कविता : पालमा प्रेम

~श्यामल~Shyamal_1

तिमीलाई मैले देखेको उहिल्यै हो
तर हामी बस्थ्यौं हामीले नै बनाएका
पर्खालै पर्खालका घरमा
सिमेन्ट र छडहरुले बनाएका
अति गहँगा मनजस्ता
चिसा चिसा घरमा ।

भुर्इंचालोले हामीलाई देखाइदियो वास्तविक घर
प्रेमले ढलान गरिएका
न्यानो सासले स्पर्श गरिएका
आफ्नै करङहरुको छानोमुनि ओत लागेका
हाम्रा साना साना मुटु प्रेमले हल्लिरहेका छन् ।

केटाकेटी जान मान्दैनन् घरमा
भन्छन्, ‘बुबा पालमै सुत्ने है’
अरुबेला जस्तो होइन
विपत्को बेला हो
म पनि भनिदिन्छु, हो पालमै सुत्ने हो आज पनि
मेरो छिमेकी भूकम्प फेरि कहिल्यै नआए पनि
पाल नछोड्ने कसम खाएर बसेको छ
पालको गहिरो स्वाद लिएको छ उसले
उसका सजाइएका कोठा तर्साउँछन् उसलाई
(उसलाई देख्ता म सम्झन्छु: हाकुचालाई
जसले आफ्नी गुफा बसेकी छोरी मरेपछि
जसरी छाडिदिएको थियो घरलाई एक्लै
कहिल्यै कोही नबस्ने गरी)
ती सारा घरहरु आवाद भइसकेपछि
उनीहरुको सुरक्षा करोडौंको घरले गर्न सकेन
आरामदायी सोफा
महँगा गलैंचा
र लाखौं पर्ने आलमारीले
गर्न सकेन तिनको सुरक्षा,
बेच्ता दुई पैसा पनि नआउने पालमुनि
ढुक्कले निदाएका छन् तिनीहरु
पालबाहिरको खुला मैदान हो तिनको स्कुल
तिनलाई कंक्रिटको घरजस्तो भावनाले
रोकेको रहेछ साथीहरुसँग खेल्न ।

हामीले पैसाले बनाएको घर भत्कियो निमेषमै
तिमी र म आएपछि चिसो भुईंमा ठड्याएको
हलुका पाल घरभन्दा प्यारो लागिरहेको छ
भुईंचालोका कम्पनहरुले त्यो हल्लिरहेको छैन
हल्लिरहेको छ भने केवल हल्लिरहेको छ
हाम्रो सानो मुटुको ढुकढुकीले हल्लिएको छातीजस्तै ।

निकै मजबुत छ
यो सानो घर
ओहोरदोहोर गरिरहेको छ तिम्रो र मेरो नरम सास
वास्तवमा भुईंचालोले हल्लाउँदो रहेछ हामीले थुपारेका वस्तुहरु
र आफैंले जोरेका वस्तुहरु ढल्ने रहेछन् आफूमाथि
बरु सुन हीरा र जवाहरातलाई कम्पन हुने रहेछ
अरुलाई ठगेर अझ अरुलाई बेच्न बनाइएका
कैयौं तले घरहरु ढले
तिनका भुइातलामा बसेका
मानिसहरु बित्थामा ढले ।

सायद तिमी सोचिरहेकी थियौ
यति सानो पालमा एकाएक कसरी बस्यो प्रेम ?

पालको सानो आयतनभित्र धेरै प्रेम अटाउँछ
ठूल्ठूला कारखानाका भीमकाय गोदाममा राखेका
लाखौं टन रसायनभन्दा धेरै बढी अटाउँछ प्रेम
जस्तो कि बिल्कुल नयाँ प्रेममा फसेको मानिस सोच्छ छातीमा हात राखेर
कसरी बस्छ प्रेम यति सानो मुटुमा ?

हरेक प्रेमीलाई थाहा छ
प्रेम वास्तवमा मुटुमा मात्रै हुन्न
त्यो शरीरका प्रत्येक अंगप्रत्यंगमा हुन्छ
त्यो वास बस्तछ आँखाको नानीमा
त्यो कोल्टे फेर्छ नानीको कोल्टाइमा
त्यो बिस्तारै घुल्दछ कोल्टाइको लयमा
त्यो निस्कन्छ लयको यात्रामा
तर राख्तछ आफूभित्रै राखेर
आफ्नो प्रेम
त्यो अमिबाजस्तो टुक्रिन्छ तर सिंगै हुन्छ
जति निकाल्यो त्यसबाट उति नै बाँकी रहन्छ
त्यही हो प्रेमको पूर्णता
त्यो कहिल्यै पनि हुन्न आधा
ससाना अदृश्य तन्तुहरुमा हुन्छ ।

भुईंचालोले ढाल्यो महफ्वाकांक्षाको धरहरा
आफ्नो कर्तुत छल्न बनाइएका रहस्यमय मन्दिरहरु
भित्र केही न केही गडबड भइरहने दरबारहरुका
अग्ला अग्ला पर्खालहरु
हुन त साना साना हाम्रा घरहरु कम्पायमान भए
तर कठोर थिएनौं हामी मानिसप्रति
अनि प्रेम उठिरह्यो लाखौं धरहराभन्दा माथि
फैलिइरह्यो जमिनमा तिम्रो मेरो साससँगै
हाम्रो केही ढलेन
त्यो सुरक्षित रह्यो पालमा ।

भुइँचालोले बिर्सने छैन हाम्रो प्रेमलाई
त्यो आउँदा झटपट समातिएको जमिनलाई
बस् फेरि ढाल्न आउनेछ
पुराना र जीर्ण सोचहरुलाई बदल्न
कम्पायमान गर्दै ।

सायद भद्र निद्रामा तिमी सोचिरहेकी थियौ
यति सानो पालमा एकाएक कसरी बस्यो प्रेम ?

प्रकाशित: आश्विन ३०, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.