~ज्ञानेन्द्र स्थापित~
समुन्द्रका छाल झैँ उद्वेलित् मेरो यो मन
अग्लिएर पनि होचींदै गएका मेरा भाबनाहरु
धरतीमा होइन आकाशमा टेक्न पुग्छ
यथार्थ छोडेर सपनामा बाँच्न खोज्छ !
प्रत्येक लहरसंगै जन्मिने मेरा आकांक्षाहरु
यथार्थ र भाबनाको थिचाईमा
बल्झीदिन्छ, निसासिन्छ
अनि समयको जाल भित्र बिस्तारै हराईदिन्छ !
मुटु भरी बलिरहेको यो आगो ले
आफुलाई नै जलाईदिन्छ, डढाईदिन्छ
सपनालाई बिपनाको धरातलमा पछारेर
खरानी खरानी पारिदिन्छ !
आफु भित्र कोचिएका उकुशमुकुश चेतनाले
गुम्सेर, कुहिएर
मेरो “म” लाई नै खोक्रो बनाई दिन्छ
अनि मेरो सबै इच्छा आकांक्षाहरुलाई
बाक्लो तुँवालोले ढाकिदिन्छ !
अनि भोलि, सुन्दर भोलिको प्रतिक्षामा
मेरो यो आज, मेरो यो वर्तमान
एकैपल्ट अतित भै दिन्छ !
2 May 2010
(स्रोत : रचनाकारको ब्लगबाट सभार)