कथा : फेसबुक ग्रुपको फन्दामा

~शैलेश अधिकारी~

“याहू ! हे हे” असिमको खुशीको सीमा नै रहेन जब उसले त्यो चिठ्ठी पढ्यो। एकछिन टक्क रोकियो। यताउता पल्याक्पुलुक हेर्‍यो। अनि घरको मूलढोकातिर दगुर्‍यो।

“शीला !! शीला !!! ” भित्रबाट शीला ढोकाको सँघारमै आइपुगी। ” ओ …. धत्तेरिका ” उ टक्क रोकियो। अनायसै केही सम्झियो। माथिल्लो टुप्पोमा पुगेको उसको खुशीको पारो झर्दैझर्दै पिँधमै आइपुग्यो। अनुहारको भावमा एक्कै पटक बुझिने गरी परिवर्तन आयो। हाँस्नलाई तन्केका अनुहारका मांसपेशीहरु एकाएक खुम्चिए। अचानक उसको अनुहारमा ठूलो निराशाको बादल मडारियो। उ चुप रह्यो। केही बोल्न सकेन।

“हजुर किन एत्तिसारो आत्ति’सेको ! एकाबिहानै के भयो फेरि ?” अचम्म मान्दै शीलाले सोधी। असिम अक्मकायो। कुरा मोड्नु पर्ने भो। के गरुँ कसो गरुँ भयो। अघि भर्खरै बाहिरको मेलबक्सबाट ल्याएको जन्क मेलहरु मध्ये एउटामा झट्ट उसको आँखा गढ्यो। त्यही बिज्ञापन देखाउदै उसले भन्यो “हेर न अहिले वाल्मार्टमा केटाकेटीको लुगाहरुमा ५० % छुट रहेछ। यही बेलामा हामीलाई चाहिने जति किनी हाल्नुपर्छ है।” उसले शीलाको अनुहारमा हेर्‍यो। शीलालेले सारै सन्तुस्टिजनक जवाफ पाइन भन्ने बुझ्न उसलाई गाह्रो परेन। शीलाले अचम्म मान्दै उसलाई हेरी।

असिमले जुधाउन नसकेको आँखा भुँइतिर घुमायो। शीलाले एक नजर यो विज्ञापनमा हेरी, अनि उसको रातो भएको अनुहारमा हेर्दै भनी “हजुरको जानकारीको लागि यो विज्ञापन वाल्मार्टको हैन टार्गेटको हो। अनि अर्को कुरा हाम्रो घरमा कुनै बच्चा भएको मलाई थाहा भएन” “अहिले नभएर के भयो त ? अब हुन्छ नि त चाँडै । अनि ब्यवस्था गरिरा’नु परेन त ?” असिम लुसुक्क बेडरुमतिर मोडियो।
“खै के-के हुन्छ यो मान्छेलाई पनि बेला-बेलामा” शीलाको बोली उसले भित्रैबाट सुन्यो। त्यो चिठ्ठीहरुको थुप्रोबाट अघि भर्खर शीलासँग लुकाएको चाँही निकाल्यो। अनि सरक्क एउटा पुस्तकभित्र छिरायो। हातमा भएका अरु चिठ्ठीहरु बिस्तराको अर्को कुनामा हुर्‍याइदियो। चिट्ठी भएको पुस्तकलाई अरु पुस्तकहरुले छोप्यो। ओछ्यानमा लडेर मास्तिर शुन्यतामा आँखा गाडिरह्यो। फेरि जुरुक्क उठ्यो। अनि त्यो पुस्तक निकाल्यो। पुस्तकभित्रको चिठ्ठी तान्यो। चिठ्ठी पाउनेको नाम पढ्यो ए के शर्मा अनि ठेगाना उसैको थियो। नाममात्र फरक। “ए के शर्मा, समय भोलि बिहान ८ बजे, १०,००,००० अमेरिकी डलरको विजेता” लामो सास फेर्दै गुनगुनायो।

