~शकुन्तला जोशी~
तिनीहरूले भनेपछि
‘गीतावचन’ ठानेर हामी
लुरुलुरु पछि लाग्यौँ
दायाँ घुम भने- घुम्यौँ
बायाँ फर्की भने- फर्क्यौँ
अघि बढ् भने- बढ्यौँ
पछि हट् भने- हट्यौँ
घोप्टो पर् भने- घुँडा टेक्यौँ
टाउको थाप् भने- निहुरिदियौँ
झन्डा बोक् भने- बोक्यौँ
ढुंगा हान् भने- हान्यौँ
एक दिन अर्को ‘गीतावचन’ सुनाए
‘मर्न डराउनु हुन्न !’
तर, हामी मर्यौँ/मर्दै आयौँ
उनीहरू भन्थे,
एकदिन हाम्रो सत्ता आउने छ
सबैका आँगनमा घाम खस्नेछन्
सबैको चुलामा आगो बल्नेछ
त्यही दिनका लागि हामी तँछाडमछाड
मर्न हतारियौँ
हाम्रो उम्दा रगतको भेलमा तैरिँदै
साँच्चै आयो
‘त्यो दिन’/’त्यो सत्ता’
उनीहरूले भनेझैँ
त्यो चम्किलो बिहानजस्तै थियो
कर्पोरेट हाउसको डेकोरेटेड एजीएमजस्तै
झकिझकाउ थियो
विडम्बना,
त्यहाँ हामी थिएनौँ/हाम्रा लागि कुनै ठाउँ थिएन
एकदिन हामीले नसोध्दै
उनीहरूले अर्को ‘गीतावचन’ सुनाए
‘यो हाम्रो सत्ता हो
नआत्तिनोस् !’
पक्कै आउने छ एकदिन
तपाईंहरूको आफ्नै सत्ता …!
(स्रोत : नेपाल साप्ताहिक ४८६)