कविता : कचिंगलै कचिंगल

~एन.बी. लामा~

हर काम कुरामा अहिले
देखिन लागिरहेछ कचिंगलै कचिंगल
बहुनायकवाद चलेको बेला विविध
हुन लागेको पाइन्छ छलफल

आफ्नो विशेषता दर्शाउने हो या
अरुलाई झिट्ने दाउले हो ?
देखिन्छ खनेको असन्तुष्टले
पासो थाप्ने खाडल
कचिंगलै कचिंगल

जायज कुरामा पनि निहुँ खोजी
अत्तो थाप्न अग्रसर रहने
विकासतिर ध्यान दिनुको साटो
एउटाले अर्कोलाई गिराउने
वर्तमानमा यस्ताहरुको
उपाय हुन खोजेको देखिन्छ अटल
कचिंगलै कचिंगल

स्वदेश हितको गरे कुरा
प्रतिगामी त्यसकन ठानिन्छ
अन्यत्रैका ध्वाँस दिए
प्रगतिशील उसलाई मानिन्छ

देखिन्ध सधैं अकली कौवाहरुको
चालामाला ढलपल ढलपल
कचिंगलै कचिंगल

जनताको हकहित फलाक्नेहरु
चुनाव नचाहने पनि देखिन गए
हूलमूलमा विधान सिर्जी
हैकम चलाउन खोज्ने पनि पाइए

यस्ता नाक कटुवा पनि अहिले
आफूलाई ठान्छन् असल
कचिंगलै कचिंगल

This entry was posted in कविता and tagged . Bookmark the permalink.