~जगन्नाथ दाहाल~
घरमा छ धारा हजुर ! आउदैन पानी
घन्टौसम्म कुर्नुपर्छ आँखा तानी-तानी !!
सगरमाथा शिर हाम्रो हिमचुली टोपी
पानी छैन भन्नुपर्छ त्यही मुख छोपी
ओठ-मुख सुकेको छ नपाएर पानी
घरमा छ धारा हजुर ! आउदैन पानी!!
शहरमा बिक्छ यहाँ बोतलको पानी
काकाकुल बनेको छ हाम्रो राजधानी
प्यास मेट्नु प्युनु पर्छ किनी-किनी पानी
घरमा छ धारा हजुर ! आउदैन पानी!!
तेलभन्दा महँगो छ शहरमा पानी
किनी-किनी खाने हामी कति भाग्यमानी ?
बाध्यभई किन्नुपर्छ बोतलको पानी
घरमा छ धारा हजुर ! आउदैन पानी!!
मरुभूमिजस्तो भयो हाम्रो देश आज
प्युने पानी छैन भन्दा लाग्छ किन लाज ?
प्यासलागे कोका-कोला पिए हुन्छ तानी
घरमा छ धारा हजुर ! आउदैन पानी!!
जलस्रोतको धनि देश बिस्वकै हो नामी
सहस्र छ नदि तर चातकझैँ हामी
च्यापु-घाटी सुकेको छ नभएर पानी
घरमा छ धारा हजुर ! आउदैन पानी!
पानी लिन जानुपर्छ चारकोश टाढा
चारघण्टा कुर्नुपर्छ लामबध्द भाडा
नियति त यो होइन देशमारा बनि
घरमा छ धारा हजुर ! आउदैन पानी!
पानीभित्र माछो प्यासो भएजस्तै हामी
जलस्रोत कुबेर नै भए पनि नामी
पनि खोज्न भौतारिनछौ भनि पानी-पानी
घरमा छ धारा हजुर ! आउदैन पानी!!
©जगन्नाथ दाहाल
पुष्पान्जली गीत-कविता संग्रह – २०६२
ISBN 99946-35-59-X