~प्रकाश के.सी.~
समयले, मानिसको बाँच्ने समयलाई मात्रै परिभाषित गर्दैन, उक्त अवधिमा मानिसले भोगेको भोगलाई पनि परिभाषित गर्दछ । तर यो अर्को कुरा हो कि, जीवनमा वर्षहरु थपिँदै जाँदा भने मानिसका अनुभवले बनाएको अनेकौँ विद्धताहरुमा परिभाषाले तदनुरुप नै विविधता लिने गर्दछ । कतियौँ उस्तै जानकारीहरु, अनुभवहरु तथा सम्झनाहरु अमिट भई मस्तिष्कमा रहन्छन् भने कतिलाई बल गर्नु पर्ने हुन्छ, अलिकति सम्झनको लागि पनि । थर्टी प्लस भनेको खासगरी नेपाली बुझाइमा अन्त्यको ढलानतिर लम्कँदो जीवन हो, यही यस्तो विन्दु हो जहाँ पुगेपछि मात्र नै बिताइएका पलहरु र बिताइने पलहरुका बारे फेरि फेरि दोहोर्याएर सोँच्ने गरिन्छ र सम्भवतः त्यसैले मलाई अक्सर आफ्ना अतीतहरु खोतल्न मन यतिखेर ज्यादा लागिरहेको छ । हुन त जीवनमा गरिएका गल्तीहरुका लागि, वर्तमानमा चुक्चुक्याउनु भनेको यही वर्तमानलाई पनि भविष्यमा चुक्चुक्याउनको लागि लायक पार्नु हो, तर कहिलेकाहिँ उनै गल्तीहरुलाई नै दोहोर्याई दोहोर्याई सम्झन मन लाग्दछ, किनकि, त्यतिखेरको पोइन्ट अफ भ्यूमा ती गल्तीहरु, गल्ती हुँदैनन् पक्कै नै र सोही स्थितिमै तिनलाई सम्झनुमा नै तत्कालीन समयको यादलाई ताजा गर्नु लाग्छ, खासगरी यो बेला, जब लागेको छैन कि गर्नु पर्ने वाँकी छ, या गर्न सकिने वाँकी छ जीवनमा ।
“तिम्रो गुच्चा कतिवटा थियो प्रकाश ?”-माया मिसले आफ्नो क्वाटर तथा भाडामा लिइएको गोपी माझीको घरको पर्खालमा बसेर सोधेकिथिईन्, जुन अहिलेसम्म स्पष्टसँगै सम्झने गरेको छु, अर्थात बिर्सेको छैन । धादिङ जिल्लाको आदमटार नामको सानो शान्त गाउँको कुरा हो यो । म तीन कक्षामा पढ्दथेँ त्यतिबेला । त्रिशुली नदीको नजिकैको सानो गाउँ, आदमटार, लक्षु, राममणि, भरत, राजु, सिताराम, कृष्ण, राजन, ठूले आदि जस्ता दर्जनौँ साथीहरुले गुल्जार भएर ठूलो भएको गाउँ आदमटार अहिले पनि उही स्वरुपमै सम्झनामा आइदिन्छ । देवीथानबाट मूलबाटो हुँदै तलतिर लश्करै हामी गुडगुडे गुडाउँदै हिँड्थ्यौँ । साँझपख बास बस्ने सारौ, गौँथली, ढुकुर, जुरेली आदि-इत्यादि चराहरुका नजिकैका काप्रोका रुखहरु, केराका बोटहरु, आँपका बोटहरुबाट आइरहने चिरबिरचिरबिर आवाज, चीसो सिरेटोको स्याइँ स्याँइ तथा धानबालीको मीठो वास्नाको गन्थले खासगरी हामीलाई सँसारको सुखको अनुभव दिन्थ्यो । खेल्नु नै जीवनकै एक मात्र लक्ष्य भएकाजस्ता लाग्ने केटाहरुका बथानमा, दाहिनेतर्फ झुरुप्प भएर बसेको गाउँतिर जाने बाटोबाट, खासगरी साँझतिर खाने पानी बोकेर आउने आइमाइहरुका समूहलाई छक्याएर गुडगुडे गुडाउनमा सबै केटाहरु आन्नद मान्दथे । मैले त्यतिखेर पानीको पाइपलाई घुमाएर बनाएको ठूलो खालको गुडगुडे गुडाउँथेँ, जो अफ-ट्र्याक पनि गुड्दथ्यो र त्यसरी नै म केही (अन्यले पाइपको गुड्गुडेको