बाल कथा : फुच्चे रोबोट

~नारायण तिवारी~Narayan Tiwari

जाडोको महिना । सात बजेको छ । गर्मीको महिना हुँदो हो त सात बज्दा उज्यालै हुन्थ्यो । अहिले त सात बज्दा मध्यराति जस्तो । त्यसमाथि सुमन घरमा एक्लै छ । आमा मामा घर जानुभएको छ । बाबा अफिस । अफिसबाट घर आउन जहिल्यै ढिलो ।
”के गर्नु, काम नसकी हिँड्नै मिल्दैन ।” बाबा भन्नुहुन्छ ।

सुमनको बाबा बैंकमा काम गर्नुहुन्छ । नगद विभागमा । सबै कारोबार सकिसकेपछि, रुपियाँ पैसा थन्काइसकेपछि खजाञ्ची सरलाई चाबी बुझाएर मात्र उसको बाबाले छुट्टी पाउनु हुन्छ अरे । अफिस छुट्ने ५ बजे हो तर आˆनो जिम्माको काम पूरा गर्दागर्दै कहिले ६, कहिले ७, त कहिले ८ बज्छ अरे ! फेरि अफिस छुटेर घर आइपुग्न एकघण्टा लाग्छ बाबालाई । आमा पनि अफिसमा काम गर्नुहुन्छ । हुलाक अफिसमा । त्यो त बाबाको जत्ति टाढा छैन । आमा छिटै घर आउनुहुन्छ । अहिले त मामाघर मधेसमा जानुभएको छ आमा । छिटै आउँछु भन्नु भएर पनि सात दिन भइसक्यो आउनुभएको छैन । सुमनले पनि मामा घर जान जिद्दी गरेको थियो । उसको स्कुल लागिरहेकोले बाबाले फकाउनुभयो । आमाले पनि ‘छिटै आउँछु, जुत्ता किनिदिन्छु’ भनेर फकाउनुभयो । उसको स्कुल जाँदा लगाउनेबाहेक बाहिर जाँदा लगाउने राम्रो जुत्ता थिएन । त्यसको लोभमा परेर ऊ चुप लागेको थियो ।

तर बाबा घर आउन ढिला भएर, राति हुँदा उसलाई बेकार आˆनो जिद्दी छोडेको भनेर पछुताऊ भइरहेथ्यो । कि त आमालाई पनि नजान दिनु पथ्र्यो । चकमन्न रातमा बुद्रुक्क मुसा उपि|mँदा पनि ऊ डराउँथ्यो । चोर आयो कि, भूत आयो कि…! चोर त हुन्छ तर भूत हुँदैन भन्ने उसलाई थाहा थियो तर पनि डर त लागिहाल्थ्यो ।

”ढोका राम्ररी लगाउनु के को डर ! पढ्ने छोरा भएर पनि डराउने ?” बाबा उसलाई ढाडस दिनुहुन्थ्यो ।

”भूत त हुँदैहुँदैन तर चोर आयो भने जोड-जोडले कराउनु । वरिपरिका मान्छे आइहाल्छन् नि, के को डर !” बाबा सम्झाइरहनु हुन्थ्यो ।

सोच्दासोच्दै सुमन निदायो । त्यसैबेला उसले एउटा ऊभन्दा सानो मान्छेलाई देख्यो । उसलाई उठाउँदै त्यो सानो फुच्चेले भन्यो- ”सुमन, किन डराउँछौ ? नडराऊ । म छु तिम्रो साथी । अब पीर नगर । तिम्रो बुबा जति ढिलो आए पनि अब केही फरक पर्दैन । यी लेऊ यो फूल तिमीलाई…।”

त्यो फुच्चे मान्छेको हातमा फूल थियो । सुमनले लम्केर त्यो फूल लियो ।

सुमनलाई त्यो मानिस आफूभन्दा अलिक भिन्न लागिरहेको थियो । ”तिम्रो नाम के हो ?” सुमनले नयाँ अनौठो साथी पाएकोमा केही झस्केर, केही रमाएर सोध्यो ।

