~महेश रेग्मी~
प्रार्थनासभामा प्रार्थना गर्दा
सोच्थेँ –
जीवनको समय सच्याउन पाए हुन्थ्यो ।
कपडा बदलेजस्तो
समय बदल्न पाए
देश र
इतिहासको समय सच्याउनु हुन्थ्यो ।
समयलाई जित्न नसकेपछि
सबै-सबै हारिँदोरहेछ ।
छोरीको जन्मदिनमा
कुनै उत्सव मनाइनँ
बरु छोरीलाई देखाउने दृश्य खोजेँ
छोरीलाई हिँडाउने बाटो खोजेँ
तर दृश्यहरू आफ्नो ठाउँमा थिएनन्
तर, बाटाहरू आफैं हिँडिरहेका थिए ।
समय टक्क रोकिएजस्तै
अँध्यारो आधिपत्य
जीवन फ्रेमबाहिर छ
देश फ्रेमबाहिर छ
देशको अस्मिता फ्रेमबाहिर छ
देशको सत्ता फ्रेमबाहिर छ
मैले श्वास फेरिरहेको
मैले हाई काढिरहेको
पहिचानको सङ्कटमा
निर्जीवजस्तै निर्जीव भएर
समयले थुतेको ज्रि्रो गुमाएर बसेको म
र, यो काठमाडौं झनै फ्रेमबाहिर छ ।
भ्रष्ट नेताहरू
क्रूर मित्रहरू
भूतपूर्व प्रेमिका
मृतकका तस्बिर मात्र फ्रेमभित्र छन्
म यिनै तस्बिर हेरेर
समय हेरिरहेछु
तर विडम्बना
म आफ्नैविरुद्ध बकपत्र बोकेर उभिइरहेछु ।
– पाल्पा-तानसेन, हाल : काठमाडौं
June 4th, 2008
(स्रोत : Nepal.hk)