प्रयोग नगरुन्जेल) अरुभन्दा दामी देखिन्थेँ, लाग्थ्यो त्यस्तै नै । कार्तिकको तीहार सकिएपछिको मँसीरे चीसोमा आइमाइहरु खास्टोले लगभग पूरै शीर ढाकेर हिँड्ने गर्दथे । गोधुली साँझमा लश्करै आइमाइहरु खास्टोले शीर ढाकेर लश्करै पानीको गाग्रीलाई कोखामा अड्याएर गफ गर्दै, खित्खिताउँदै हिँडेको मलाई यति जीवन्त लाग्थ्यो कि, सँधै त्यही भीडको वरिपरि घुमिरहूँ झैँ लाग्थ्यो । उनीहरुले बोल्दा निस्कने धूँवाजस्ता वाफहरुलाई आवाजको आकृति मान्दथेँ । कोखामा गाग्री राख्दा सन्तुलन बनाउनका लागि अर्को दिशातिर ढल्केका आइमाइका आकृतिमा म सँधै मोहित हुन्थेँ र उही खास्टोको केही भागले नछोपिएको ठाउँबाट निस्केका तिनीहरुका नाक र केही मुखको भागमा म तब पनि चित्रहरु देख्दथेँ । त्यही समूहमा (खासगरी मेरो तेस्रो कक्षाका ताकाको अन्तिम दिनहरुमा) करुणा पनि हिँड्दथिई, आठ वर्षकी करुणाले गाग्री बनाएर पानी बोक्ने वास्तवमा ठूलोखालको लोटा हुन्थ्यो अनि बाल्टी भनेको पनि त्यही एक दुई लिटर अड्ने खालको नै हुन्थ्यो । उसले त्यसरी कम्मरमा लोटालाई गाग्रीजस्तो गरी बोक्दा उस्तै प्रकारले कोल्टिएर हिँडेको मलाई यत्ति मन पथ्र्यो कि म अक्सर केटाहरुकै जमातमा देवीथान नजिकको मूलबाटो गुडगुडे गुडाउँदै पानी माथिको कुवाबाट लश्करै बोकेर हिँड्ने ती महिलाहरुबीच सानी फुच्ची करुणालाई एकै झलक भए पनि त्यसरी हिँड्दै गरेकी हेर्न पुग्दथेँ, जब उसलाई देख्थेँ, तब त्यो रात रमाइलो मानी बिताउँथेँ । हाम्रो आदमटारको घर, गाउँलेहरुका झुरुप्प बसेको घरहरुभन्दा अलि पर र भिन्दै थियो । चाँडै नै घरतिर जानुपर्ने वाध्यताले केटाहरुसँग अबेरसम्म खेल्न भ्याउँदिनथिएँ । यसैले नै ममा कहिले पनि गाउँका रैथाने किसिमका भाषा तथा लयहरु खुल्न सकेनन् । अन्यहरुभन्दा म सँधै बेग्लै र भिन्दै देखिन्थेँ । बुवा, मुमाहरु त्यस गाउँमा, पछि आउनुभएकाले हामीहरु सँधै पाहुना तथा विशिष्ट भएका थियौँ र बुवा नै त्यहाँको पहिलो विदेशमा जाने अनि देशका अन्य ठाउँमा काम गर्ने हाकिम हुनु भएकोले पनि हुनसक्छ, हामीहरु भिन्दै थियौँ ।
तलको बाटो नजिकको खाली सरकारी जग्गामा स्कुल बनाउनका लागि ढालिएको आँपको रुखको हाँगामा मच्चिएर स्कुलको दिन बिताएपछि घर पुग्नलाई सँधै हतार हुन्थ्यो । घरबाटै लिएर जाने चकटी अनि सिलोट, खरी तथा केही किताव राखिएको सानो झिलिमिली देखिने झोलालाई घरमा थन्क्याउन सँधै नै हुने हतारमा, करुणाको त्यस गाउँमा भएको आगमनपछि त झन् थप हतार थपिएको हुन्थ्यो । नौ वर्ष लागिसकेको थिएँ, तर पनि मन त्यसरी चन्चल र त्यो पनि त्यो मानेमा हुनुपर्ने खालले भने लागेको थिईनँ । करुणालाई कक्षामा देख्दा पढ्नुमा रमाइलो लाग्न थालेको समय र स्कुल छुटेपछि खेल्नुमा रमाइलो लाग्ने समय एकैसाथ आउन थालेपछि मलाई त्यस गाउँ स्वर्गझैँ नै लाग्दैथियो । हाम्रो सत्यदेवी प्राथमिक विद्यालय नाम जुरेको वा त्यसरी त्यो नयाँ ठाउँमा बिनाछत, बिनाकोठा एउटै मास्टर गोविन्द सरबाट पूराका पूरा स्कुल पढाइन थालेको तीन वर्षपछि दार्जिलिङतिरबाट माया मिसको आगमन भएको थियो र विस्तारै स्कुल सानै भए पनि बन्दै गयो र मिसको आगमनपछि भने हामीहरु पनि विद्यार्थी जस्ता भयौँ । उनले आफ्नी सानी आठ वर्षीय बहिनीलाई ल्याएपछि भने स्कुलमा तौरतरिकाहरुलाई कार्यान्वयन पनि गरिन थालिएको थियो, जस्तै नङ काट्ने, नुहाएर आउने, कपाल मिलाएर आउने, मिसले भनेको सुन्ने, गुच्चा नखेल्ने आदि आदि । त्यही ताका गुच्चाहरु कब्जा गरिने क्रममा मेरा तीनवटा गुच्चाहरु पनि कब्जामा परेका थिए र त्यही गुच्चालाई, एउटा फिरन्ते अनमिनसँग मिसको त्यहीं विवाह भएपछि उनी त्यसको केही लगत्तै भक्तपुरतिर र्फकने भएकोले, हामीहरुलाई फिर्ताई हाम्रो मनमा राम्ररी सम्झनामा बस्ने दाउ मिसको थियो । हामीलाई लश्करै लाइनमा उभिएर आफ्नो पालोमा गुच्चा लिने र मिससँग अन्तिमपल्ट बोल्ने मौका दिइएको थियो ।
मेरा आँखाहरु मिसको भाडामा लिएको उक्त घरको माथिल्लो तलातिर गइरहेको थियो । मिस यसरी सँधैका लागि त्यस स्कुल र ठाउँ छोडेर जानलाग्दा मलाई सँसार नै उजाड लागेको थियो । बहिनीलाई गाउँमा नै छोडेर जान मिल्दैनथ्यो र ? आफ्नो जिज्ञाशा ब्यक्त गर्नको असमर्थताले मलाई एकोहोरो बनाइदिएको थियो । वास्तवमा त्यही ताका नै मैले करुणालाई आफ्नो मुमाको ठाउँमा र आफूलाई बुबाको ठाउँमा देख्न थालेको थिएँ । त्यसरी देखिने दृश्यमा हाम्रो फराकिलो आँगनमा उसले बढारिरहेकी र मचाहिँ पिढीँमा राखिएको कुर्चीमा बसेर दलिनमा झुण्ड्याइएको रेडियो सुन्दै हुक्काबाट तमाखु खाँदै गरेको देख्दथेँ । त्यही प्रकारका कल्पनामा मेरा रातहरु कहिलेकाहिँ आँखामा नै बित्ने गर्दथ्यो । आँगनको डिलमा पर्खालको आकार र लहरमा बेलीको बुट्टाहरु थिए, जो असार साउनमा सेतै भएर फुल्ने गर्दथ्यो । त्यसको मधुर वास्नामा विहानै आँगन सफा गर्दै रेडियो नेपालबाट आउने भजन सुन्नुजस्तो आनन्द केहीमा हुँदैनथ्यो र त्यसको भन्दा ज्यादा तथा भरपुर आनन्द बुबाले पिढींको कुर्चीमा बसेर हुक्कामा तमाखु खाँदै गरेकोमा हुन्थ्यो भन्नेमा म पक्का थिएँ र त्यही पक्कालाई जीवनमा करुणाको साथमा हुनेछ जस्तो लाग्थ्यो । अब, योपालि करुणासँग छुटि्टए जीवनभरिकै लागि देख्न नपाइने यत्ति पक्का थियो कि, मेरो मन शरीरको मन बस्ने ठाउँको पीँधमा लम्पसार भएको भान हुन्थ्यो । सबै रहरहर नै ओइलिएको थियो । आफ्नो मनको त्यसताकाको उक्त वह कसैलाई भन्न सक्दिनँथेँ । सानो उमेरमा नै शरीरसहित उत्साहलाई गलाउन सक्ने वहमा रन्थनिएको मेरो अवस्थाको निरीहतामा अचानक मिसको उही कडकदार आवाज दोहोरियो -”तिम्रो गुच्चा कतिवटा थियो, प्रकाश ?”