चिठ्ठी हेर्न छाडेर फेरि एकोहोरो टोलाइरह्यो। कोठाबाहिर शीलाको पद्चाप सुनियो। हत्तपत्त चिठ्ठी फेरि त्यही पुस्तकभित्र छिरायो, अनि पुस्तकलाई हातैमा समाइरह्यो।

“हैन ! एक्लै धुम्धुम्ती के गरी बसिसि’या भन्या ? सन्चो पो भएन कि ?” निधार छाम्दै शीलाले भनी। हातको पुस्तक खोस्दै फेरि थपी “हैन कत्ती पढिरा’नु पर्ने भनेको ? पढ्दापढ्दै पनि बिरामी होला जस्तो” मन नलागी नलागी उसले पुस्तकलाई आफ्नो हातबाट फुस्कन दियो। शीलाले पुस्तकको अगाडि पट्टी पल्टाएर नाम हेरी। “आइ लभ माइ वाइफ्” शीला मुसुक्क हाँसी अनि असिमको टाउको सुम्सुम्याउँदै निधारमा सुस्तरी चुम्बन गरी। असिम रुन्चे हान्सो हास्यो। शीला मेचमा असरल्ल छरिएका पुस्तकहरु मिलाएर बाहिर निस्की। शीलाले पुस्तकहरु मिलाउँदा उसको सवारी चालक प्रमाण पत्र उसको आँखामा पर्‍यो। असिम सिग्देल आँखाको रङ कालो, रौँको रङ कालो ठेगाना उही। त्यही चिठ्ठीमा भए जस्तै। एकछिनमा बाहिरतिर चिहाएर हेर्‍यो। कोही नदेखेपछि उसले फेरि पुस्तकबाट चिठ्ठी निकालेर सर्रर एकफेरो हेर्‍यो। खाम बाहिर पढ्यो। पाउनेमा ए के शर्मा अनि उसैको घरको ठेगाना। पठाउनेमा लेखिएको थियो – फेसबुक, १५६, युनिभर्सिटी एवेन्यु पालो अल्टो, क्यालिफोर्निया ९४३०१-१६०५। पत्र सामाजिक सन्जालका लागि प्रख्यात वेबसाइट फेसबुक डट कमको केन्द्रीय कार्यालयबाट आएको थियो।

जनयुद्धको मारमा परेर घर अनि बाबुआमाविहीन भएका बालबालिकाहरुको लागि एउटा अनाथालय खोल्नको लागि कोष सङ्कलन गर्ने क्रममा उनीहरुको भेट भएको थियो। नेपाल फर्केपछि एउटा अनाथालय खोलेर तिनै केटाकेटीको सेवामा जिन्दगी बिताउने शीलाको सोच थियो। त्यसकै सिलसिलामा आयोजना गरेको सांगीतिक कार्यक्रम पहिलो पल्ट शीलाले असिमलाई देखेकी थिइ। एक वर्षअघिको उनीहरुको भेट मायापिरतीको बाटो हुँदै बैवाहिक सम्बन्धसम्म पुगेको थियो। घरभित्रको कुरा दैव जानुन् तर साथीभाइ अनि नातागोताहरुको नजरमा खुशीका साथ बाँचिरहेका एक सुखी दम्पती थिए।

शीला बिस्तारामा भित्ता पट्टी पल्टिएर निदाउने प्रयास गर्दैछे। असिम पनि सरक्क चढयो। एउटा हातले शीलाको शिर खेलाउँदै अर्को हातले पाखुरा सुम्सुम्याउन थाल्यो। शीला अर्धनिन्द्रा मै मुसुक्क हाँस्दै सल्बलाई।

