लघुकथा : मन

~प्रा. डा. सूर्यमणि अधिकारी~

शैक्षिक सत्रको मध्यतिर कलेजमा विद्यार्थी युनियनको चुनाव हुने भयो। बिद्यार्थीहरु प्रमुख रुपले दुई समुहमा विभक्त भएकाले प्रतिस्पर्धा कडा थियो। दुवै पछय भोट माग्ने दौडधुपमा व्यस्त थिए! कलेजमा पढाइ हुन छाडेकाले म आफ्नै डेरामा थिएँ। मध्याह्नमा एकजना उम्मेदवार एउटा साथीसहित मेरो डेरामा आइपुगे। उनले शिष्टतापूर्वक अभिवादन गरी आफ्नो परिचय दिए।

उम्मेदवार आएर भोट माग्दा दिन्न भन्ने कुरा आएन। शिष्टाचारवश मैले उनीहरुलाई चिया खाएर जान आग्रह गरें। भित्रबाट चिया लिएर आउँदा उनीहरुले कोठाका झ्याल ढोका थुनिसकेका रहेछन्। मलाई उनीहरुले झम्टेर अँठ्याए। मैले निकै बेर संघर्ष गरेँ तर व्यर्थ भयो। तन्नाले मुख छोपी शिथिल बनाएर पालैपालो बलात्कार गरी उनीहरु गए।

मेरो अवस्था लथालिंग भयो। शारीरिक र मानसिक बेदनाले मर्माहत भएँ। जति रोए पनि आँसुका बलिन्द्र धाराले मेरो अंतर्बेदना पखाल्न सकेनन्। आफ्नो भविष्यबारे सोच्दा म झन् कहालिएँ। यस दुर्घटनालाई मैले आफैमा लुकाएर राख्ने चेष्टा गरें तथापि मेरो मानसिक सन्ताप कहिल्यै मेटिएन। पढ़ाईमा मन लाग्न छोड्यो। जुनसुकै युबक देख्दा पनि घिन लाग्न थाल्यो। ममा हिनताबोध मौलाउँदै गयो।

एक दिन आमाले बी. ए. पढेको कुमार नामको केटासँग मेरो बिबाहको कुरा चलेको बताउनु भयो। मलाई थाहा भयो, कुमार त उही पहिलो बलात्कारी केटो। कहिलेकाँही जीवनमा अनौठो संयोग आइपर्ने रहेछ। मलाई रातभर निन्द्रा परेन। मैले प्रतिसोध लिने अठोट गरें, उसैकी स्वास्नी बनेर। पर्सिपल्ट उनीहरु मलाई हेर्न आउने भएका रहेछन्।

मलाई चिनेमा उसले मसँग बिहे गर्न इन्कार गर्न सक्थ्यो। त्यसैले मैले पुरै बदलिएर उसका सामु प्रस्तुत हुने निर्णय गरें। बजार गएर आफ्नो लामो कपाल छोटयाँए। भडकिला पोशाकहरु लगाएँ। आफ्नो बाबुलाई लिएर ऊ आयो। चिया लिएर एक झलक उसका अगाडी देखिएर म लोप भएँ। उसले मलाई चिन्न सकेनछ। मन नपराउने खालका खोट ममा थिएनन्। आखिर ऊ संगनै मेरो बिहे भयो।

उसको घरमा भित्रिएपछि मैले एकदिन एकान्तमा सबै कुरा खोलिदिएँ ।ऊ निर्निमेष दृष्टिले कुरा सुनिरह्यो। अन्तमा मैले भनें – “पाजी, पापी। तिमीहरुले बलात्कार गरेकी त्यहि निर्मला हुँ म। आज म तिम्री स्वास्नी हुन आइपुगेकी छु। नारी कसैको छोरी, बुहारी, दिदी-बहिनी अर्थात् आमा हुन् भन्ने कुरा तिमीहरुले सोचेनौ। अब मलाई के गर्न सक्छौ, गर।” ऊ भिरबाट खसेजस्तो गरि तर्सियो।

दिनहरु बित्दै गयो। त्यस दिनदेखि मैले उसको शिर कहिल्यै ठाडो देखिनँ। उसले मतिर हेर्नेसम्म हिम्मत गर्न सकेन। निन्याउरो मुख लाएर यताउता रल्लिन थाल्यो। तासको खालमा बसेको हुन्छ भन्ने पनि सुनियो। पछि पछि त रक्सी पिएर आउन थाल्यो। हुँदाहुँदै खोक्न र रगत छाद‍न शुरु गर्यो। मलाई उसको कत्तिपनि मतलब थिएन। म उसलाई तड्पिरहेको हेर्न चाहन्थे। ऊ थलिंदै गयो।

एकदिनको कुरा हो। मध्यरातमा म नजिकै ऊ लुटपुटिन आइपुग्यो। मेरो गोडामा छाँद हालेर रुन थाल्यो। निर्मला ..! तिमीले मलाई माफ गर्यौ भने म शान्तिपूर्वक मर्न सक्नेछु भनेर डांकै छोडयो। मान्छेको मनको कुनै ठेगान रहेनछ। त्यहि मन कहिले कठोर र कहिले कोमल बन्दो रहेछ। प्रतिशोधको ज्वालाले सल्किरहेको मेरो मन उसको अन्तरमनलेनै प्रायश्चित् गरेको देखेर पग्लियो। ममा उसप्रति माया पलायो।

भोलिपल्ट मैलेनै उसलाई कर गरी शहर लगें। डाक्टरलाई देखाई उसको उपचारमा रातदिन जुटें। उसलाई बिस्तारै ठिक हुँदैछ। मेरो मायाले उसको असलपन बौरिएको छ। आजभोलि म उसको चिरायुको कामना गर्न थालेकी छु।

(स्रोत : प्रा. डा. सूर्यमणि अधिकारीको कथा संग्रह ‘आत्मावतार’ बाट)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.