संस्मरण : सत्यजितको संसार

~प्रकाश सायमी~Prakash Sayami

बम्बई आजको मुम्बई होइन ।

त्यहीँ मैले पहिलोपटक भेटेको थिएँ, नवेन्दु दा । पूरा नामथर नवेन्दु घोष । उनी सिनेमा लेख्थे, सिनेमालाई कथाको ढाँचामा पटकथामा रूपान्तरित गर्थे तर धीमा स्वरमा साना–साना कुरा भन्थे, जुन बुझ्दा ठूलो लाग्थ्यो ।

बम्बईको होटलको सिरकको अपेक्षाकृत विशाल वातानुकूलित स्टुडियोमा नवेन्दु घोषसित वासुदा (वासु भट्टाचार्य)ले चिनाइदिएका थिए, यसो भन्दै, ‘मानुष । वैष्णवो जानबो ।’

बंगालीमा मैले नबुझेको अविस् मृत त्यस संवादको सारसंक्षेप यो मान्छे कविता पनि गर्दो रै’छ भनिएको होला भन्ने बुझ्छु ।

नवेन्दु दा त्यतिबेला वासु भट्टाचार्य निर्देशित पञ्चवटीमा संवाद लेख्दै थिए र चलचित्रमै उनले कर्मसिद्धि गुरुज्यू नामक एक प्रौढ पात्रको भूमिका पनि निर्वाह गर्दै थिए । म त्यस चलचित्रका निम्ति वासुदाको सहायक थिएँ, त्यसपछि नवेन्दुदासँग हिन्दी संवाद नेपालीमा अनुवाद गर्ने कामको भार पर्‍यो मलाई ।

वासुदाको सौभाग्यले नवेन्दुदासँग १५–१६ दिन मैले सँगै बसेर काम गरेँ । विमल राय, ऋषिकेश मुखर्जी, सलील चौधरी, असित सेन, सत्यजित रेसित काम गरिसकेका नवेन्दुदा पछि आफँै चलचित्र निर्देशक पनि भए, तृषाग्निमा ।

सन् १९८५ को डिसेम्बर २० भन्दाअघिको त्यो १५ दिन मेरानिम्ति सत्यजितमय हुन गयो । उनले सत्यजित रेका बारे यति धेरै जानकारी र गोप्य कुरा मलाई पोखे, मेरानिम्ति ती विश्वविद्यालयीय पाठभन्दा कम थिएन ।

नवेन्दुदा सत्यजित रेसँग कति नजिक, कति टाढा थिए ? तर, सत्यजित रे कहाँ, कता के गर्दैछन् सब जानकारी उनी राख्थे ।

बम्बईमा सत्यजित रे एउटा हिन्दी सिरियलको छायांकन गर्न आउने कुरा उनले मलाई त्यतिबेला सुनाए, जतिबेला हामी पञ्चवटीको प्याचवर्क गर्दै थियौँ ।

स्मिता पाटिलले अभिनय गर्ने त्यो सिरियल मुम्बईमा छायांकन भएन बरू सत्यजित रे काठमाडौँ गएछन्, किस्सा काठमान्डूकाको सुटिङ गर्न ।

त्यही वर्षको २६ डिसेम्बरतिर काठमाडौँबाट रेले नवेन्दुदालाई एउटा टेलिग्राम पठाए, स्मिता पाटिलको दु:खद निधनमा शोक व्यक्त गर्दै ।

सत्यजित रे किस्सा काठमान्डूकाको सुटिङ गर्न दोस्रोपटक काठमाडौँ गएका थिए । चलचित्र संस्थानको आँगनमा पहिलोपटकको सुटिङमा मेरो मधूर मिलन भएको थियो उनीसँग ।

पहिलोपटक सुटिङ गर्न आउँदा उनलाई चेतन कार्की, हरिहर शर्मा, उज्ज्वलकुन्दन ज्यापू आदिले निकै सहयोग गरेका थिए । तर, त्यसबेलाको सहयोग र स्नेह प्राविधिक कारण काम नलाग्ने भएपछि उनले चलचित्र संस्थानलाई मुद्दा हाले, आफूलाई बिग्रेको क्यामरा प्रयोग गर्न दियो भनेर ।