“तिमीलाई शायद थाहा छैन शीला ! मलाई आलुको पकौडा मन पर्दैन“ शीलाको पाखुरा खेलाउँदै असिमले भन्यो। ऊ फेरि हल्का मुस्कुराई। आँखाहरु अझै बन्द थिए। आज तेस्रो पटक थियो उसले भन्छु भन्छु भनेर पनि शीलालाई केही भन्न नसकेको। अघि साँझ सुत्न जानुअघि पनि एकपटक फेरि प्रयास गरेको थियो। तर शीला आफ्नै खुशीको संसारमा थिइ। उसको हात आफ्नो पेटमा राख्दै मुसुक्क हाँस्दै भनेकी थिइ “यो बेलामा नराम्रो सोच्नु, नराम्रो सुन्नु, नराम्रो भन्नु हुन्न रे“ अहिले फेरि उसले साहस् गर्‍यो। “निलो मलाई मन पर्ने रङ होइन“ शीलाले अब आँखा उघारी। असिम अटल भएर शून्यतामा हेरिरहेको थियो। अनि ऊ अझै बोलिरहेको थियो।

“म शाकाहारी हो तर मलाई कुखुराको फुल मन पर्छ।“ शीला अब जुरुक्क उठी। असिमको निधार छामी। “के के भनिरा’भन्या। हजुरलाई सञ्चै त छ ?“

“सारी बाहेक अरु लुगामा मैले तिमीलाई कहिले राम्री देखिनँ“ “ठिकै छ नि त ! तर किन आज अचानक ?“ शीला झस्की।
तिमीले हाँस्दा मेरो कुनै पनि दु:खब्यथाहरु भाग्दैन। तिमीलाई पहिलो पल्ट देखेको दिन मेरो जिन्दगीको सबैभन्दा खुशीको दिन पनि हैन“ “चुप“ शीला अब डराउन थाली। आफ्नो हातले उसको मुख थुनी। अनि बेस्मारी अङ्गालो मारी। “किन यस्तो कुरा गरेको ?“ तर असिम रोकिएन। ऊ उठ्यो, शीलाको विपरीत दिशातर्फ फर्किएर बस्यो। भुँइतिर नजर गाड्यो अनि अझ ठूलो स्वरमा बोल्दै गयो।

“तिमीसँग मेरो कुनै पनि बिचार, कुनै पनि सोचाइ ,रोजाइ, चाहना ,सपना केही मिल्दैन। सबै फरक छ। कहीँ कतै पनि छैन समानता।“ अब भने शीला साँच्चै नै डराइ। असिमको कुराहरुले स्तब्ध बनायो उसलाई। असिमले अझै पनि सकेको थिएन। ऊ अझै बोल्दै थियो “नेपालमा द्वन्दपीडित बालबालिकाको लालनपालन् शिक्षाको लागि तिमीले मरिमेटेर खोल्न लागेको अनाथालयप्रति मलाई कहिले पनि कुनै रुचि भएन। वास्तवमा केटाकेटी मलाई झ्याउ लाग्छ। कलेजको लाइब्रेरीमा पनि मेरो नोट्बूक तिम्रो बुकहरुमा मिस्सिएको हैन, तिमीसँग नजिक हुन मैले नै मिसाएको हो। जबर्जस्ती मन भई नभइ योजना मुताबिक नजिकिएँ म तिमीसँग” शीलाका आँखाहरु रसाए। आँशुलाई खस्न नदिन आँखाहरु यताउता चलमलाई।

“अनि…. अनि……“ रुन्चे हाँसोमा भनी “भन्नुस् न अरु पनि। सुनिरहन मन लाग्यो“ “हैन अझै कुरा बुझिनौ ? हाम्रो केही पनि मिल्दैन कहिले मिलेन“

“अनि….!“

“हामी एक अर्काको लागि जन्मिएकै हैन क्या। विपरीत ग्रहबाट झरेका प्राणी जस्ता हौँ हामी। मेरो तिमीसँग केही मिल्दैन। तिमी मेरो रोजाइ हैन न त चाहना नै। मैले खोजेको जस्तो केटी नै हैन तिमी के“

“अनि….! ठिकै छ नि त हजुर ! मलाई हजुरको इमान्दारिता झन मन पर्‍यो। हजुरप्रति मेरो माया झन् बढेर आउने छ। मन खोल्नुस्। हजुरले मन नपराए के भो र मैले त मन पराएको हो नि।” स्थितिलाई सम्हाल्न खोज्दै शीलाले भनी।

