~केपी अनमोल~
उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन । सधँै कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म भेट्न आउने कुराले उनी पनि खुसी थिइन् । राजधानीको उकुसमुकुस चिर्दै उनीसँगको मिठो भेट अनि स्वर्गिय स्पर्शको कल्पनामा डुब्दै म यात्रामा थिएँ । भेट्ने ठाउँ सुदूरपश्चिमको चिसापानी तय भएको थियो । मध्यरातमा म चिसापानी झर्दा उनी मेरो पर्खाइमा रहिछन् । त्यो निस्पट्ट रातको कुनै वार्ता नगरी । उनको सिमाना टेक्दा नै मलाई त्यो मिठो सुस्केरा र सुगन्धित पवनले स्पर्श गरिसकेकी थिइन् । सुमधुर आवाजका साथ उनको त्यो स्वागतले मन फुरुङ्ग भाथ्यो । म निकै हतारिएको थिएँ, उनीसँग मिठा बात मार्न र न्यायो त्यो अंगालोमा बेरिएर जिस्किन ।
रात थोरै बाँकी थियो बात धेरै गर्नु थियो, त्यसैले आराम गरें । भोलिपल्ट बिहान सूर्यले उनको त्यो सुन्दर लोभलाग्दो बदनमा नजर नझार्दै उनको आफ्नो मिठो स्पर्श दिइसकेकी थिइन् मलाई । त्यो लोभी सूर्यलाई मैले यसपटक जितेरै छोडें । नत्र जहिले पनि अगाडि दौडिन्थ्यो र मलाई आफ्नो पछि दौडाउँथ्यो घडिको सुई भएर । त्यो सूर्यले डाँडामाथिबाट नियालेर हेर्न नपाउँदै उनी र मबीच धेरै बात भैसकेका थिए, बाचा कसम बाँधिइसकेका थिए । कल्पनाको प्यास मेटिँदै थियो । युगौं युगौंको सम्झना र टाढा हुँदाको झल्को मेटाउने साथी त्यो तस्बिर भिन्न भिन्न अवस्थामा खिच्दै क्यामरामा कैद गरें ।
बिचरा त्यो सूर्य । उनी र म जिस्केर बात मारी मारी रमाइरहेको देखेर डाहले झन झन् आँखा तर्दै थियो । त्यो पारिलो रापले मलाई थकित पारी आफू रमाउन खोज्दै गरेको भान हुन्थ्यो मलाई । निरन्तर झन् तेज हुँदै आफ्ना इष्र्यालु नजर मेरी उनी माथि फिजाउँदै अत्तरयुक्त उनको बदनमा एकराज गर्न चाहन्थ्यो पनि । तर, त्यसको त्यो इष्र्याले मेरी उनी झन् सुन्दर अनि टिल टिल ‘चम चम’ गर्दै चाँदीझैं टल्किदै गरेको देख्दा बटुवाहरु पनि एकछिन तस्बिर लिन्थे र ट्वाल्ल पर्दै जान्थे ।
म जस्तै हजारौं हजारको मन लोभ्याउने सुन्दरता उनीमा छ । धेरै परदेशीहरु मेरी उनीसँग तस्बिर लिन र एकछिन भए पनि रमाउन तँछाडमछाड गरेको देख्दा यो मनमा कता कता चसक्क हुन्थ्यो । हाम्रो जातै शंकालु भन्छन् र पो यो मन पनि ‘ …. ।
हुन त उनले भनेकी थिइन् म सबैलाई खुसी देख्न चाहन्छु, सबैको मुहारमा हाँसो होस्, मलाई माया गर्ने सबैलाई म मेरो छहारीमा बस्न दिन्छु र तिनका सबै पीर व्यथा, दिकदारी एकछिन भए पनि बिसाउन पनि । र, त्यो भन्दैमा यो दिल सबैलाई दिएकी छैन । किनकी, तेसो गर्दा मेरो अस्तित्व मेटिन सक्छ, मेरो सुन्दरता हराउन सक्छ, म दुर्गन्धित बन्न सक्छु । मैले जोडेको पूर्व र पश्चिमको सम्बन्ध, रचेको इतिहास, पाएको चर्चाले मेरो देश गर्व गर्छ अरु सामु ।
यी कुराहरुमा निकै सजग छु, मसँगैकी काली बेचिएको तितो यथार्थ मेरो मन मगजमा ताजै छ । काली बेचिएको खबरले म कति रोएँ कति । तर, कसैले मेरो चित्कार सुनेन र मेरो आवाज गुमनाम भयो । नसुन्नेहरुले ममाथि पनि गिद्दे नजर लाएका कारण बेचिएकी काली अझै फिर्ता हुन सकेकी छैन । नेपाल माटोको देह फाडेर बगेकी काली आज छिमेकीको सुक्खा जमिन सिन्चित गरी उब्जनी दिन बाध्य छे । ती फोहोरी जिउ पखाली तिनका अन्धकार बजार बस्ती झिलीमिली पारेकी छे । तिनै शहरमा कमली र माईली हाम्री चेलीहरु नारकीय जीवन बिताउन बाध्य छन् ।
बिडम्बना, कालीको मातृभूमि अन्धकार, सुक्खा र गरिबीबाट गुज्रिरहेको आज बर्षौं भैसक्यो । बिचरी कालीको मन कती रुँदो हो ? आफ्नै मातृभूमिको यो हालत देख्दा । धन्य कर्णाली ! तिमी कति चिन्तित छौ मेरो देशका लागि र आफ्नो भविष्यका लागि । कालीको कालो कहानीबाट भयभित तिमी आफूसँग भएको सुन्दरता, अपार जलाशय र अमूल्य ऊर्जा सम्पतीले आफ्नो देश सुसम्पन्न होस् भन्ने चाहन्छेउ । त्यो तिम्रो उत्कट देशप्रेमी चाहनालाई म हृदयदेखि नै सेल्युुट गर्छु ।
यति भन्दै गर्दा उनको स्नेही छालले मलाई भिजाउँदै भनिन्, हेर्नस् यो मेरो सुन्दरता र सम्पन्नताको स्वार्थका लागि कतिपय ब्वाँसाहरु देशभक्तिको खोल ओढेर आउँछन् त कतिपय नाटकीय प्रेमी बनेर मलाई लुट्न चाहन्छन् । मैले प्रण गरें, हेर कर्णाली मैले तिमीलाई मेरी आमाको दर्जामा राखेको छु । म तिमीलाई काली बेचिएसरी बेचिन दिने छैन ।
म मेटिन तयार छु, तर कालीको हालत हुन दिने छैन । तिम्रो सुन्दरता र सम्पन्नता थप प्रगाढ बनाउँदै मेरो घर, समाज र देश सिंगार्ने छु । म उनकै अंगालोमै बाँधिएर बात मारिरहँदा पारि उनकै बगंैचामा दुई मयूर ढल्की ढल्की नाचिरहेका थिए । अति नै मनमोहक दृष्यका माझ फूलेकी मेरी कर्णाली, वाह ! क्या गजब छौ कर्णाली । आहा मेरी कर्णाली ।
(स्रोत : श्री रुपरेखा)