यसपछि चलचित्र संस्थानले उनलाई क्षतिपूर्ति तिर्नुपर्‍यो, करिब ५६ लाख रुपियाँ । संस्थानसित मिलेर एउटा फिल्म बनाउने उनको र संस्थानको यो सपना ध्वस्त भएपछि नै पञ्चवटीको तयारी भएको हो ।

रेले नेपालीमा सिनेमा बनाएनन् तर नेपालीसित धेरै काम गरे, विशेषत: भारतीय नेपाली र भारतमा भास्सिएका यहाँका पुराना सम्भ्रान्त नेपालीसित ।

मेरो पहिलो चलचित्र पृथ्वीको गीतिएल्बम विमोचनमा प्रमुख अतिथि भएर आउँदा भरतशमशेर जबराले रेसित कसरी सिनेमा बनाए भनेर आफ्नो अनुभव सुनाएको म अझै पनि सम्झिन्छु । सन् १९७१ मा चित्राञ्जलीका निम्ति भरतशमशेरले सीमाबद्ध नामक सिनेमा उनीसित बनाएका थिए ।

शंकर लामिछानेको उपन्यास सीमाबद्धमा आधारित यस फिल्ममा वरुण चन्दा र शर्मिला टैगोरले उत्कृष्ट अभिनय गरेका थिए । यसपछि भरतशमशेर र सत्यजित रेले कुनै फिल्म बनाएनन् ।

सत्यजित रेको नेपाल र नेपालीसँग लगाव अरू धेरै कारणले पनि छ, उनले काठमाडौँमाथि कैयन् कथा लेखे । उनले नेपाली धेरै भएको ठाउँ दार्जीलिङ गएर कञ्चनजंघा (सन् १९६२) सुटिङ गरे । उनले नेपालीकै सहयोगमा सिक्किमका अन्तिम राजा छोग्यालको लगानीमा सिक्किम (१९७१) को छायांकन गरे ।
कञ्चनजंघाका बारेमा धेरै तारतम्य प्रसंगमा गोपाल योञ्जन पनि जोडिन्छन् । संगीतकार योञ्जनलाई यस चलचित्रमा रेले सुरुको भागमा बाँसुरी बजाउन लगाएका थिए भनिन्छ । तर, पर्दामा उनको नाम छैन, आलोक डेको नाम पढ्न पाइन्छ ।

बरू, सत्यजित रेले काठमाडौँ आउँदा कञ्चनजंघाको बालपात्र त्यो गुरुङ केटो कसरी छानियो भन्ने सुनाए, म र मेरा साथी वीरेन्द्र श्रेष्ठलाई ।

वीरेन्द्र श्रेष्ठ पेसाले पत्रकार भए पनि उनमा गायनको नशा थियो, उनका दाजु अरुण थापाले गर्दा । उनले सत्यजित रेसितको पहिलो भेटमा केही नेपाली लोकगीत पनि सुनाएका थिए ।

किस्सा काठमान्डूकाको पहिलो एपिसोडको छायांकनका बेला हामी तीन जना भेट्न गएका थियौँ, वीरेन, सुमित्रा राई र म ।

त्यो भेट आधा घन्टाको थियो र त्यही दिन रे महोदय कोलकाता उड्दै थिए । रे महोदयसित यसपछि अर्को भेट कोलकाताको मारोलोक स् टुडियोमा भयो, जहाँ गणशत्रुको छायांकन गर्दागर्दै उनलाई हर्टअट्याक भयो । यो सन् १९८९ को कुरा हो । यसपछि उनी धेरै वर्ष सिनेमामा फर्किएनन् । पछि उनले शाखा–प्रशाखा र आगन्तुक बनाए ।

भारतीय फिल्म उद्योगका पाँच अग्ला मान्छेमध्ये रे पनि एक थिए, जो सन् १९९२ मा कोलकाताको केएमसी अस्पतालमा ढले । सोही अस्पतालमा उनले ओस् कार पुरस् कार समारोह समितिका तर्फबाट दिइएको विशेष लाइफ टाइम अचिभमेन्ट अवार्ड ग्रहण गरे । इतिहास उनका निमित्त घडीको चक्रमा उल्टो घुम्यो । सन् १९५६ मा उनले पहिलो फिल्म पाथेर पाञ्चालीका निम्ति क्यान्स फिल्म फेस्टिभलबाट वेस्ट ह्युमन डकुमेन्ट्री अवार्ड पाएका थिए ।