मेरो नैराश्यपूर्ण एकाग्रतामा माया मिसको वजनदार आवाज परेपछि म हड्बडाएको थिएँ । सँधै आफ्नो सानो संसारमा एक्लै रमाउने मेरो प्रवृतिले मलाई त्यति सानो उमेरमा पनि निक्कै नै हास्यास्पद स्थितिमा बारम्बार छाड्ने गरेको थियो । हुन त माया मिसलगायत केही गन्यमान्यले -”प्रकाश अन्तर्मुखी स्वभावको छ, भविष्यमा गम्भीर व्यक्तित्वको कुनै ठूलै मान्छे हुन्छ” भन्ने गरेका घटनाहरु अहिले पनि सम्झन्छु । र सँधै त्यसले मेरो ओँठमा मुस्कान ल्याइदिने गर्दछ । गम्भीरताको त छाया पनि छैन जस्तो अवस्थामा बाँचेको आफ्नो वर्तमानलाई सम्झँदा हाँसो उठ्नु पनि स्वभाविकै हो । जिन्दगीलाई गम्भीर त्यो पनसँग हेर्नै सकिएन, पलभरकै गम्भीरतामा नै निस्सासिनथाल्छु ।
…..साँझपखको समय थियो, माया मिसको उक्त क्वाटरको दायाँवाँया केही झ्याम्म परेर रहेका केराका घारीहरु थिए भने तल र माथितिर लस्करै माझीहरुका अन्य घरहरु अनि तिनीहरुका आआफ्नै केराका घारीहरुसहित तरकारी बारीहरु थिए र खासगरी सारौं, भंगेराजस्ता चराहरुका बथानहरु सोही घारीहरुमा, एक किसिमले हतार हतारका खल्याङबल्याङहरुमा चिरबिर गरिरहेका थिए । मन अस्थीर भएको तत् समय, उक्त चिरबिर यत्ति झर्कोलाग्दो थियो कि, केराका उक्त घारीहरुमा दन्दनी आगो झोंसिदिऊँ झैँ लाग्थ्यो । साँझ त्यस वित्यासलाग्दो वातावरणमा उत्साहहीन माया मिसको अनुहार र स्वरुपले झन् दिग्दारी मात्रै जगाएको थियो । त्यसो त करुणाको एकै झलक भए पनि अन्तिमपटक हेर्ने चाह भने मनबाट एकरत्ति पनि नासिएको थिएन । मेरापछाडि केही केटाहरु आफ्नो पालोमा आफ्ना गुच्चाहरु लिनका लागि उभिइरहेका थिए, त्यसैले तिनले पनि पालो पाउनुथियो र त्यसैले केही हतारमा बोलेँ -”तीनवटा थियो मिस ।” अहिले बुझ्छु, सायद, माया मिस मबाट अरु केही कुरा पहिले सुन्न चाहन्थिन्, विदाइका समयमा विद्यार्थीहरुबाट आफ्नालागि केही यादगार वाक्यहरु सुन्न खोज्नुको उनको रहरलाई अहिलेभने बुझ्दछु तर उक्त समयमा हामीबाट त्यस्तो आशा गर्नु भने अति आशावादी हुनु थियो । तथापि, म अरुभन्दा केही ज्यादा उनको नजिकको थिएँ, जस्तो कि, मुमा र उनको राम्रो दिदीबहिनीझैँ सदभाव र आवतजावत थियो, त्यसैले पनि मलाई लाग्थ्यो, म उनको लागि विशेष थिएँ, र त्यही विशेषपनमा मलाई लाग्थ्यो उनको पनि मसँग निक्कै लगाव थियो । यही गुच्चा जो अहिले फर्काइँदैथियो, त्यो, केहीअगाडि, मिसकै उर्दीअनुसार हामीहरुका खल्ती-खल्तीबाट खोस्ने क्रममा मबाट मेरै