कथा : गुडबाई ! ईशारा

~जगत नवोदित~Jagat 'Nabodit' Rai_1

त्यसदिन म अफ मूडमा थिएँ। नेपाल जानु पर्ने नियमित उडान रद्द भएको थियो र म कतारको दोहा एयरपोर्टमा यसै अल्मलिदैँ बसेको थिएँ। नेपालमा पुगिसक्नुपर्ने बेला म डिउटी फ्रीभित्र रुमल्लिरहेको थिएँ। घरी सुनका महङ्गा गहनाहरु, घरी अत्तरको सुगन्धित बास्नाहरु, घरी रेड र ब्ल्याक लेबलहरु नियाल्दै समय काट्दै थिएँ। सुरक्षाको लागि खटिएका एकजना नेपाली दाइ भेटिए। चिनजान भो, कुराकानी पनि लामै भो। उनको तनखादेखि नेपालको ठेगानासम्म मैले सोध्न भ्याएँ। उनले पनि ‘लाहुरे भाइ, पैसा त टन्न कमाइएको होला’ भन्न समेत भ्याए। उनीसँगको कुरालाई सकेर म पहिलो तलातिर उक्लिएँ। लिफ्ट्को अन्तिम खुट्किला उत्रिसकेर केही पाइला मात्र म के हिंडेको थिए पछाडिबाट कसैले मेरो हात समाते।

तपाईं जगत दाइ हैन र !

मैले मुन्टो पछाडि फर्काउँदा फर्काउँदै छोरी मान्छेको आवाज आयो।

हो- म अनायासै बोलेँ।

अनि तपाईं?- मेरो प्रश्न थियो।

‘अरे मलाई चिन्नु भएन, म ईशारा के।’

ओ, ईशारा! निराजन सरकी छोरी हैन?

हो,दाइ हो।

अनि तिमी यहाँ कसरी?

यसको जवाफ चाँही पछि दिउँला। अहिले चाँही मलाई एउटा समस्या पर्‍यो, मद्घत गर्नु पर्‍यो ।

ओके समस्या के हो,भन ?

मेरो अन्तिम फ्लाइटमा ह्यान्ड ब्याग छुटेछ। जहाँ मेरो पासपोर्ट, टिकेटहरु थिए। अब म के गरुँ दाइ?- उनी रुनु न हाँस्नुको अनुहार बनाएर मलाई हेरिन्।

तिमी यहाँ भित्रसम्म कसरी पासपोर्ट बिना छिर्न सक्यौ त ?- मैले थप प्रश्न गरेँ।

कनेक्सन फ्लाइट हुनेहरु कसैको नि पास्पोर्ट चेक भएन । भित्र आएपछि मैले चाल पाएँ।

यात्रा एक तर घटना अनेक हुन सक्छन्। उसो भए सर्भिस हेल्प डेस्कमा कुरा गर्नुपर्छ भन्ने निधो गरेर हामी त्यतै लाग्यौँ। उनको पछि पछि अरु दुई नेपाली साथीहरु थिए।
संयोग परेछ-यात्रुहरुलाई सहयोग गर्न बसेका रहेछन् नेपाली स्टाफ नै। विदेशको ठाउँमा नेपालीलाई मर्दा पर्दा सहयोग नगर्ने नेपाली के नेपाली! नेपाली नै ठाउँमा भएपछि समस्या सरासर मैले बताएँ।

‘पासपोर्ट नै बिर्सने चाँही को हो?’- उनले मलाई प्रश्न सोझ्याए।

मैले ईशारातिर औँल्याएँ।

‘कहाँदेखप उडेको? पासपोर्ट नै पनि भुल्ने हो त। के सोचेर हिँड्छौ हौ ?’ – अलि रिसाएको भावमा ती स्टाफ बोले।

‘भुल्न त नहुने हो, त्यही भुलेर तपाईंको सहयोग लिन आएको। नत्र हामी आउने नै थिएन नि यहाँ’ – मैले पनि मुख फोरेँ।

‘खाडी मुलुकमा जानेहरु यस्तै हुन्। बुझ्नु भएन के? जहिले समस्या मात्र बोकेर आउँछन्।’ – स्टाफ मतिर फर्किएर निकै कड्किएर बोले।

हुन त उसले पनि खाडी मुलुक मै जागिर खाइरहेको थियो , कुन आवेगमा आफ्नो मुखमा थुकेको उसले थाहा पाइरहेको थिएन।