“सबै कुरा योजना थियो, तिमीसँगको मायाप्रीति विवाह सबै कुरा। म तिम्रो अपराधी हुँ। म पापी हुँ। मैले तिमीलाई बिहे गरेर पाप गरेको छु। मेरो आफ्नो लक्ष्य प्राप्तिको लागि तिमीलाई प्रयोग गरेँ“

“हजुर पापी अपराधी जे भए पनि म हजुरलाई माया गर्छु। हजुर जे हुनुहुन्छ मेरो लागि पर्याप्त छ“शीलालाई अझै पनि स्थिति सम्हाल्न सक्छु भने विश्वाश थियो। असिमले केही बेर शीलाको मुहारमा हेरिरह्यो, अनि उठेर अर्को कोठामा गयो। फर्केर आउँदा उसको हातमा त्यही चिठ्ठी थियो। त्यो चिठ्ठी शीलालाई दिँदै भन्यो “ल यो पढ ! ”

चिठ्ठी आफ्नो हातमा लिएर सर्रर पढी अनि भनी “ यो के हो ? मैले केही कुरै बुझ्न सकिन। हजुर मसँग के खेल खेल्दै होइसिन्छ। किन सबै कुरा स्पस्ट भन्नु हुन्न ?” उसले केही नभनी कम्प्युटर खोल्यो। फेसबुकमा लग इन गर्‍यो अनि सर्च गरेर एउटा ग्रुपभित्र छिर्‍यो। शीलाले माउस समाइ। सर्रर त्यो ग्रुपमा भएको कुराहरु हेरी। वालमा लेखिएका कुराहरु पढी, त्यसको सदस्यहरुको नाम सबै हेरी। उनी चकित् भइन्। आस्चर्यले उनका आँखाहरु ठूलाठूला भए। सबै थिए त्यहाँ। शीलाले त्यहाँ आफ्ना सबै नातेदारहरु देखी। काका ,मामा, फुपुको छोरा, मनोहर दाइ , नरेन्द्रजी, कमल चौधरी ,कैलाशचन्द्र उपाध्याय, मदन सार्की, किशन मन्डल अनि अरु छिमेकीहरु, अफिसका मान्छेहरु, शपिङ मलमा भेटिएकाहरु, कर्मचारी, नेता, ब्यापारीहरु, शिक्षकहरु, उद्योगपतिहरु, भुटानको भोटेदेखि भेनेजुएलाको स्टेसन म्यानेजर, चाइनाको कराते प्रशिक्षकदेखि चिलीको सुन ब्यापारी, अरबको सुल्तानदेखि तमिल टाइगर्सको गुरिल्ला, सोमालियाको भोक नाङ्गाहरु, एसिया, युरोप अमेरिका, अफ्रिका सबैतिरका लाखौँ लाखमा मानिसहरु। अनि उनीहरुका अनेकौ पोस्टिङ्हरु। सबैले आफ्नो तिक्तता पोखेका थिए त्यो ग्रुपको वालमा। सबै जनाले मन शान्त हुने गरी मन खोलेर आफ्ना कुराहरु पोखेका थिए। आफ्नो दुखेसो ब्यक्त गरेका थिए। घन्टौँ लगाइ शीलाले। सकेसम्म सबै पढी, सबै हेरी। फेरि अघिको चिठ्ठी पढी।

“आखिर यहाँ भै’राछ के हजुर ? अनि के हो यो ? को हो यो ग्रुप बनाउने? छ्या कतिसम्मको पतित मान्छे रहेछ। को हो त्यो ए के शर्मा ? अनि उसले पुरस्कार जितेको रे तर यो पत्र हाम्रो ठेगानामा कसरी ?“

शंकास्पद नजरले हेर्दै सोधी। असिमले लामो सास फेर्‍यो अनि भन्यो। “ त्यो ग्रुप बनाउने ए के शर्मा हो। यो ग्रुप उसैले बनाएको हो। फेसबुकमा सबैभन्दा बढी सदस्य बनाउन सफल भएकोले त्यो पुरस्कार पनि उसैले जितेको हो। अनि … अनि …”

“अनि ?“

“सबै कुरा त अब छर्लङ भैसक्यो नि”

