कविता : रगत

~विक्रम सुब्बा~Bikram Subba

रगतको आफ्नै मगज हुँदैन
दिमागका हरेक रेसामा रगत नपुगे
वुद्धि मर्ला र समाज बदल्ने
संघर्षको मार्गचित्र केले सोच्ने ?

रगतको आफ्नो आँखा हुँदैन
आँखाका नानीले रगत खान नपाए
दुनिया हेर्ने दृष्टि मर्ला
र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने ?

रगतको छुट्टै कान हुँदैन
एयरडमका तन्तुहरुमा रगत नपुगे
संगीत श्रव्यशक्ती पनि मर्ला
र,मानिसको विजयी गीत केले सुन्ने ?

आफ्नो ओठ पनि हुँदैन रगतको
अधरका हरेक चुम्बनमा रगत नपसे
आमाको ममतामयी म्वाई पनि मर्ला
र,आफ्नो जमीनको मायालाई
ज्युँदो र न्यानो कसरी राख्ने ?
रगतको आफ्नो रुद्रघण्टी हुँदैन
पुग्दो रगत स्वाश–नलीमा सिंचित नभए
गर्धन मर्ला र निर्जीव गलाले
मुलुकको गर्विलो गीत कसरी गाउँने ?

रगतको आफ्नो हात पनि हुँदैन
देशबासीका सहस बाहुमा रगत नपुगे
पाखुरा र हत्केलाहरु मर्लान्
र ठूठाजस्ता हातले हतियर नसमाएपछि
सिमानाका प्रत्येक गौँडामा
देशको रखवारी कसरी गर्ने ?

कुनै किसिमको मुटु पनि हुँदैन रगतको
मुटुलाई जीवनदिने अणुहरुमा रक्तकण नपुगे
मुटुको ज्यान जाला र मृत मुटुले
सिंगै मुलुकले ढुकढुकी कसरी बोलिदेला ?

हुँदैन फोक्सो पनि रगतको आफ्नो
फोक्सोका दुबै फप्लेटामा नित्य रगत नपुगे
फोक्सो मर्ला र निर्जिव फोक्सोले
जातजातका इन्द्रेणी सास कसरी बोल्ने ?

पाठेघर पनि हुँदैन रगतको
हरेक जवान युवतीका गर्भाशयमा
नियमित स्वच्छ रगत नपुगे
सृष्ठीको मुहान सुक्ला र क्रन्तीवीर जन्माउँने
मातृसपना कसरी पुरा हुने ?

रगतको हिँड्ने गोडा पनि हुँदैनन्
खुट्टाका हड्डी, नसा र मांसपेसीहरुमा
मनग्गे रगत नपुगे, पाइलाहरु मर्लान्
त्यसपछि, साश्वत परिवर्तनको क्ष्तििजतिर
इन्क्लाबी जुलुसमा कुन कदमहरु बढ्ने ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.