‘हेर्नुहोस् यो सब कुरा गर्नु भन्दा ब्याग पत्ता लगाउनेतिर चैँ लाग्नु न’- पछाडिबाट ईशाराको साथी बोलिन।

‘त्यही नै गरिरहेको देख्नु भएन।’- फोन उठाउँदै ती स्टाफले मुख लम्बाए- ‘कस्तो प्याच बोल्ने।’

अब समस्या समाधान हैन अर्को पो थपिएला जस्तो भो। म बोलिन, सब केही छिनलाई चुप बने।

स्टाफ महासयले दुई चार ठाउँ टेलिफोन घुमाएपछि ह्यान्ड ब्याग हात पर्ने सुइँको भो। भाग्यले प्लेनको इमान्दार स्टाफको हात परेछ। अघि नै त्यो ब्याग मुख्य रिसेप्सन कक्षमा पुगिसकेको रहेछ। केही क्षणको पर्खाइमा नै ब्याग आयो- ब्याग सँगसँगै ईशाराको मुहारमा चन्द्रज्योति आयो। एकछिन जे जस्तो भए पनि ती नेपाली स्टाफलाई धन्यवाद भनेर हामी बाटो लाग्यौँ।

********

ईशारा, मेरी अतितकी प्यारी बहिनी। निस्तेज, उदास अनुहारमा म अघि थिइन्। त्यतिबेलाको त्यो धप्धप बल्ने उनको अनुहारको अवशेष कतै बाँकी थिएन। उनको अनुहारले कुनै तेल सकिएको बत्ती निभ्न लागेको प्रतित हुन्थ्यो। ईशाराको अनुहारलाई मैले जति पटक हेरेँ, त्यति नै पटक मनमा नमिठो तरङ्ग बग्यो। उनका साथीहरु सबैलाई लिएर म माथिको तलामा उक्लिएँ।

केही खाजाहरु खानलाई रेस्टुरेन्टको ईलाकामा हामी छिर्‍यौँ। ईशारा मेरो छेउमा बसिन्, दुई साथीहरु टेबलको अर्को पट्टी। खाजा खाइनसक्दै ईशाराले आफू धेरै थाकेको कुरा, धेरै दिनदेखि राम्रो सुत्न नपाएको कुरा खोलिन। भित्रदेखि मायाको भाव उर्लेर आयो। हामी उड्ने जहाजको कुनै ठेगाना थिएन त्यसैले आराम कक्षमा लिएर गएँ। थकाई र निन्द्राले धेरै मातेको रहेछ ईशारालाई। तिनी केही छिन मै निदाइन। म भने अतिततिर फर्किएँ।

********

दशकअघिको कुरा हो यो। म क्याम्पस पढ्ने रहर र सुन्दर भबिश्यको सपना बोकेर काठमाडौँ पुगेको थिएँ। कलेज पढाइका ती दिनहरु मेरो जीवनको लागि दुःखका पाठहरु सिख्‍ने समय थियो। संघर्षका ती दिनहरु कहिले कहिले त थामिनसक्नु नै थिए।

जीवनमा आमाको हातको तातो भात खाएर हुर्केको म, काठमाडौँको चिसो घरको चिसो कोठाभित्र धेरै चिसो खाना खान बाध्य भएँ। घरबाट आउने खर्च सकिँदै जाँदा टाढाटाढाको बाटो समेत पैदल हिंडेर काटेँ। होस्टलभित्रको बसाइ एक अनौठो जीवनको मोड थियो मेरो लागि। कलेजको होस्टलमा हामी धेरै थरिका धेरै मान्छे थियौँ। विकट ठाउँबाट आएका साथीहरुसँगको बसाइ विकट नै थियो। शिक्षाको लागि भेला भए पनि बाँच्ने कला सिक्ने संघर्षमा पनि थियौँ।

यस्तैमा समय बित्दै जादा एकदिन होस्टल वार्डेनले मलाई ‘कसैको घरमा गएर होम टिउसन पढाउने हो?’ भनेर प्रश्न सोध्नु भयो। मैले खास धेरै नसोची नै ‘हुन्छ गर्छु’ भनेँ। सबै कुरा बुझ्दै जाँदा थाहा भो मैले पढाउँदा आफैलाई निक्कै राम्रो आर्थिक लाभ नि रहेछ। यसै सिल्सिलामा एकदिन एकजना महासयले मलाई होस्टलमा लिन आए। उनको पुरानो हिरो होन्डा बाइकपछाडि सिटमा बसेर म उनको घरमा पुगेको थिएँ। घरको गेट्मा छिर्दा ईशारा गमलामा पानी हालिरहेकी थिइन्। ती महासयले मलाई उनको छेउमै पुर्‍याएर बोलेका थिए- ‘छोरी! तिम्रो नयाँ गणित शिक्षक।’

