~रामचन्द्र पौडेल~
हामी मजदुर वर्ग हौं कहीं कतै गर्दैनौं दुश्कर्म क्यै।
संसारै भर वर्ग यो कही कतै फुट्दैन जुट्छौं सबै।।
त्यसमा जाल रचेर दुष्टहरूले गर्छन सदा मोजले।
हाम्रो खुन पिएर दुर्जनहरू कुर्लन्छ त्यै सुरले।।
हाम्रै हुन ढुकुटी यो विश्व बीचका हाम्रो सबै पौरख।
पोखी मात्र बने यी धर्ती भरका सम्पूर्ण यी वैभव।।
जसमा भव्य हिरा र मोतिहरूका खम्बा जडी सुन्दर।
सुनका सिक्री भुलाई बन्दछ सदा आनन्दको मन्दिर।।
त्यसमा लागि दिने सहस्र गतिका सम्पत्तिका रासको।
खानी हामीहरू सबै त धुकुटी सम्पूर्ण हाम्रै त हो।।
हिरा सुन र सीप साथ श्रम त्यो सम्पूर्ण हाम्रै रह्यो।
आफ्नै बास भए विछट्ट झोपडी बस्नै नहुनेछ त्यो।।
खोज्छौं हामीहरू फोरेर पहरा सुन्का ति खानीहरू।
झक्छौं रत्न अनेक ति थरीथरी हिरा र मोतीहरू।।
तिनको मोल गरिन्छ दुष्टहरूले दुई छाक खाना पनि।
मुस्किलले पुगि जान्छ सब विभव त्यो लिइन्छ लुटे सरी।।
धनको धाक दिएर हामीहरूको खाइसके जीवन।
हाम्रो खुन पिएर मात्र खुशीले मोटाउँछन् ती जन।।
यस्तो यो अति नै भयो अझ पनि सहेर पो के गरौं।
छाड्ने छैन अवश्य जित्छ दुनियाँ सामन्तको लौ लडौं।
–कपिलवस्तु
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १७ – २०६६ फागुन २६ गते बुधबार )