~कोमल प्रसाद भट्ट~
आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो
कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो
डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै
देउरालीमा चोखो ढुङ्गो,नभेटेको धेरै भयो
घुम्दाघुम्दै साँझ पर्थ्यो हतारिंदै हिड्थ्यौँ अनि
बाटो छेक्थ्यौँ जिस्किएर,नछेकेको धेरै भयो
पकाउथ्यौँ मिलिजुली,आपसमा प्रेम बाँड्दै
हाँसी हाँसी भुङ्ग्रे रोटी,नसेकेको धेरै भयो
हृदयमा छचल्किन्छन अनगिन्ति यादहरू
लेखौँ भने मुटु पोल्छ,नलेखेको धेरै भयो