सहपाठी सिताराम पिटिएको थियो र त्यसैको सजायँस्वरुप उनले मलाई सोही दिन चकमन्न मध्यान्हमा एक खुट्टाको भरमा खडा भई कान समातेर घण्टौं उही स्कुलको आँगनमा सबैको अगाडि उभिन लगाएकिथिईन् र म केही समयपछि नै भागेको थिएँ । दुई दिन स्कुल गएको थिईनँ, दोस्रो दिन बेलुका घरमा नै आएकिथिईन् माया मिस र ‘माया गर्नेलाई गाली गर्ने वा सजायँ दिने पनि अधिकार हुन्छ’ भनेकी मेरो मनमा यसरी गढेको थियो कि अन्य विद्यार्थीहरुका तुलनामा म आफूलाई मिसको सँधै नै विशेष भएको मान्दथेँ । तर सोही मिसलाई उनको आदमटारको बसाइको अन्तिम समयमा मैले भन्नै पर्ने कुराहरु नभनी सीधै अनि त्यो पनि उत्साहहीनताका साथ गुच्चा मागेकोमा रिसाएकी हुनुपर्छ -म त्यससमयको धेरैपछि पनि सोँच्ने गर्दथेँ कहिलेकाहिँ ।
“लाज लाग्दैन, तीनवटा भन्न ? तिम्रो जम्मा दुईवटा मात्र थियो ।” मलाई साँच्चै नै विश्वास लागिरहेको थिएन, किनकि उनको आँखामा जहाँ मैले अक्सर आफ्नो लागि माया, ममता तथा वात्सल्य देख्थेँ, उनकै उनै आँखाभरि अविश्वाससहित केही घृणा (जुन म अहिलेसम्म बुझ्न सक्दिनँ -आखिर किन त्यति घृणा थियो त्यहाँ ?) मिसिएर चिसा लाग्ने भावहरु देख्दैथिएँ । मलाई लाग्थ्यो….यसलाई यसरी भन्छु; हामीलाई हाम्रो परिवारिक शिक्षामा सत्य सँधै बोल्नू अनि झुटो कहिले पनि नबोल्नू भन्ने यसरी रटाइएको थियो कि खासगरी म त्यसबेला त्यसलाई सँधै नै आफूमा लागू गर्न तत्पर रहन्थेँ । सत्य बोल्नाले मैले, बाहिर पिटाइ पनि खाएको छु, जसलाई अझै पनि सम्झन्छु : स्कुलमा रोइरहेको कृष्णलाई संयोगले त्यतैबाट जाँदै गरेका उसको बुबाले सुनेर स्कुलभित्र पसी सबैलाई “कसले मेरो छोरोलाई पिट्यो ?” भनेर सोध्दा झ्यालको खोपीमा बसेर एकातिरको भित्तामा गाला राखेको मलाई मेरो सत्य बोल्ने बानीले भनायो -”त्यसले मलाई टोकिदियो अनि मैले पनि पिटिदिएँ”, त्यसपछि, कृष्णका बुबाले जोडले आफ्नो दाहिने हातले मेरो गालालाई चड्काएका थिए र त्यसको अर्को मार मेरो अर्को गालाले भित्ताबाट पनि खाएको थियो, सो घटनाले त्यसपछि, हाम्रो दुई परिवारबीच नरमाइलो अवस्थाको सिर्जना गरिदिएको भए पनि, यस्तै मेरा प्रयासमा भने, बुबाबाट अक्सर प्रोत्साहन मिल्ने गर्दथ्यो, सत्य बोलेकोमा बुबाबाट पुरस्कार मिल्ने गर्दथ्यो । र वास्तवमै, मिसले तीनवटा गुच्चालाई दुईवटा थियो भनेकी भएर होइन, मलाई झुटा भनेकीमा भने म असहमत थिएँ, त्यसैले -”हैन, तीनवटै थियो मेरो गुच्चा !” भनेर कसरी भनेँ अनि कस्तो अडान थियो मेरो बोलीमा त्यतिखेर, थाहा छैन, तर माया मिसले -”तिमी यस्तो फटाहा हौला भन्ने मैले सोँचेकै थिईनँ, ल, लैजाऊ तिम्रो दुई गुच्चा” भन्दै मेरो हातमा दुईवटा गुच्चाहरु फाल्दै मलाई त्यहाँबाट बाहिरिन भनेकी भने यसरी याद छ कि जस्तो हिजो नै घटेको होस् उक्त घटना ।
