~नीरा शर्मा~
मैले धेरै पढेँ
आमाका वेदनाका कथाहरू
तर कहिल्यै पढिना
बाका अनुहारमा सलबलाएका
दु:खका बक्र रेखाहरू
धेरैपटक कविले
आमाकै तारिफमा कविता कोरें
आमाकै गीत–सङ्गीत भरें
आमालाई धर्ती भन्नेहरूले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सधैँ ओझेल परे ।
बारीको डिलमा चुपचाप
ठिङ्ग उभिएको बूढो रुखझैं
बा कहिल्यै उभिएनन्
भन्ज्याङको चौतारीझैं
ढसमस्स बसेनन् बा कहिल्यै
बा त
हाम्रो अँध्यारो मेटाउन
मैनझै जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेलझैं चलिरहे
जिन्दगी भर कुदिरहे कुदिरहे
थाकेर सुइय नगरी
सधैँ एक्लै कुदिरहें
त्यसैले त अग्लिँदैछ एक्लोपनको हिमाल
बाको मनभित्र ।
यतिखेर
लम्पसार छ नीरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सधैँ
घुरिरहन्छ घ्वारघ्वार
कुम्भकर्णको निद्रामा
बाको अन्योल जिन्दगी
तर बा
कर्कलाको पातमा टलपल शीतझैं
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीहरूको सिला खोज्दैछन्
परेलीका डिलहरूमा ।
बोल्दाबोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउँछु म गला अवरुद्ध भएको
र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन– हुँदै होइन ।
फुंग रंग उडेका उदासीका फूलहरू
फुलेका छन् बाका मुहारभरि
चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरूमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाएदेखि अस्ताउादासम्म ठुंगिरहन्छ ।
भित्र मनमा कताकता
विगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका उधारा खुसीहरू
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरो लागि
तिम्रो लागि र
हाम्रो लागि
हो, बा त्यो हरूवा हो
जो सधैँ हारिरहन्छन्
केवल सन्तानका लागि ।
प्रकाशित: माघ २३, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)
kabi le yo kabita kaile lekhe ka hun ?hamro prakasan ma estai kabita(Ama lai dharti bhanne haru..) sirsak ma magh 9 gate tira submit bhaye ko thyo. rachana bhaye ko miti taha bhaye hunthyo . .
रविन ज्यू,
कवयित्री निरा शर्मा ज्यूको यस कविता कान्तिपुरको कोसेलीमा माघ २३, २०७२ मा प्रकाशित गरिएको थियो र हामीले त्यहीँबाट स्रोतसहित सभार गरेका हौं । रचना कहिले भयो यो कविताको भन्ने प्रश्नको जवाफ शायद कवयित्रीसँग मात्र होला, माफ गर्नुहोला ।
आविष्कार
साहित्य संग्रहालय