कविता : गुनासो

~गोपालप्रसाद रिमाल~Gopal Prasad Rimal

म अहिल्यै त नमरुँ, नमरुँ !
मेरो यही एउटा इच्छा, यही एउट पुकार
एउटै यो जिन्दगी गुनासो, रहीरही ठुँग्ने यो
एउटै पीर-
म नमरुँ, अहिल्यै नमरुँ !
मैले नहिर्काइ चित्तै नबुझ्ने गरी थाहा पाएँ-
मेरा यी पाखुरामा कुन बल लुकेका रहेछन-
म वालीजतिकै बलियो रहेछु
मलाई हटाउन रामलेजस्तै
लुकेर प्रहार गर्नुपर्ने रहेछ ।

त्यसैले यो मेरो भुजाको बलले,
मेरो हृदयमा जागेको जहरिलो घृणाले,
मेरो धारिलो मष्तिष्कको चोटले
मेरो दुश्मनमाथि
म आफ्नो पनि माया मारेर
निस्फिक्री नबज्रेसम्म
मलाई मारेर आजसम्म
बाँचिरहेका दुश्मनलाई
लम्पसार पार्दै-
हत्ते देखाएर उसको मन
पगाल्नपट्टि नलागेर
साथै उसले सोझै
मसँग मागेको प्रहार नदिएसम्म
म नबिलाउँ, नडगुँ !
म अहिल्यै त नमरुँ !
मेरो एउटै यो जिउँदो गुनासो !
नमरेको यो धोको, यही एउटा धीत
म अहिल्यै त नमरुँ, नमरुँ !
अहिल्यै त नमरुँ !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.