~फूलमान वल~
मैले
गाउँ छोडेको दिन
चराहरुले गीत गाउने छन
यो तोरीबारी,
यो अम्रिसोघारी,
यो गोरेटो,
यो चौतारो,
सब–सब हुनेछन अंध्यारो
र, भन्नेछन–
ए परदेशी,
जाने नै भए,
लैजाऊ – तिमीले गोरेटोमा बनाएका पद्छापहरु
लैजाऊ – तिमीले सुनाएका साँझभरीको सेलो
लैजाऊ – तिमीले अँगेनामा आगो फुक्दा निस्केको त्यो लय
लैजाऊ – त्यो बाँसुरीको धुन
अनि, लैजाऊ – गुराँश टिप्दा पातमा बसेका
तिम्रा औंलाका डोबहरू
साँची,
मैले
यो गाउँ छोडेको दिन
चराहरुले गीत गाउनेछन
ए छिरिंग !
त्यो स्याब्रु नाचेको हेर न स्याब्रु
त्यो सेलो गएको सुन न सेलो
कसले हल्लाईरहेछ त्यो हात ?
हावामा हल्लिरहेको त्यो रिबन कसको हो ?
कसले निकालीरहेछन
च्याबं्रुग, डम्फु र मादलमा सम्झनाको संगीत ?
को बजाईरहेछ बिरहको बाँसुरी ?
सत्य,
मैले गाउँ छोडेको दिन
चराहरुले गीत गाउनेछन
राम्ररी सप्रिन नपाएको–
यो बेगमबेली फूल
मकै भटमास र उसिनेको आलुसंगै
लाल्टिन बालेर जुहारी खेलेको– यो साँझ
दलानमा तमाखु तान्दै
युद्धमा गएका नाती संझेर
एकतमास अनुहार बनाइरहेका – पेन्सनर हजुरबा
भान्से माइजुले प्रेमपुर्बक खन्याईदिएको– चौरीको घिउ
कोका कोलाको बोतलमा मट्टीतेल भरेर
पुल्ठो बाल्दै प्रौड पढाईरहेकी– कविता गुरुङ
नाइट गाउनमै धारामा दांत माझ्न आएकी– लाहुरेकी छोरी
अब फगत सम्झनामा रहनेछन
ए युजिन !
ए प्रमि !
ए कर्मा !
ए निमा दाई !
हामी हिडेर आएको त्यो नागबेली बाटो
हामी तरी आएको त्यो दूधकोसी
मैदेलको मैदान
मुक्लीको म्हाने
गुम्बाको आगनमा फर्फराईरहेको लूँदर
सब सबले–
कसलाई बोलाईरहेछ हँ कसलाई ?
यो गुराँस किन हासेको छैन ?
यो सुकेपोखरी झन् किन सुक्दै छ ?
धुपी सल्लाहरु किन सुसाउँदछन् यस्तरी ?
यो भुइँ कुहिरो किन भाग्दै छ माथि माथि ?
यो भेंडाको आबाज हो कि बतास रिसाएको ?
साँची,
मैले
यो गाउँ छोडेको दिन
चराहरुले गीत गाउनेछन्