निराजन सरको घरमा जहिलेदेखि मैले जान सुरु गरेँ, कहिले खाली मुख फर्किनँ। कहिले खाजा, कहिले खाना, कहिले चिसो, कहिले तातो, कहिले फलफूल, कहिले अरु नै। एक किसिमले म त परिवारसँग खुब झ्यामिए । ईशारा पनि खुब झ्यामिई मसँग। ९ कक्षामा पढ्थी ऊ। उसको भाइ प्रमेश अलि सानै थियो। सुभद्रा आन्टी, ईशाराकी ममीले पनि मलाई खुब माया गर्नु हुन्थ्यो। एउटा छोरीलाई पढाउने शिक्षकको रुपमा हैन, आफ्नै परिवारको सदस्य जस्तो। हुन त त्यो परिवार सँग मेरो त्यस्तो लेन्देन , पुरानो सम्बन्ध केही नि थिएन। तर पनि म साह्रै छिटो नजिक भएँ। हप्ताको तीन दिन जान्थेँ म त्यो घर, तर बाँकी दिनमा पनि जाउँ जाउँ हुन्थ्यो मनमा। आफ्नो घर जस्तै लाग्न थालेको थियो त्यो घर मलाई ।

एक दसैं र तिहारको छुट्टी भरी म घर गइनँ। त्यो बिदाको समयले मलाई ईशाराको परिवारसँग झन् नजिक बनायो। दसैंमा हरेक दिन जस्तो म त्यो घरमा पुगेँ। अनि तिहारमा त ईशाराले मलाई टीकाको लागि निम्तो नै दिइन्। त्यसपछि त त्यो परिवार मेरो पनि परिवार नै जस्तो भयो।

राम्रो समय बित्न कति नलाग्दो रहेछ । अध्ययनको एक अध्याय सकिएपछि म गाउँ फर्किएँ। शहरको ब्यस्त भीडभित्र मलाई हराउन मन परेन। ईशाराको परिवारले मेरो निर्णयलाई मन नपराए पनि रोक्न चाँही सकेनन्। म गाउँ फर्किएँ। शहरको धुलोमैलो सब गन्जागोल छोडेर मेरो प्यारो एकान्त गाउँ फर्किएँ। गाउँमा पुगेपछि मेरो आमाको काखमा फेरि म पुगेँ।

गाउँबाट निराजन सरको परिवारसँग सम्पर्क टुट्दै गयो।

समयको एक अर्को बतासले मलाई लाहुरे बनायो। लाहुरे भएकै पनि थुप्रै समय बितिसकेछ। अचानक ईशारालाई भेट्दा अतित पल्टियो। यस्तैमा नेपाल जान ढिलाइ भएको कतार एयरवेजको उडानको लागि यात्रुहरुलाई सूचना जारी भयो। ईशारालाई ब्युँझ्याएर हामी लाग्यौ बोर्डिङ पासको गेटतिर।

************

प्लेन यात्रुहरुले टनाटन भरिएको थियो। एयर होस्टेजलाई भनेर ईशारा र मैले एकै ठाउँमा बस्ने सिटको प्रबन्ध मिलायौँ। सिटको बेल्ट कसुन्जेलसम्म पनि ईशाराको थकाई अनुहार भरी ज्युँका त्युँ थियो।

हामी छुटिएको पनि धेरै पो भइसकेछ नि, मैले कुराको थालनी गरेथेँ।

हो नि दाइ, भाग्य दरो रहेछ आज मेरो – ईशारा बोली।

अनि बहिनी तिमी आज कसरी यो अवस्थामा ? – मैले बिना ढिलासुस्ती जिज्ञासा राखेँ।

दाइ, यो छोटो जिन्दगीको कथा साह्रै लामो छ। के तपाईं सुन्न तयार हुनुहुन्छ र?- ईशाराले मलाई नियालेर बोली।

