छु, सत्य बदलिन्छ र धेरै सोच्दैमा ? हार मानेँ, मैले रोक्न सक्ने थिइनँ उसलाई । के भनुँ ? आफ्नो सपना जिन्दगी केही मतलब नगर, म छु त्यसैले यतै बसेर पढ मन नलाग्ने विषय ?’ जाँच थियो, दुःख पनि खुलेर मनाउन सकिनँ । उसका अनौठा कुरा सम्झिरहेँ–

‘मेरा लागि धेरै दुःखी नहोउ सम्पदा । थाहा छ तिमी दुःखी छौ, त्यसैले भिडियो कल गरेको छैन, हेर्न सक्दिनँ । मैले पढाइ छोडेपछि त तिमीसँग लेभल नै मिल्दैन, तिमीले अझ राम्रो पाइहाल्छौ । सपना सम्झिउ, बिर्सिदेउ, थाहा छ ५–६ दिनमा नर्मल पनि हुन्छेउ तिमी । मैले गर्दा जाँच पनि नबिगार ।’

‘भोलि मेरो जाँच सकिन्छ, भेट्छौ ?’ ‘पर्सी भेट्ने भनेको हैन र ? भोलि मलाई टिकेट बुक गर्न जानुछ !’जाने दिन नजिक आइसकेको थियो, फेरि आँसु थामिएन । र पनि जसोतसो किताब पढिरहेँ । सोचेकी थिइनँ अचानक यो सम्बन्धबारे यति सिरियस हुनेछु म । ‘यो जाँच सकिउन्जेल तेरो मन साइलेन्ट मोडमा अनि दिमाग रिङटोनमा !’ आफैँलाई सम्झाइरहेँ ।

हिजो जाँच सकिएदेखि कल उठेको थिएन । बल्लबल्ल कुरा भयो– ‘भोलि जाँदै छु !’ दिन पनि कस्तो चुन्यो, क्यालेन्डर हेर्दै कुरिरहेको त्यो भेट्ने दिन उसको जाने दिन बन्यो । जानुअघि भेट्नु पनि सम्भव रहेन !

फेसबुकमा ब्लक गर्याे, भाइबरमा पनि । फोन गर्दा पनि मेरो नम्बर ब्लक गरिदियो । र पनि म फोन हेर्दै कुरिरहन्छु । केही क्षण त लाग्यो कुनै खेल हो वा भ्रम । उसको साथीसँग सोधपुछ गरेँ, हो रहेछ । फेरि पछुताएँ शंका गरेकोमा ! ‘ओइ सम्पदा, तेरो फोन आयो !’ ‘हेल्लो !’ ‘गाडी चढिसकेँ यताबाट, फोन नगर अब !’ अचानक आयो ऊ, अचानक गयो !

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.