~ईन्द्र नारथुङ्गे~
छेवैमा चारो टिपिरहेको माउपोथीलाई देखेर
घाँटीको जगर फुलाउँदै उसैउसै चर्को स्वरमा
जवानी गाइरहेको जक्खु भालेलाई पक्रिएर…
एउटा ढुङ्गालाई थपना राख्छ मान्छे
र,
सिरुपाते खुकुरी निकालेर भालेको टाउको छिनाउँदै
धर्म गरें भनी मख्ख पर्छ ।
आफू झैं मृत्यु पर्खिरहेको
कुनै अरिमठ्ठे बोकासँग सिङ्मा सिङ जुधाउँदै
बल दँजाई रहेको कालो बोकालाई तानेर
अचानोको सामु पुर्याउँछ मान्छे
र,
लामो कट्टीले एकै चोटमा छिनाई
रगतको सिर्का हानिरहेको गर्धन मुखमा लाएर
धर्म गरेको नाममा हेर…हेर…चिच्याई रहन्छ ।
कयौं माईल हिंडेर नाङ्गो खुट्टाले
फतक्कै जवानी गलेको बेला
थुचुक्क बसेर जमिनमा
समय उघ्राई रहेको रांगालाई
तान्दै मूर्तिछेउ पुर्याउँछ मान्छे
र,
लामो खुँडा निकालेर गर्धनमा छप्काउँदै
धर्मको नाममा स्याब्बास् कराउँछ ।
कतै धर्मकै निम्ति,
उज्यालोको पखेटा नखस्दै धरामा
स्निग्ध हिमाललाई कालो बादल ओढाइन्छ
र,
साना दुई आँखे प्वालबाट चिहाउन
बाध्य पारिन्छ खुल्ला संसार ।
कतै, चढेर पनि सँगै यौवनको डुङ्गा
किनारामा उत्रिएपछि
धोयर सहयात्रीको पाईताला पानीले
त्यही पानीलाई अमृत जल मानेर
श्रद्धा प्यूनु पर्ने बिवसता छ धर्मको नाममा ।
यहाँ,
मन्दिर बनाईन्छ
मस्जिद सजाईन्छ
चर्च उभ्याईन्छ
गुम्बा दँजाईन्छ
र,
आपसमा निषेध हुर्काईन्छ धर्मको नाममा ।
यहाँ,
बन्दुक उठाईन्छ
मान्छे मारिन्छ
मान्छे रेटिन्छ
मान्छे काटिन्छ
र,
मान्छे आफै पड्किन्छ धर्मको नाममा ।
र, म
धर्मको बिरुद्धमा
धर्मको बिपक्षमा
मूर्दाबादको नारा लगाईरहेछु
केवल धर्मको नाममा ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)