मैले स्वीकृतिको मुन्टो हल्लाएँ।

दाइ, मेरो सम्झना भएसम्म, तपाईं गाउँ फर्किएको साल नै हो क्यारे मैले कलेज सुरु गरेको। कलेजको पहिलो वर्ष रमाइलो भएर बित्यो। तर दोस्रो वर्षको मध्यतिर पुग्दा बाबाको सरुवा बुटवलमा भयो। अब हाम्रो परिवार दुईतिर बाँडियो। म काठमाडौँमा बाँकी बाबाआमा र भाइ बुटवलमा। त्यसै सालको दसैं छुट्टी मनाउन सपरिवार काठमाडौँमा भेट हुने योजना बन्यो। आमाबाबा र भाइलाई भेट्ने ब्यग्र उत्साहले मन प्रफुल्लित थियो। त्यो दिन अझै मलाई सम्झना छ, हरेक घण्टा म घडी हेर्दै बिताइरहेको थिएँ। दिन ढल्यो र साँझ पर्‍यो तर आमाबाबा र भाइ आएनन् , रात छिप्पियो र मध्यरात पर्‍यो। अहँ, कोही पनि आएनन्। रातभर म ब्युँझदै रहेँ कोही आएको छ भनेर बत्ती बालेँ कोही पनि आएका थिएनन्। मन अज्ञात भयले छोयो। रात बित्यो र बिहान भयो अझ कोही आएन।

बुटवलमा फोन सम्पर्क गर्दा त्यता पनि कुनै जानकारी पाउन सकिएन। बिहानले आफ्नो अनुहार पुरै नउघारिसकेको बेला झिस्मिसेमा घरको बाहिर गाडीको हर्न बज्यो। म हतार बाहिर निस्किएँ, एउटा आशा लिएर। बाहिर एम्बुलेन्स चहकिलो बत्ती बालेर बसिरहेको थियो। मेरो मुटु अचानक जोड्ले ढुक्ढुकियो।

निराजन सरको घर हैन ? कोही बोल्यो ।

हजुर हो त – मैले बोलेँ।

तपाईं उहाँकी छोरी हो ? – फेरि प्रश्न तेर्सियो।

हजुर, अनि तपाईं नि त ?- मैले प्रश्न फर्काएँ।

ए म तपाईंलाई शिक्षण अस्पतालबाट लिन आएको कर्मचारी। तपाईंको परिवार हिजो दुर्घटनामा पर्नु भएछ। उहाहरुको अस्पतालमा उपचार हुँदैछ। तपाईं चाँडै मसँग जानु पर्‍यो।

यो सब सुनेर म जमिनमुनि भासिए झै भएँ। मेरो खुट्टाहरु थर्थर कामे। थाहा भएन मैले घरको ढोका थुने या थुनिन । जेहोस् म अस्पताल पुगेँ। त्यसपछि मलाई आईसीयु कक्षमा पुर्‍याइयो। जहाँ मेरो भाइ बेहोस अवस्थामा लडिरहेको थियो। थाहा पाएँ उसको एउटा खुट्टामा हेर्नै नसक्ने डरलाग्दो चोट परेको रहेछ। त्यसपछि मलाई भित्री कोठामा पुर्‍याइयो। मेरी आमा भेन्टिलेटरमा सास अल्झाइरहनुभएको थियो। आमाको छाती र टाउकोमा परेको चोट देखेर मैले केही सोच्नै सकिनँ। म आफै यो सब के हो बुझ्न सकिरहेको थिइनँ। यतिकैमा कसैले मलाई थाहा दियो कि – बाबा त दुर्घटना स्थलमै देहान्त हुनु भो। म सपना जस्तो भएँ। बिल्कुल सपन । मेरो आवाज हरायो। म कहालिएर रुन पनि सकिनँ। म लाटो बनेँ, एकदम लाटो।

प्लेन भुइँ छोडेर अघि नै आकाशिसकेको थियो। सँगै ईशाराको जीवन कहानी पनि गहिरिँदै थियो।

