~बिष्णु सुवेदी ‘दोलखे’~
घुमाइरहेछन
टाउकोहरु माथि
बडेमानको जातो
र पिसिरहेछन
हाम्रा सुन्दर सपनाहरु ।
हाम्रै छातिमा खेल्छन परेड
हाम्रै काध चडेर
उक्लिरहन्छन सताको कुर्शी
र पुगेर घुमाउन थाल्छन
यामानको तेही जातो ।
हामीले खनेको बाटो हुँदै
चढेर आउछन पजेरो
कुल्चिदै आउछन साना नानीहरुलाई
जादुगरलेजस्तो भेस बदलेर
बुवासोले जस्तो सोर बदलेर
कहिले हासिटोपल्छन
कहिले रोइटोपल्छन
हामीसंगै अशमन्जस भाबमा ।
ठ्याक्कै वुझे जस्तो गर्छन्
तिनिहरु
हाम्रो अभाव समस्या र चाहना
हाम्रा कमजोरिहरु पक्रेर
त्यहीवाट गर्छन सुरु
दमनको जाँतो घुमाउन ।
दिमाग चाटेर जान्छन्
मुटु काटेर जान्छन्
र पेल्न सुरु गर्छन् ।
निवुवा जस्तै
पटक–पटक पेलेका छन्
पटक–पटक पिसेका छन्
तिनिहरुले
हाम्रो सुन्दर भविष्य
हाम्रो महान आकङ्क्षा
कहीले पिस्छन् तिनिहरु मौलिक
अधिकार
देशको नियम कानुन
कहीले पिस्छन् सिङ्गै वस्ति
आफै वनाउँछन् नियम
तर मान्दैनन् कहील्यै
बरु घुमाइरहन्छन् स्वार्थ अनुकुलित जाँतो
घुमाइरहन्छन् हाम्रा टाउको माथि।
समयसँगै
जाँतो घुमिरहेछ÷घुमाइरहेछन्
म सोचिरहेछु
सन्ध्याकालको एकान्तमा
यो टाउकामाथिको जाँतो
एकदीन कसो नघुम्ला
तिनिहरुकै टाउकामाथि ।
राम्पा, दोलखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)