~बिष्णु सुवेदी ‘दोलखे’~
ओ भूतपूर्व कवि जी
आङ्गमा घाम सुकाएर
निधारमा चिट चिट पसिना उमारेर
के सोचिरहनु भएको
यो अभावग्रस्त मौसममा
एक छाक भात कि
एउटा पीडायुक्त कविता ?
जीवन भर कलमलाई घोडा बनाएर
कत्ति डुल्नु भो गाँउ वस्तीहरु
के भेट्नु भो हँ कवि जी
वस्तीका मनहरुमा
वस्तीका अनुहारहरुमा
झुल्के घाम वा अस्ताउदो सूर्य ?
लेखिरहनु भो लामो समय
छिचोलेर उथल पुथल
मनको वाढी झिना मसिना
गेगरहरुले छेकेर
पहाड उक्लनु भो आकाश छुनु भो
आज फेरी के भो हँ कवि जी,
र सोचिरहनु भएको छ
अँध्यारो यो एकटुक्रा एकान्तमा
लुसुक्क
एक धार्नी मासु कि
दशैंको अक्षता ?
पीपलबोटे चौतारीमा
फुकाँउदै हुनहुन्थ्यो रे अस्ति
मनका बहहरु
सिमल चौरको वेसिमा
सुकाँउदै हुनुहुन्थ्यो रे
जीन्दगीका भक्कानाहरु
कत्ति रहरहरु ओसिएर गए रे
कति उत्साह मरेर गए रे
वाक्क दिक्क मानेर
त्यो लाटे भिरको खोचमा
खुइईऽऽऽ गर्र्नुभो अरे
के देख्नु भो
ओ भूतपूर्व कवि जी
यो दुनियाको माझमा
तपाँई एक्लै वा अरुपनि ?
आगोको भुङ्ग्रोमा
आफैंलाई बालेर दनदनी
अँध्यारोमा अलिकता
उज्यालो छर्न आँट गर्ने
ओ कवि जी
यति चाँडै किन मौन, किन थकित ?
सोचेकै नपुगेर हो वा
खोजेकै नभएर हो
घोर अपमान भयो भन्नु भो रे
सम्मान खोइ भन्नु भो रे
पृथ्वी जस्तै फराकिलो छात्तीमा
संकिर्णका गिलासहरु ढाल्नु भो रे
ओ भूतपूर्व कवि जी
के भो हँ, अचेल तपाँइलाई
भीजेको स्याल जस्तो
झरेको फूल जस्तो हुनुहुन्छ !
चिन्ताहरुको रापमा चिन्तनहरु उमार्ने
निरासाकै ओडारबाट आशाहरु निकाल्ने
त्यो उत्साह,
खोई कवि जी ,
कहाँ छ हँ ?
किन भाँच्नु भो कलमको टुँडो
र बन्द गर्नु भो आफ्नो बोली ?
रंग नभएको जीवनमा
के देख्नु भो हँ पछिल्लो सपना ?
ओ भूतपूर्व कवि जी,
राम्पा, दोलखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)