दाइ, त्यो ठुलो दुर्घटनाबाट आमा पनि बाँच्न सक्नु भएन। भाइ बच्यो तर उसको एउटा खुट्टा बचेन। अब के थियो र बाँकी जीवनमा। हामी त बेसहारा बन्यौ। भाग्यमाथि त्यत्रो ठूलो चट्याङ पर्दा सहयोग गर्ने कोही भएन बरु अझ आँधी बनेर आफन्तहरु आए। त्यो बाबाले कमाएर बनाउनु भएको घरलाई समेत अंकलले आफ्नो भनेर दाबी गर्नु भो। हाम्रो लागि बोल्ने कोही भएन। मुद्दा समेत चल्यो तर छट्टु अंकलको अघि हाम्रो केही लागेन । कान्छी आमाको सन्तान भनेको सत्रु भन्ने सुनेको- साँचो लाग्यो। मुटु दुखेर आउँछ दाइ सब सम्झिँदा। रिस र प्रतिसोधको आगो बलेर आउँछ मभित्र।

ईशाराको अतितले मेरो मन पनि त्यसै दुखेर आयो।

दाइ, जिन्दगी बाँच्न साह्रै अफ्टेरो रहेछ। मेरो पढाइ सब बिग्रियो । जीवन नै भताभुङ भएको बेलामा अरु कुरा सप्रने त कुरै भएन। गहिरो शोक त छँदै थियो अर्कोतिर अभावले यसरी गाँज्यो कि भाइ र म कति दिन त भोकै पनि बाँच्यौ। त्यही पनि जिन्दगीलाई माया मार्न सकिनँ दाइ। जागिर खोज्दै जाँदा एउटा मेनपावर कम्पनीले मलाई रिसेप्सनमा काम दियो। त्यो जागिर नै भाइ र मेरो बाँच्ने सहारा भयो। केही वर्ष मैले त्यहाँ काम गरेपछि विदेश जाने सोच आयो। भाइको पढाइलाई खर्चसमेत जुटाउन सक्छु भन्ने सानो आश थियो। एउटा भबिस्यको आश भन्नु उही अपाङ्ग भाइ थियो। यसरी म थुप्रै नेपालीहरुसँगै एकदिन इजरायल गएँ। परदेशको जीवन सजिलो नभए पनि एकदम अफ्टेरो भने लागेन कारण त्यो भन्दा दुःख भोगेर म पाकिसकेकी थिएँ। घरभित्र काम गर्नुपर्ने नोकर जस्तै। हाउसमेड भन्छन् नि, हो त्यही काम गर्नुपर्ने। हप्ताको एकदिन छुट्टी हुन्थ्यो। त्यो दिन नजिकै पार्कमा नेपालीहरु भेला हुन्थ्यौँ। आफ्नो देशमै भए जस्तो लाग्थ्यो मलाई।

भाइले फेरि आफ्नो पढाइ सुरु गरेको थियो। भाइले मेरो दुःखलाई बुझेर खुब मिहिनेत गरेर पढ्यो। पहिलो वर्षमै उसले आशातीत प्रगति गर्‍यो, दोस्रो वर्ष त स्कूलमै सबभन्दा उत्कृष्ट विद्यार्थीको रुपमा आफूलाई प्रमाणित गर्‍यो। मैले नि सानो सन्तोषको सास फेरेँ। दुख्‍ने घाउमा अलिकति खाटा बसेझैँ भयो। तर एकदिन लुटेरा ड्रगिस्टहरुले उसको पैसा लुट्न साह्रै नराम्ररी पिटेछन्। उसँग पैसा भन्नु के नै हुन्थ्यो र दाइ। तर पापीहरुले बुझेनन्। उसले प्रतिकार सक्दो गरेछ। पछि त उसको सग्लो खुट्टा भाँचुन्जेल पिटेछन्। शायद, मार्ने थिए त्यहीँ, तर उसको भाग्य बलियो। एकजना सज्जनले देखेछन् र बचाएर हस्पिटलमा पुर्‍याएछ। मलाई पनि त्यही सज्जनले खबर दिए। म सब काम छोडेर नेपाल फर्किएँ। मेरो भाइ पीडा सहँदै अस्पतालको बिछ्यौनामा पल्टिरहेको थियो। हामीले धेरै बेर केही बोल्न सकेनौँ। मौन आँसु आँखामा बगाउँदै त्यही आँसुले मनको कुरा बोलिरह्यौँ।

