~स्वप्निल स्मृति~
विलक्षण कला छ बादलसँग
यो बर्ख
काठमाडौँको आकाशमा
उसको अभूतपूर्व चित्रमेला छ ।
ल, हेर्नोस् लक्ष्मीमाता गाईको चित्र
अफसोस तुरुन्तै त्यो गौहत्यामा कैद
च्याङ्बा रुम्बामा बदलिएछ,
बौद्धको ठीक माथि आकाशमा
एक थुप्रो ध्यानातीत बुद्ध
बिस्तारै नाङ्लो जत्रो खजुरो भई
घेर्दै थियो राजधानी
संविधानमा पसेर सलाईको काँटी पो भएछ !
आराध्यदेव पशुपतिको सीधा माथि हेर
त्यहाँ देखिन्छ :
कवि श्रवण मुकारुङको
कविताको धरहराजत्रो शिवलिङ्ग !
तर, त्यो पनि पापको योनीद्वारमा ‘फ्रिज’ भइहाल्यो ।
अब संसद्भवनको आकाशतिर फर्क
आकाशमा कुँदिनै सकेन राष्ट्रिय झन्डा
पिलिक्कै उदाउँदैथ्यो सूर्जेदेव
सडकमुनि दुम्सी नै दुम्सी देखेर
लुकिगयो मिलिकमै ।
चारतिरको बहुरङ्गी
एक–एक चोक्टा बादल समेटिएर
रङ्गीन नक्सा कोरिँदै थियो नेपालको
खैरो–मोटो चश्मामा देखिए राजा महेन्द्र !
विलक्षण कला छ बादलसँग
उसको चित्रमेलामा
सुँगुरले छोइहाल्यो र
बाइबल चेपिरहेछ भानुभक्त,
श्रीजङ्गालाई जब बाण प्रहार गरियो
आकाशमा नौलाख प्वाल परेछ,
हेर, दसैँ नमान्दा
सुली चढाइएका रिदामा र रामलीहाङलाई
काँधमा सुली नै भिरेर नाचिरहेछन् साकेला ।
सेतो वायुपङ्खी घोडामा छन्
उर्वसी, मेनुकाहरुलाई हेर
तिनलाई ‘ट्राई मार्न’
कालो घोडा हिन्हिनाइरहेको
जङ्गबहादुरलाई हेर
गुहुमुतले हानिँदै लखेटिँदै गरेकी
बोक्सी ढोगनदेवी चमारलाई हेर !
नयाँ प्रयोगमा छ बादल
ल, एकाएक घोप्टाइदियो क्यानभास
गर्जियो भयानक मेघ
बज्रियो झड्यामै चट्याङ,
बर्सिन थाल्यो अविरल वर्षा ।
अनुपम कला छ बादलसँग
मधेस, पहाड, हिमाल
जुधाएर चारतिरको मनसुन
अहोरात्र उपत्यकामा पानी खन्याइरहेछ
भ्यागुता हुन् कि यी देवालय–दरबार ?
बहुत डर लागिरहेछ
यसरी त थुनिन्छ चोभार र
काठमाडौँ डुब्छ, डुब्छ र फुट्छ
कोसँग छ काठमाडौँको नयाँ पासवर्ड ?
प्रकाशित: आश्विन ३०, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)