~दिपक शर्मा सुवेदी~
कोशी खोई, मेची खोई, खोई, महाकाली
ठान्छु राम्रो जसलाई उही हुन्छ जाली
डडेलो सल्किएको जस्तै भयो खर
नेपाल आमा म नेपाली छैन मेरो घर
सानो झुप्रो हाली बसे गन्डकीको तिरमा
खेती बाली गर्न जान्थे मकालुको भिरमा
ढकमक लालीगुराँस बनै भरी फुल्थ्यो
जहाँ हुन्थ्यो, जहाँ पुग्यौं सबै हुन्थ्यौं साथमा
भेदभाग हुदैनथ्यो कुनै पनि जातमा
राई, मगर, गुरुङ, भुजेल भए पनि कार्की
लिम्बु, बाहुन, तामाङ, शेर्पा होस् नै कामी सार्की
म त हजुर हिजो आज छक्क पर्दै आछु
दौरा सुरुवाल लगाएर नेपाली झैं भाछु
तर हजुर लागेको छ यही कुरा साँचो
जमानाले खोज्दै रैछ जातको खाँचो
यो त कुरा पक्कै पनि होइन होला ठिक
त्यै भएर लेखिरहेछु मानेर दिक्क
सुन्नु हजुर व्यथा मेरो एकैछिन आज
मोड थियो घटनाले हामीहरुको माझ
पश्चिम त्यसै रोहिरहेछ मुटुमा घाउ लाग्दा
पूर्व यसै रोहिरहेछ हृदयमा चोट लाग्दा
सितल भनी स्वीकारेको ल्याई दियो हुरी
माया गरी काखमै बसी हानी दियो छुरी
कोशी खोई छैन यहाँ कयौं राज्य भए
मित्रता र सहिष्णुताबाद, खोई कता गएँ
राई अरे, मगर अरे, अरे क्षेत्री बाहुन
चाहियो राज्य बरु नेपाल जता सुकै जाउन
घर भन्दा प्यारो भयो सानो एउटा कोठा
कोठा कोठा भन्दा भन्दै लाईदेलन् ढोका
ढोका त्यसै बन्द होलान्, निरास्यौला फेरि
सयौंं पुस्ता धिकार्नेछन् हामीलाई हेरी।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ११ – माघ १२, २०६७, बुधबार)