भाइलाई अस्पतालबाट निकालेपछि उसलाई छोडेर फेरि इजरायल फर्किन मनले मानेन। अनि मैले नेपाल मै सानोतिनो खासाको ब्यापार सुरु गरेँ। फुट्पाथको पसल के दाजु, हो त्यही गरे मैले निकै लामो समय। बाँच्नलाई अनेक गर्नुपर्दो रहेछ। दाजु। फुट्पाथको दोकान गर्दा अनेक दुःख सहेँ। पुलिसले देखिनसहने। यो छोरीमान्छेको जातलाई साह्रै अप्ठेरो रहेछ। मेरो खासाको सामानभन्दा मेरो जवानी किन्न खोज्नेहरु धेरै आउँथे। म सडक सडक ब्यापार गरिहिंड्ने मान्छेलाई कसैले दुःख बुझेर माया गरेनन् दाइ, गरेनन्।
अचानक ईशाराको आँखा भावुक आँसुले भरियो। उनी भक्कानिएर मेरो बाहुपासमा रुन थालिन्।

आफुलाई सम्हाल ईशारा! रोएर आफुलाई कम्जोर नबनाऊ- मैले सम्झाउँदै बोलेँ।

आफ्नो कपाल मिलाउँदै आँसु पुछिन्।

म कम्जोर छैन दाजु। अब त म समयलाई गलाउने गरी बलियी भइसकेकी छु – ईशारा बोलिन्।

मेरो कथा यतिमै सकिँदैन दाजु। मैले त्यो खासाको ब्यापार पनि छोडिदिएँ र पोहोर साल फेरि अरब आएँ। दुःखीलाई जहाँ गए पनि सुख छैन दाइ। अरबमा त मैले नपाउनुको दुःख पाएँ। मैले जुन घरमा काम पाएँ नि, मान्छेको रुपधारी जनावरहरु थिए त्यस घरमा।

जाने बितिकै मेरो पासपोर्ट खोसेर राखे। बाहिर जाने कुनै इजाजत थिएन। तीन तलाको, २ कोठाहरु मैले हेर्नुपर्ने संसार थियो, बाँच्नुपर्ने संसार थियो। खाना पकाउनु पर्ने, खाएका जुठो थालहरु सफा गर्नुपर्ने, मैलो कपडाहरु धुनुपर्ने, उनीहरु सुत्ने बिछ्यौना मिलाउनु पर्ने। म दास भएर के गरिनँ र ! कोठा-कोठा फूल रोपेँ, पानी हालेँ, हेर्दाहेर्दै मेरो पसिना फूल भएर फूल्यो। फूलले कोठा-कोठा मग्मगायो, त्यो मरुभुमिको घरमा तर म फूल्न सकिनँ। म त सुक्दै गइरहेकी थिए क्रमशः। कति रात त म अनिँदो नै बस्नु पर्थ्यो – मध्यरातसम्म पनि म भोकै हुन्थेँ। किचेनको साँघुरो टेबलमै हातलाई सिरानी बनाएर निदाउथेँ म। शहरको अलि बाहिर रहेको त्यो घरमा म कैदी जस्तो बाचिरहेको थिएँ।

टाढा शहरमा बलेको बत्तीसँग रहर आउँथ्यो। रहरसँगै सपनाहरु आउँथे। अचानक आफ्नो दुर्दशाले म कहालिएर रुन्थेँ, फेरि आँफैलाई सम्हाल्थे। यस्तैमा मसँगै काम गर्न आएकी रमा भन्ने साथीले मलाई चिट्ठी लेखिन्। मलाई त जीवनमा एकदमै ठूलो कुरा पाए झैँ लाग्यो। त्यसमा उसले भोगिरहेको दुःखको बेलिबिस्तार थियो। सँगै डोल्मा भन्ने नेपाली छोरीमान्छेले आफूलाई बलात्कार गर्न खोज्नेलाई मारेको कुरा नि थियो। मलाई डोल्मा दिदीको साहसलाई पूजा गर्न मन लाग्यो। रमाले आफू दुःख भोगेर बस्नु भन्दा भाग्ने योजना बनाएको अनि शहरमा बस्ने एकजना सहयोगी नेपाली दाइको ठेगाना समेत चिट्ठीमा लेखी पठाएकी थिइन्। मलाई त ठूलो बन्धन बाट मुक्त हुन जुक्ती मिलेको अनुभूति भयो। मैले पनि एक मध्यरात त्यो घर छोडेँ। मसँग केही थिएन सिवाय एकसरो कपडा। पास्पोर्ट हुने त कुरै थिएन, पैसा नि फुटेको कौडी समेत थिएन। मलाई अरु कुराको लोभ नि थिएन। मलाई त खाली बन्धनबाट मुक्त हुनु थियो। घरको गेट बाट निस्केपछि नै मैले उन्मुक्तिको सास फेरे। अनि रातभर रोडको छेउछेउ बालुवा बालुवा हिँडे। त्यत्रो रातभर हिँड्दा पनि थकानको कुनै अनुभूति थिएन मलाई। म उज्यालो हुँदा शहरमा पुगिसकेको थिएँ। शहरमा ट्याक्सीको सहयोग लिएर म रमाले भनेको नेपाली दाइ कहाँ पुगेँ। सबै कथा बेलिबिस्तार लगाएँ। उहाँले नै दूतावासमा पासपोर्ट दिलाउनु भयो र उहाँकै सहयोगमा म नेपाल उडेको। दाजु मेरो भाग्य बलियो रहेछ- तपाईंलाई भेटेँ।

