ज्योति जङगल~
केही दिन अँगालेर जवान वसन्तलाई
त्यो लाहुरे
आँधीजस्तै परदेसियो,
मनभरि
शरीरभरि
प्रतिक्षा लिएर ऊ उभिइरही ।
आँसु बोकेका ओसिला रुमालहरु
प्रत्येक झरीमा कुहिएर माटो भए,
हावा चलेपिच्छे
फुटेर चुराहरु
भुइँभरि थुप्रिँदै गए ।
सधैँ चैतमा हुरी फर्कियो
तर लाहुरे ?
न उसको चिठी,
न जिउँदो हुनुको आभास
केही पनि फर्किएन ।
केवल हैरानी निगरानी गर्न
आँखाहरु आइरहे
बस, लाचारी तौलन
दयाका तराजु तल्लीन रहे ।
उमेरभरि
बाँझो बसेका सपनाका फाँटहरु
आतेस निरन्तर
र आगो झरेका आँखाहरु
उसँगै बुढिए ।
मन पाक्यो र फले पत्थरहरु
गुलाफका पत्र झरेजस्तै
भुइँभरि झरे आशाहरु ।
कुन चाहनाले झुक्याउन सक्छ यसरी
कुन बन्धनले उभ्याउन सक्छ यसरी
ऊ अचम्ममा छे,
सम्झनुपर्ने त केही पनि छैन
धमिलिएको ज्योति
कामेका हातगोडा
र आधा झरेको सेतो कपाल……….
कतिपल्ट बिर्सन खोजी
सक्दै सकिन
र सरापिरही
आशामा बाँचेको आफ्नै पापी मनलाई ।
कृति : मुक्त समय
कवि : ज्योति जंगल
विधा : कविता
प्रकाशक : साझा प्रकाशन
प्रकाशन : बि. स. २०६९