कविता : हेरुँला, कसले कसलाई लुट्दो रहेछ

~मुक्तान थेबा~Muktan Theba

हिलो लत्पत्तिएको यो जिन्दगी
हिले पछारे झैँ पाखामा पछारेर आएकी हुँ

के लाग्छ तिम्लाई?
के म यत्तिकैमा सिद्धिन्छु ?
सम्भव छैन त्यसो हुन
कसौँडी तोडेर उछिट्टिएको वागी दाना हुँ- म
तिम्ले थापेको ढडिया प्वाल पारेर
उम्किन जनेकी छु मैले
तिम्ले हान्ने जालमा सर्प भिराएर
पल्लो किनराबाट तिमी तर्सेको हेरेर
मज्जा लुट्ने खेलाडी हुँ म पनि

तिम्रो फल प्राप्तिको निम्ती
निर्जीव ढुङ्गो (देवता त तिमी ढोँगीहरुको पो हो त) अघि
चढाइने फूल- म होइन
तिम्रो आलो रगत पिएर
प्यास मेटाउने काँडा हुँ म-काँडा
तिम्रो पिपासु आँखामा पिडा उम्लिरहेको रात
म, बिजय उत्सवमा
स्वादले
जिन्दगी भोगिरहेको हुन्छु

के लाग्छ तिम्लाई
के म सधैं तिम्रै सनातनी भोग बनिरहुँ ?
तिम्रै ओछ्यान तताइरहुँ?
तिम्रै अत्रिप्त प्यास मेटाइरहुँ ?
रिहाना शेख भई जिउँदै जलिरहुँ ?
सिता राइ भई लुटिइरहुँ?
बिन्दु ठाकुर भई मारिइरहुँ ?
काभ्रेकी मानुसी भई
नरपिचास कार्तिके बाउ र
बाजेको योन प्यास मेटाउन निर्बस्त्र बिछ्याइरहुँ ?

असम्भव !
म्हाबरको फुर्साङको लागि बिल्कुल असम्भव !
तिम्रो जङ्गली हिन्श्रक भोक पछार्न
सिस्नु-पानी चोपेकी छु मैले
तिम्रो भोगी ओछ्यान मुन्तिर
काँचका टुक्राहरु बिछ्याएकी छु
तिम्रो अत्रिप्त प्यास मेटाउन
एक सिसी तेजाबी झोल घोलेकी छु
हिजै मात्र
घोर्ले खसी बेचेको टाङ्गाले
मङ्गलबारे हाटबाट ल्याएकी भोजपुरे सिरुपाते
तकियामुनी लुकाएकी छु
अब, म भन्छु-
लु आईजा….
यी, म टाङ फट्ट्याएर बसेकी छु
हिक्मत भए आ…..
मेरो अस्तित्वको कुन-कुन अङ्ग लुट्छौ-
लुटेर हेर
आज हेरुँला
कसले कसलाई लुट्दो रहेछ ।।

मुक्तान थेबा
२०७१-५-१० (याम्बु)
शन्दर्भ:
रिहाना शेख: दाइजो नल्याएको निहुँमा आफ्नै श्रीमान र सासुबाट जिउँदै जलाइएकी पश्चिम नेपालको बाँके जिल्लाकी रिहाना शेख उनी अहिले पनि उपचार अभावमा बिरामी छिन् ।
बिन्दु ठाकुर: बाबु-आमाको इच्छा बिपरित अर्कै केटा सङ्ग प्रेम गरेको आरोपमा आफ्नै बा-आमाले जिउँदै जलाएर हत्या गरेको थियो । यो घटना पर्सा जिल्ला म भएको थियो ।
सिता राई: बैदेशिक रोज्गारीबाट फर्किनेबेला अन्तरराष्ट्रिय बिमानस्थलमा बिमानस्थलका सरकारी कर्मचारी र नेपाल प्रहरीका जवानद्वारा नगद तथा गहना लुट्नुकासाथै बलात्‍कृत युवती।
काभ्रेकी मानुसी: मानुसी परिवर्तित् नाम भएता पनि हालै मात्र कभ्रे जिल्लामा बिगत नौ बर्ष देखि आफ्नै बाबु प्रकाश कार्की र हजुरबा ईन्द्रबहादुरलद्वारा बलात्‍कृत युवती ।

(केही समय यता नेपाली समाजमा महिलाहरु माथि बढ्दै गएको शोषन, ऊत्पिडन र घरेलु हिँसाबिरुद्ध एक महिला पात्रको बिद्रोही र प्रतिरोधी चेत द्वारा प्रस्तुत बिद्रोही कविता हो यो ।)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.