“म हजुरको मुखबाट सुन्न चाहन्छु”

“त्यो ए के शर्मा अरु कोही हैन म नै हुँ। त्यहाँ पोखेका भावनाहरु सबै मेरा हुन्। जे जति तितो पोखेको छु जे जति वेदना दु:ख अनि विरत्तता पोखेको छु सबै नितान्त मेरा आफ्नै हुन्।“ शीलाले उसको मुखमा हेरी। असिमले आँखा जुधाउन सकेन। अनि शीलाले फेरि कम्प्युटरतर्फ मुन्टो घुमाइ। फेरि मन नलागी नलागी मनिटरको सबै कुनाकुनामा आँखा दौडाइ। माथिपट्टी उसको आँखा अडियो। त्यहाँ ग्रुपको नाम लेखेको थियो। अनि शीलाले त्यो ग्रुपको नाम पढी। त्यहाँ लेखिएको थियो “आई हेट माइ वाइफ“।

मौनतामा धेरै घण्टाहरु बिते। झ्यालको फुटेको शिशाको बाटो एक टुक्रा घामकोठाभित्र छिर्‍यो। शीला अझै भुइँमा बसिरहेकी थिइ। असिम पनि थचक्क बस्यो।

“तिमीलाई थाहै छ म कम्प्युटरको कीरा थिएँ। एक दिन फेसबुक चलाउँदै गर्दा त्यहाँ ग्रुपहरुको प्रतिस्पर्धा आयोजना गरेको थाहा पाएँ। गएको डिसेम्बर १४ सम्ममा सबैभन्दा बढी सदस्य बनाउन सक्ने ग्रुपलाई १०,००,००० अमेरिकी डलरको पुरस्कार घोषणा गरिएको थियो। “शीला एकोहोरो भित्तातिर हेरेर सुनिरहेकी थिइ। ऊ बोल्दै गयो।

“शुरुमा जिस्केर यो ग्रुप खोलेपछि सदस्यहरु बढ्दै गए। म अझ उत्साहित् हुँदै गए। मलाई विजेता हुने रहर बढ्दै गयो। यसमा निक्कै नै गम्भीर हुन थालेँ। धेरै भन्दा धेरै मान्छेले मन पराउने बनाउनलाई मैले मान्छेको मुटु छुने खालका कुराहरु लेख्नु पर्थ्यो। विशेष गरी आफ्नी श्रीमतिप्रति नकारात्मक धारणाहरु, खराब जीवन सङ्गिनीका कारण ध्वस्त भएको सुखद् दाम्पत्य जीवनका सपनाहरु, श्रीमतिका कारण पाएका दु:ख वेदना चोटहरु लेख्नु जरुरी थियो। जत्ति लेख्नुपर्ने लेखे त केही समयपछि मलाई लेख्नुपर्ने शब्दहरुको कमि महसुस हुन थाल्यो। मैले स्वयम् आफैले खराब बैवाहिक सम्बन्धबाट सिर्जित त्यो वास्तविक पीडाको महसुस नगरेसम्म मान्छेहरुको मन-मुटु छुन सकुँला जस्तो लागेन।

हो मेरो लेखहरु त्यत्ति सशक्त नहुने भए। म हार खप्नु पर्ने डरले विचलित भएँ। तर म हार्न चाहन्न थिएँ शीला। शीलाका आँखाबाट आँसु अविरल बगिरहे। तर पनि अनुहार भने अविचलित अनि संयमित देखिन्थ्यो। उनको अनुहारले दया करुणा मागिरहेको थिएन, बरु हिम्मत साहस अनि विद्रोहको भाव झल्काइरहेको थियो।

“अनि आफ्नो चाहना, मन, रोजाइ कहीँ पनि कतै पनि केही पनि नमिल्ने मन नै नपरेकी मसँग नजिकिन थाल्नुभयो।“ असिम् चुप भयो। शीला फेरि बोली “मलाई नक्कली माया देखाएर बिहे गरेर अनि मसँग जीवन बिताउनुको पीडाहरु त्यसमा लेख्न थाल्नु भयो“ असिमले निरर्थक हो भन्ने जान्दाजान्दै पनि उनलाई सम्झाउने प्रयास गर्‍यो।