”मेरो नाम ‘फुच्चे रोबोट’ हो । म तिमीभन्दा अलिक भिन्न छु । मलाई भात खानु पर्दैन । सुत्नु पर्दैन । दिसा-पिसाब गर्नु पर्दैन तर बलियो छु । मसित तिमीहरू जस्ता पचासौँ जना एकैपल्ट हार्छन् । ठूला मानिसहरूले पनि मलाई जित्न सक्दैनन् । मलाई चलाउन भने जान्नुपर्छ । लु लेऊ यो मलाई चलाउने स्वीच । यसलाई बुझेर थिच्नु । थुप्रै स्वीचहरू छन्…!” त्यसपछि फुच्चे रोबोटले पालैपालो कुन स्वीच थिच्दा उसले के गर्छ, कुन स्वीच थिच्दा कुन आदेश पालन गर्छ- सबै बतायो । त्यो सबै थाहा पाइसके पछि सुमन धेरै खुसी भयो । अब ऊ ढुक्क पनि भयो । जब फुच्चे रोबोट नै उसको साथी भयो भने उसलाई अब केको डर, कोसित डर ?

”अब तिमी मज्जाले सुत । म तिम्रो सुरक्षामा जाग्छु ।” फुच्चे रोबोटले भन्यो । फुच्चे रोबोटलाई धन्यवाद भन्दै ऊ सिरक ओढेर सुत्यो र एकैछिनमा भुसुक्क निदाई पनि हाल्यो ।

”डर लाग्यो भने ढोका थुनेर सुत्नु !” बाबाले भनेको सम्झिन्थ्यो तर उसले जति निदाउन खोज्दा पनि निद्रा लाग्दैनथ्यो तर फुच्चे रोबोटले भन्नासाथ ऊ मस्तसित सुत्यो । निदाएपछि उसले सपनामा देख्यो- उसको घरमा चोर आएको रहेछ तर फुच्चे रोबोटले त्यस चोरलाई समातेर सिक्रीले बाँधेर राखिदिएछ । उसको बाबा राति अबेर घर आउँदा बाबालाई पनि चोर ठानेर फुच्चे रोबोटले सिक्रीले बाँधी दिएछ ।

त्यसैबेला जोड-जोडले ढोका ढक्ढक्याएको आवाज आयो ।

”सुमन ! सुमन !! के गर्दैछस् छिटो ढोका खोल्…!” उसको बाबा कराइरहनुभएको थियो । ऊ आँखा मिच्दै उठ्यो र हतार-हतार ढोका खोल्न पुग्यो । उसले ढोका खोलिदिएपछि बाबा भित्र पस्नु भयो र ढोका फेरि लगाइदिनु भयो ।
अचानक ऊ झस्कियो- खै फुच्चे रोबोट ? अरे, बाबालाई त फुच्चेले चोर ठानेर सिक्रीले बाँधिदिएको होइन…..?

”बाबा ! मेरो साथी फुच्चे रोबोट…!” ऊ अकमकाउँदै बोल्यो ।

”के भन्छ यो ? ल्याइदिउँला नि तँलाई खेलौना फुच्चे रोबोट…!”

”होइन, होइन ! अहिले यहीँ थियो मेरो साथी फुच्चे रोबोट !”

”सपना देखिस् कि क्या हो…!” सुमनको बाबा हाँस्दै भान्सा कोठातिर पस्नु भयो ।

अहिले भने ऊ पूरै छ्याङ्ग भयो । फुच्चे रोबोट त उसको सपनामा पो आएको रहेछ ।

जेहोस् उसले सोच्यो- ऊ पनि यस्तै, उसको सपनामा आएको जस्तै बलियो सुरक्षा दिने रोबोट बनाउने छ ठूलो भएपछि, धेरै पढेपछि । र, मानिसहरूलाई चोरहरूबाट बचाउने छ…!

ऊ सोचिरहेको थियो । र, उसको बाबा उसलाई भनिरहनुभएको थियो- ”नसुत है, छिट्टै भात पाकिहाल्छ, भात खाएर मात्र सुत्नुपर्छ…!”

-विराटनगर-७, ममतामार्ग

(स्रोत : मुना २०६६ असोज)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.