जिन्दगीको कालो रात काटेर आएछौ बहिनी। अब सब ठीक हुन्छ- मैले माइतीको मन बोलेँ।

मेरो कथा त एउटा फिल्म नै बन्छ, रुवाउने फिल्म तर कसले बनाउने र नि ! – ईशाराले भनेकी थिई।

हो बहिनी कथा साह्रै मन दुख्ने छ। फिल्म त म भन्न सक्दिन तर म तिम्रो कथा लेख्छु एकदिन। शायद धेरैले पढेर मन रुँदो हो- मैले भनेँ।

यसरी ईशाराको कथा सकिँदा हामी काठमाडौँको माथि आकाशमा पुगिसकेका थियौँ। प्लेनमा आरामले निदाएकाहरु बिउँझिन थालेका थिए। प्लेन छिट्टै अवतरण भयो र हामी एअरपोर्ट बाहिर निस्कियौँ। रात पर्न थालेको थियो, बत्तीहरु बिउँझीन थालेका थिए।

ईशारालाई भनेँ- आज हिँड मेरै घरमा जाम्।

हुन्न दाजु, आज सुरुमा त मैले भाइलाई भेट्नै पर्छ। ऊ बसेको कोठामै लाग्छु बरु भोलि हामी दुबै आउनेछौँ। फोन नम्बर दिइराख्नुहोस्- ईशारा बोली।

मैले पनि उनको कुरालाई काट्न सकिन। ल भोलि आऊ है त भन्दै म छुट्टिएँ।

***********
मुख धुँदै गर्दा बिहानै फोनको घन्टी बज्यो। अन्दाज गरे -ईशाराको हुनुपर्छ।

केही छिनमै बाबाले प्रमेशको फोन मेरो लागि होल्डमा भएको कुरा बताउनु भयो। मैले फोन ढिला नगरी उठाएँ।

हेलो, प्रमेश भन- दिदीसँग कति बजे आउँदै छौ ?

दाइ तपाईं अस्पातलमा चाँडै आउनु पर्‍यो। अचानक दिदीलाई हर्ट एटेक भयो। उहाँ अहिले वीर हस्पिटलको इमर्जेन्सी कक्षमा हुनुहुन्छ। म एक्लै छु, सहयोगको लागि फोन गरेको दाजु।

प्रमेशको हतास दुःखी स्वरमा यो सुनेर म तीन छक्क परेँ। मनमनै सोच आयो- ‘हे भगवान! यो सब के भइरहेछ।’

हतार मैले हस्पिटलको बाटो तताएँ। कस्तो नजाति संयोग, बाटोमा दुर्घटना परेर बाटै जाम। पछाडि फर्कने नि ठाउँ छैन, अघि जाउँ झन् केही उपाय छैन। म खुब भुत्भुतिएँ। बल्लतल्ल बाटो खुल्यो। अस्पताल पुग्दा समय ढिलो भइसकेछ। व्हिलचियरमा प्रमेश रोइरहेको थियो। उसको नजिकै ईशाराको लाश लडिरहेको थियो।

बोल्नलाई मसँग कुनै शब्द थिएन। हतार मैले प्रमेशलाई अङ्गालो हालेँ। प्रमेश ह्वाँ! ह्वाँ! गर्दै कहालिएर रुन थाल्यो।

जिन्दगी हाम्रो हातमा छैन प्रमेश! आफूलाई सम्हाल- मैले बोलेँ।

हाम्रो वरिपरी मान्छेहरु भेला भइसकेका थिए।

मैले मनमनमा प्रार्थना गरे – ‘ईशारा, तिम्रो आत्माले शान्ति पाओस्, गुडबाई! गुडबाई! ईशारा!’

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.