कविता : मस्तिष्कमा चिहान

~यतिराज अजनबी~ Yatiraj Neupane 'ajnabee'

मान्छे मसानघाट
सुन्दा मात्रै पनि डरराउॅछ,
चिहानसंग झस्कन्छ
तर मैले
मस्तिष्कमा त्यही मान्छेको,
मान्छेको चिहान भेटें |

एउटा मित्र मलाई भन्छ,
“म साह्रै बिरामी भएँ|”
मित्रतावलम्बी भएकोले
उत्सुकतापूर्वक म सोध्छु,
“यो उमेरमा कस्तो बिसन्चो?”
“हिजो आज किन हो
ज्यादै दिमाग दुख्छ
धेरै चिकित्सकहरूलाई
परिक्षण गराईसकें
तर कारण पत्ता लागेन|”
मैले उसको टाउकोको
क्ष-किरण गरेर हेरें,
रोग देखिए पो देख्नु
बिचरा ती डाक्टरहरूले,
मैले उसको दिमागमा
आला लासहरू भेटें
उसलाई ती मुर्दाहरू
त्यो चिहानबाट झिक्न भनें,
सङ्ख बजाउन अह्राएँ,
मलामी डाक्न लगाएँ
र ती शवहरूलाई लगेर
आर्यघाटमा दाहसंस्कार गर्न
सल्लाह दिएँ|

“कति कठोर गिदी
रहेछ तेरो टाउकोभित्र,
त्यति गहीरो
खाल्टो खन्दा त्यसमा,
तँलाई पीडा बोध भएन?”
मैले प्रश्न गरें
तर उ अवाक रह्यो |

अन्त्यमा उसलाई
स्मरण गराएँ
कमरेड, तँ मान्छे होस,
मान्छेको मस्तिष्कमा मुर्दा
सधैं अडिन सक्छ
कहिल्यै सडिन सक्दैन,
मस्तिष्कमा त्यस्तो
रसायन, पदार्थ छैन
जुन माटोमा
हड्डी गाल्नलाई हुन्छ
यो माटोको
प्रकृतिप्रदत्त गुण हो,
मान्छेलाई त्यस्तो विशेषता
क्षमता वा विलक्षणता
प्रकृतिले दिएको छैन

७ फाल्गुन २०६०, विराटनगर

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.