इतिहासको यस चरणमा ओस्कार पुरस्कार समारोह स्थल छोडेर बाहिर आएको यो पहिलो घटना थियो । सायद यस्तो उच्चाकर्षणको पुरस्कार दक्षिण एसियाली भूमिसम्म आइपुगेको यो घटना लगभग पहिलो थियो र अहिलेसम्म पहिलो नै मानिदै आएको छ ।

यसको पाँच वर्षपछि मैले रेलाई समर्पित गरेर रेमाथि एउटा पुस्तक प्रकाशन गरेँ, जसको नाम थियो रे : द म्यान अफ सिनेमा । लेखकीय रूपमा यो मेरो पहिलो आंग्ला भाषाको किताब थियो ।

डापा पब्लिकेसनबाट प्रकाशित यो पुस्तक रेप्रति मेरो श्रद्धाञ्जलि थियो । पुस्तक तयार पार्दा मैले कैयन् सर्जक, कलाकारसित भेटेँ, कैयन्सँग फोनमा कुराकानी गरेँ । धेरै तथ्य पुस्तकहरूबाट लिएँ । यही पुस्तक तयार पार्दा अभिनेत्री अपर्णा सेनले भनेकी थिइन्, ‘सिनेमाले हामीले गरेको गल्तीलाई झन् ठूलो देखाउँछ । मणिकाकाको सिनेमामा त्यो थिएन ।’

चलचित्र पत्रकार चिदानन्द दास गुप्ताकी छोरी अपर्णा सत्यजित रेलाई मणिकाका भन्थिन्, ‘सत्यजित रेलाई बंगाली मूलका धेरै वन्धुवान्धवहरू माणिकबाबू भन्न मन पराउँथे । नवेन्दुदा पनि माणिकबाबो भन्थे, हाम्रा भरतशमशेर प्रेमले माणिकदा भन्थे ।’

ती माणिकदाप्रति समर्पित भएर पहिलोपटक काठमाडौँमा सत्यजित रे फिल्म महोत्सव भयो, सन् २००५ मा । ललितपुरको यलमाया केन्द्रमा आयोजित यस फिल्म महोत्सवका आयोजक रेशु अर्यालका तर्फबाट महोत्सव मन्तव्य राखिदिन आग्रह गर्दा मैले स्पष्ट रूपमा भनेको थिएँ, “सिनेमा दुई कारणले बन्दछन्, एउटा बनिबनाउ दुनियाँका निम्ति र अर्को नयाँ बन्दै गरेको दुनियाँका निम्ति । सत्यजितका निम्ति यी दुवै जगत् उपलब्ध थिएनन् र उनले अर्को नयाँ दुनियाँ बनाए, जसलाई सत्यजित रेको संसार भन्न सकिन्छ, जहाँ उनले सबै कुरा स्कुलमा सिकेजस्तो सिके । कतिपय मानिस फिल्म स्कुलमा गएर फिल्म पढ्छन् र सिक्छन् तर मेरा निम्ति सत्यजित आफैँ एक स्कुल हुन्, फरक यत्ति छ । यही फरक छुट्याउन हामी यो जगत्मा आउने हो भने सिनेमा हाम्रा लागि नयाँ विधा हो, नत्र यी सारा सूत्र पुरानै हुन् ।”

सत्यजित रेसित मेरो भेट केही केही कारणले महत्त्वपूर्ण होला तर सत्यजित रे मेरालागि विशेष अर्थपूर्ण बनाइदिए, मेरा आदरणीय गुरु बासु भट्टाचार्यले अनि उनकै छायामा भेटिएका आदरणीय नवेन्दु घोषले । नवेन्दुदाले चिनाइदिएको सत्यजित रेको संसार मेरा निमित्त अपार छ, अपार ।

प्रकाशित: माघ २०, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.