“हेर शीला ! जिन्दगीमा सबै कुरा पैसा नै हो। पैसा भए जिन्दगीमा सुख शान्ती सबै पाइन्छ। पैसा भए जिन्दगी आरामदायी हुन्छ। सबैले पैसैको पूजा गर्छन् शीला। धनी कै पछि लाग्छ उसैको कुरो सुन्छ यो संसारले”

“बस हजुर बस ! भयो धेरै भयो ! कति खुशी थिएँ म मेरो जिन्दगीदेखि। तर आज थाहा भयो मेरो जिन्दगीको खुशीको बास्तविक रुप। म त पानीको फोका मै रमाएछु। इन्टरनेटको एउटा प्रतियोगिता जित्नको लागि प्रयोग भएकी मात्र रहेछु। त्यो मायाप्रेम त जालमात्र रहेछ। हजुरको कथित खेलको एउटा गोटीमात्र बनेकी रहेछु“

“किन मुर्ख बन्छौ शीला ? अब हामी सँग के छैन। सबै कुरा छ। तिमी म अनि हाम्रो बाल बच्चा सुख का साथ बाँच्न सक्छौ। हो मैले गल्ती गरे तिम्रो बारेमा भएका नभएका, तिम्रो कारणले मैले भोगेका नभोगेका, अनेकै तनाबहरु, बित्रिस्णाहरु, बिरक्तताहरु अनि अरु पनि धेरै धेरै नराम्रा कुराहरु लेखिरहेँ लेखिरहेँ।” असिमले सम्हालिदै बोल्यो। “हेर जे होस् , अब हामी सँग प्रसस्त रुपैया छ। बिर्सिदेउ सबै पुराना कुराहरु। सबै कुरा बिर्सेंर अब नयाँ सुखै सुखले भरिएको आराम्दायी जीवन बिताउ।” “पुरानो कुरा हजुरको लागि तर मेरो लागि नितान्त नयाँ कुरा हो यो। मेरो ब्यक्तिगत् गृहस्थी जीवनलाई दुनियाको अघि छरपस्ट पारेर बजारमा बेचेर पाएको पैसाले म मेरो कुन् खुशी किन्न जाउँ हजुर्? मेरो खुसी त हजुरको मायामा थियो जुन हजुरले कहिले बुझ्नु भएन।

अनि अब हजुरबाट बुझ्ने अपेक्षा पनि राख्दिन म।” दराजमाथिको सुट्केश् तानेर बिस्तारामा राख्दै अझै कडा स्वरमा बोल्दै गइ।” धमाधम् आफूलाइ चाहिने लुगा कपडाहरु सुट्केशमा कोची। “हजुरले यो मुटु भरी दिएको घाउ बिसेक बनाउन त्यो पैसाले म कुन मल्हम किनुँ?” सुट्केश् बन्द गरी ,एक्छिन् भित्तातिर हेरेर लामो सास फेरि अनि केही सम्झे जस्तो गर्दै भनि “साँच्ची पुरस्कार जितेकोमा हार्दिक बधाई।” आफ्नो बगिरहेको आँशु पुछी।

“हजुरले म अनि मेरोकोखमा भएको भावी सन्तान प्रती अब कुनै पनि अधिकार्, सरोकार् अनि कुनै पनि खाले सम्बन्ध स्थापित गर्ने प्रयास्मात्रा पनि गर्नु हुने छैन भन्ने आशा गर्दछु। हजुर त्यही पैसा सँग बस्नुस्। मन परेकी बिहे गर्नुस्। हजुरको सुखी जिन्दगीको म सधैं कामना गरी रहने छु“