त्यतिबेलै धेरै धेरै समय म सोँच्ने गर्दथेँ, किन मानिसको मन भित्रभित्र जल्ने गर्दछ ? किन छट्पट्टी चल्ने गर्दछ ? साँच्चै नै, माया मिसको त्यस रुपले मलाई यति दुखायो कि मलाई जीवन नै अन्धकार लाग्यो, जस्तो कि तबउप्रान्त जिउनका लागि कुनै रस नै रहेन, सार नै रहेन । आदमखोलाबाट त्यस गाउँनजिकका खेतहरुलाई सिंचाइ गर्नका लागि ल्याइएको कुलोमा हिँउद भएकोले पानी हुँदैनथ्यो र सोही लगभग मेरो आधा शरीर ढाकिने उक्त कुलै कुलो हिँडेर हाम्रो घरभन्दा धेरैमाथिको मोडसम्म पुगेको थिएँ त्यसपछि । हामीलाई लाग्थ्यो, त्यो मोडबाट भीरैभीर माथि खोलाको सिरानतिर लाग्ने बाटोमा साँझपख तर्साउँथ्यो र माथि गाउँबाट, त्यही बाटो भएर तलको त्रिशुली नदीतिर मलामी लगिन्थ्यो, खासगरी हामी केटाकेटीहरु भने अति नै डराउँथ्यौँ, तर त्यो साँझ म त्यही मलामी लाने बाटो हुँदै घरमा फर्केको थिएँ । करुणासँग छुटि्टनु पर्ने यथार्थको पीडा केही लागेन माया मिसले मलाई फटाहा भन्दै उपेक्षा गरी गुच्चालाई मेरो हातमा फ्याँकिदिएको घटना नै छातीभित्र पोल्ने किसिमको पीडा भएको थियो । आइमाई मान्छेको आँखामा मैले जीवनमा आफ्नो लागि देखेको पहिलो घृणा थियो त्यो, पहिलो अविश्वास थियो त्यो, त्यसैले पनि म ज्यादा व्यथित थिएँ ।
साँझपखको समय, बुबा त्यतिखेर गाउँमा आउनु भएको मौका थियो त्यो, कुर्चीमा बसेर दलिनमा झुण्ड्याइएको रेडियोबाट सायद उहाँ मुमासुगै कृषि कार्यक्रम सुन्दै हुनुहुन्थ्यो होला, उही जेटियो बाबु र बूढी आमैको वार्तालाप…..। “किन यति अबेला ?” -मुमाको प्रश्नको जवाफ नदिई म घरभित्र पसेकोथिएँ । मुमाको प्रश्नहरुलाई बेलाबेलामा छल्न सक्ने किसिमले पुल्पुल्याइएको थिएँ । मैले त्यतिखेर विभिन्न रङ तथा साइजका गुच्चाहरु सँगाल्ने गर्दथेँ र मलाई राम्ररी याद छ, त्यतिखेर मसँग लगभग सयवटा जति गुच्चाहरु थिए । हाम्रो आँगनबाट लगभग दुईसय मीटर तल ठूलो करमको रुख थियो र त्यसैसँग गाँसिएको झाडी पनि, मैले भटाभट त्यहीँ ताकेर सबै गुच्चाहरु फाल्न थाल्दा -”हैन, के भयो, यो केटालाई ?” बुबामुमाहरु आश्चर्य मान्दै हुनुहुन्थ्यो ।
