कविता : सञ्जीवनीहरु

~आयाम फुयाल~Aayam Phuyal

एउटा लाम्चो क्यानभास…
त्यसमा कोरिएको,
मेरो मातृभूमिको रुन्चे आकृति,
मेरो मातृभूमिको करुण रोदन,
अनि, मेरो मातृभूमिको निसार चिच्चाहट!
दृश्य एकमा म नियाल्दछु-
आजभोलिका उराठलाग्दा दिनहरु,
कहालीपुर्ण चर्किएका भाष्करका रश्मि,
शून्य अस्तित्व बोकेका मेरा छाया
र मरेतुल्य नरहरु!
सुनकोसीको क्रुर व्यग्रता,
भोटेकोसिको आडम्बरी थुनाइ,
डाँडा-पाखाका बजार ओर्लाई
र यी तथाकथित सर्वश्रेष्ठ मानवजातिको आर्तनाद!
गगनचुम्बी हिमचुचुराका आँसु,
शिर निहुराहिरहेका चोमोलुङ्मा र कन्चनजङ्घाहरु,
वेदनाजन्य ध्वनि निकालेर बगेका हिमनदीहरु,
अघोरी बनेका लेक र तालहरु!
डिपार्टमेन्टल महल बनेर उभिएका चारकोसे झाडी,
प्राण विहिन जङ्गल
प्यासी मुहान
र आना र दाममा चिरिएका जमिन।
दृश्य दुईमा म खोज्दछु-
बट्टामा सिमित कस्तुरी,
गुगल चित्रमा सिमित डाँफे र मुनाल,
क्यानडाको भिसा लागेका काँडेभ्याकुर,
दुर्ग खोज्दै हिडेका सारौँ र परेवा!
साउदीको रापिलो घाममा टटि्एका बलभद्र र अमरसिहंहरु,
रातका रानी बनेका भृकुटी र सीताहरु,
अमेरिकामा पाइप कस्दै गरेका पृथ्वीनारायण र जङ्गबहादुरहरु,
र दुतावास धाउदै गरेका कर्मठ नेपली युवाहरु!
क्यासिनोमा पत्ती फिट्दै गरेका भानुभक्तहरु,
कोठीका रिवन काट्दै गरेका देवकोटाहरु,
व्यभिचारी बनेका लेखनाथहरु
र ज्ञानशून्य समहरु!
उपेक्षित बन्दै गएका वेद र उपनिषदहरु,
मिथ्या भाषण बनेका गीता र रामायण्हरु,
निरर्थक बनेका प्रश्नोतर र मुनामदनहरु,
विना परिश्रम सिर्जिएझैँ श्रीमदभागवत
र छन्द भाचिएको मेरो साहित्य!
दृश्य तीनमा म नियाल्दछु-
भाचिएको सहनाई,
भ्वाङ परेका डम्फु,
खिया लागेका नौमतीबाजाहरु
अनि एकादेशका झैँ बासुरी र सारङ्गीहरु!
राष्ट्रिय धुनले पाकेका कान,
मङ्गलधुनले फाटेका जाली,
डिस्को धाएका नारायण गोपाल र तारादेवीहरु
र शरीर मात्र उत्तेजित पार्ने बेसुरा सङ्गीतहरु!
दिनानुदिन प्यारा बन्दै गएका क्याप्सुल र ट्याब्लेट,
विदेश भ्रमणमा पठाइएका यार्सा र चिराइतो,
कुहिएका पाँचऔले र सर्पगन्धा,
सखाप भएका ती सञ्जीवनीहरु!
बुट्टा कुँदिएको अग्राख,
‘बेड’ भनेर चिनिएको उत्तीस,
विराजमानका साधन बनेका साल र पयूँ,
र यही क्यानभास अडाइएको हाड्बेल र वयर!
नापो छोटिएका घाँघरहरु,
सङ्ग्राहलयमा सजाइएका गुन्यू-चोलीहरु,
घर पुस्ने टाला भएका दौरा-सुरुवालहरु
र लत्याइएका परम्परागत पोसाकहरु!
दृश्य चारमा म खोजिरहेछु-
पूर्खाको रगतको मुल्य,
समग्र स्वार्थविहिनता,
राष्ट्रघातीको उठिबास
र मुर्झाएको देशभक्तिमा
सञ्जीवनीको सञ्चार !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.