असिम्ले कत्ती सम्झायो। शीलाले उसको एक सुनिन। त्यो बिहान उसले घर छोडी।

आजै पुरस्कार थाप्न जाने दिन् , आजै शीलाले घर छाडी। बिहानै ८ बजे पुगिसक्नु पर्ने हो। घडीले बिहानको ६ बजाइ सक्यो तर उसको शरीरमा जोश जाँगर् केही छैन। मन अमिलो भएको छ। यतिका कुरा गुमाएर, यती धेरै बलिदान, लगाब मेहनत अनि त्याग पछी बल्ल प्राप्त गरेको सफलताको मिठो फल चाख्ने बेला भएको थियो। आज त्यही दिन् थियो जस्को उ धेरै धेरै दिन् देखी प्रतिक्षारत थियो। यो अवसरलाई खेर जन दिने कसरी ? उ बाथरुम पस्यो। उसको दिमागमा शीला का कुराहरु अनि गोलो गोलो डल्लो डल्लो परेको कालो बर्णको अनुहार झल्झली छाइरहेको थियो। दिमाग भरी उसैका कुराहरु नाची रहेछन। शीला सँग बिताएका राम्रा नराम्रा पलहरु चलचित्र झै उसको आँखा अघी दौडी रहेछन। बाथरुम बाट निस्केरकोठा तिर पस्यो। दराज खोल्यो। उस्का सबै लुगाहरु इस्त्री गरेर ह्याङ्लरमा झुन्डाइएका थिए। जतन का साथ मिलाएर पट्याइएका थिए। उसले केही बेर सबै लुगा निहार्‍यो। “हजुरलाई यो निलो सर्टमा कलेजी टाइ खुब सुहाउछ” शीलाले भनेको सम्झियो। निलो सर्ट अनि कलेजी टाइ नै झिकेर लगायो।

भित्ताको घडीमा हेर्‍यो। घडीमा बिहानको ७ बज्न लागेको थियो।

शीलालाई फोन गर्‍यो। बोलिरहयो सम्झाइरहयो। शीलाले सुनिमात्र रही एक शब्द पनि फर्काइन। उसैले फोन काटी। फेरि पनि बोल्नलाई धेरैपल्ट कल गर्‍यो तर त्यसपछी शीलाले फोन उठाइन। मेचमा भएको चिठ्ठी टिप्यो अनि कोट्को खल्तीमा हाल्यो। ऐना हेर्‍यो। निधारको कालो दागमा उसको आँखा पर्‍यो। छ महिनाअघि रुखबाट लड्दा घाउ भएको थियो। शीलाले कत्ती धेरै स्याहार सुसार गरेकी थिइ। घाउ निको नहुन्जेल हरेक दिन् सैयौ पटक चुम्बन गर्थी। केही सम्झेछ उसले , अलिकली मुस्कुरायो। घडी हेर्‍यो। उसलाई अबेर भई सकेको थियो। चिठी फेरि निकालेर हेर्‍यो। खल्तीमा हाल्यो। गाडी निकालेर मुख्य सडक् तीर हान्नियो। अलिक पर पुगेपछि त्यो मुख्य सडक् दुइटा बाटोमा छुट्टिएको थियो। एउटा बाटो पुरस्कार् थाप्न जानु पर्ने होटेल जान्थ्यो भने अर्को बाटो शीला बसेको उनको आमाको घर। गाडी टक्क रोक्यो। यता हेर्‍यो उता हेर्‍यो। उसले ठुलो तनावमा पायो आफुलाई। निधारमा चट् चट् पसिना आयो। गाडीको एक्सिलेरेटर जोडले दबायो। गाडीले ठुलो आवाज् गर्दै धुँवा र धुलोको मुस्लो फाल्यो। कही कतै केही नदेखिने गरी धुँवा र धुलोको बादल मडारियो। गाडीको आवाज झन झन बढ्दै थियो। केही पछि मधुरो बतासले त्यो सबै धुलो धुँवा उडाउदै लग्यो। द्रिस्य छर्लङ देखेने गरी खुल्दै गयो। त्यहा कुनै गाडीको आवाज सुनिएन। नत गाडी नै कतै देखियो। बरु पर परमाथि आकाशमा त्यही चिठ्ठीको टुक्राहरु भने यत्र तत्र उडिरहेको थियो।

– क्यालिफोर्निया, अमेरिका

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.