~पिताम्बर बन्जाडे ~
मंसीरको धान दाउने बेला जितेदाईलाई सबैले सोध्ने गर्छन् – “धान कति फल्यो?”
उसको जवाफ – “धान त फलेकै हो तर धेरै पगटा उड्यो, सद्दे त थोरै मात्र पोहर पनि त्यस्तै भयो, दुःख गरेर के गर्नु? कहिले हाइवि्रड भनेर जापानले दानै नलाग्ने विउ दिन्छ, कहिले भारतले नक्कली मल पठाउँछ। नयाँ नेपालका लोकतन्त्रवादी ठेकेदारका भागवन्डामा कुलो बनाउने बजेट बाटोमै झ्वाम भएछ, धान फुल्ने बेलामा कुलोपानी नै लगाउन पाइएन के फलोस् त धान? यस्तै छ किसानको हाल। चरा, मुसा, सलह, फटेङ्ग्रा, किरा सबै उसैमाथि”
(जिते खलामा धान ओसाउँदै देखाउँछ)।
“हेर ! सद्दे धान ठाउँमै पछारिएको छ, पगटा माथिमाथि छलाङ मारिरहेछ। केही त अझै रास मै छरपस्ट छन्। (नाङ्लोले हम्कन्छ) घरी पूर्व घरी पश्चिम सर्याङ सर्याङ उसकै आवाज छ। जिते रिसाउँछ, यो जितेलाई कहिले जित्न नदिने गति छाडा यी स्वार्थी पगटाहरू।
सानो नमेरो रोपेर कसरी हुर्काएँ। गोलमेल गरे। दानाको रस चुसेर ढोंड भने लहलहाउँदो बन्यो। अब फल्छ भन्ने बेलामा ठिङरिड्ड भै ठूलो भन्दै माथिमाथि उचालिएर हावामा हल्लँदै थियो, अहिले त क्रान्तिकारी छलाङ भनेर खलो छाडेर उपल्ला गराको आलितिर हुर्रिएको छ।“भूँई न भकारी खानुपर्ने डकारी यो गतिछाडा पगटो” जिते यस्तै यस्तै भन्दै भुनभुनाउँदै थियो। जुमाने सान्त्वना दिंदै भन्दै थियो। यसपालिको पगटा उडे पनि खेत त छँदैछ। आँगु साल फल्ला नि दाई घ् पगटा उड्यो भन्दैमा कर्म छाड्न भएन क्यारे ? गर्दै जाँदा कसरी मानामुरी नफल्ला त? हो त नि जुमाने दाई भन्दै धानको धोक्रो बोकेर जिते घरभित्र पस्यो।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४५ – २०६७ असोज १३ गते, बुधबार)