त्यसपछि, मैले धेरै धेरै वर्षसम्म गुच्चा खेलिनँ, या यसो भन्नसक्छु, खेल्दै खेलिनँ । म माया मिसलाई मेरो गुच्चामा लोभ पटक्कै नभएको जनाउन चाहान्थेँ, मैले उनको सामु झुटो नबोलेको व्यक्त्याउन चाहान्थेँ तर त्यसको भोलिपल्ट नै मिस आफ्नो परिवारसहित उक्त आदमटार गाउँ सदाकै लागि छोडेर गईन्, सबैजसो विद्यार्थीहरु मिसको परिवारलाई पारि आदमघाटसम्म पुर्याउन गए, तर म जानै सकिनँ ।
यत्तिका समयपछि पनि म बाराम्बार त्यो पललाई आफ्नो सम्झनामा खेलाइरहन्छु । मैले शुरुमा माया गरेको र मुमाबाहेक शुरुमा आदर गरेको व्यक्ति दुबैलाई एकैचोटि सदाकै लागि गमाउनु परेको बेलाको अन्तिम समयलाई किन मैले उपभोग गर्न सकिनँ ? सायद, त्यतिबेला बोलिने केही शब्दहरुले मलाई यो अवस्थामा पनि सम्झनका लागि मिठास दिनेथियो कि ? तर एउटा युग बितेको छ र पनि त्यो बेलाको सम्झना अहिलेसम्म उस्तैगरी ताजा नै रहेको छ मेरो मनमा । त्यो समय, जब करुणाले त्यस गाउँमा पाइला राखेकी थिई, बाट मलाई गाउँको हरेक वस्तुहरुको, हरेक वास्नाहरुको, हरेक दृश्यहरुको माया लाग्ने गरेको सम्झनाहरु अहिलेसम्म नै मनमस्तिष्कमा राखेको छु । त्यही समय हो, मलाई विहानीपख खेतका कान्लाहरुबाट हिँड्दा शीतले लुछ्रुप्पै घुँडासम्म भिजेर हिँड्न मन लाग्ने गरेको, त्यही समय हो, साँझपखको अबेरसम्म चराहरु नसुस्ताउन्जेलसम्म कराइरहेको सुन्नलाई मजा लाग्ने गरेको, त्यही समय हो, वर्षायाममा मकैको बारीमा झर-झर-झर परेको पानीमा रुझ्दै मकैको पातले पासिएर हिँड्न मजा लाग्ने गरेको, बाढी आएको खोलामा पौडिन रमाइलो हुने गरेको, अबेरसम्म दण्डीबियो, गीर, तथा हुतुतु खेल्न स्वाद लाग्ने गरेको र तिनै खास सम्झनाहरु नै अहिलेसम्म यसरी मनमा बिझेको छ कि, सोलाई सम्झनू भनेको करुणाको याद आउनू र करुणालाई सम्झनू भनेको त्यो समयको याद आउनू हो भनेकोसरि पयार्यमा मिल्ने गरेको छ ।
खासै रमाउन नसकेको त्यसपछिको केही समयमा नै म पोखरा ल्याइएको थिएँ । पोखराबाट ठूलीविँडी अलिपरको खाडेखोलाको माथि पाखोमा स्थित शुक्रराज निम्न माध्यामिक विद्यालयमा एकैचोटि पाँच कक्षामा भर्ना गरिएको थिएँ । बुबा ठूलीविँडीको कृषि विकास कार्यालयको अफिसमा उक्त अफिसको हाकिम हुनुहुन्थ्यो । नयाँ ठाउँमा नयाँ जीवन बिताउने क्रममा करुणालाई निक्कै नै चाँडै भुलेँ पनि । जीवनमा नयाँ अध्यायका पानाहरु एकपछि अर्को गर्दै खुल्दै जो थियो । मेरो अन्तर्मनभित्र भने विभिन्न नयाँ अनुभवहरु दर्ज हुँदै गए……
(स्रोत : Nepal.hk)
