~अभय श्रेष्ठ~
भवनको निधारबाट ‘विद्यालय’ हटाइदिएको भए हाम्रो स्कुललाई हरेक हिसाबले यातनालय भन्न सकिन्थ्यो । भक्तपुरको दधिकोटस्थित अरनिको माविले त्यो शब्द त्यसैगरी प्रेमपूर्वक सिउरिएको थियो जसरी महिलाजन गलामा गहना सिउरिन्छन् ।
स्कुल जाने कल्पना गर्नु नै असीम अपमान र यातना भोग्नुबराबर हुन्थ्यो । अतः कमजोर मानसिकताका विद्यार्थी स्कुल आउनै छाडिदिन्थे । तिनलाई कुटो, कोदालो, डोको, नाम्लो, घर-व्यवहारको भारीले स्वागत गरिरहेका हुन्थे । बाबुआमा पनि यसमा गलत केही देख्दैनथे । आखिर तिनले पनि त्यही बिँडो थामेका थिए जुन तिनका बाबुआमाले गरेका थिए । त्यसमा छोराछोरीलाई पालो दिनु अनौठो कुरा पनि थिएन ।
कक्षामा पाइने यातना थरीथरीका थिए । तिनमा पनि कुखुरा बनाउने, दुई औंलाको बीचमा कलम राखेर बेसरी थिचिदिने, पाठ नआउने जति सबै छात्रछात्रालाई आउनेले चड्कन-च्युरा खुवाउने अनि बेन्चमाथि उभ्याउने र मेचमुनि टुक्रुक्क बसाल्ने सजाय सबैभन्दा प्रसिद्ध थिए । यी सबै सजायका लागि विद्यार्थी हत्तु हुन्थे । तैपनि कुखुरा बन्नु सबैभन्दा कष्टकर हुन्थ्यो । उत्तिकै अपमानजनक पनि । सरहरूका दृष्टिमा भने सायद यही सबैभन्दा उत्कृष्ट, रोज्जा र पि्रय सजाय थियो ।
टुक्रुक्क बसाली आफ्नै तिघ्रामुनि हात छिराएर देब्रे हातले दाहिने कान र दाहिने हातले देब्रे कान समाउन लगाइन्थ्यो । यो सजाय पूरै एक पिरियडभरि भोग्नुपथ्र्यो । हिसाब पढाउने स्याम्पुल मिस होमवर्क नगर्नेलाई यस्तो सजाय दिन कुख्यात-विख्यात थिइन् । सजाय भोग्नेको लाम लाग्थ्यो । चलाख विद्यार्थी मिसका आँखा छलेर कान छाड्थे र मिसले हेर्नेबित्तिकै फेरि समाएको अभिनय गर्थे । कमजोर विद्यार्थी भने खुट्टा गलेर पुक्लुक्क ढल्थे । तर, तिनले मुक्ति पाउने सपनामा पनि नचिताए हुन्थ्यो । उल्टै मिसको लठ्ठी चाखेपछि फेरि तिघ्रामुनि हात छिराएर कान समाउन बाध्य हुन्थे । क्लास सकिएपछि ती अरू विद्यार्थीसँग आँखा जुधाउनै लायक ठहरिन्नथे । तिनका कान तोडले र गाला लाजले रगत चुहिएलान् झैं राता हुन्थे । दुई औंलाको बीचमा कलम राखेर थिच्ने सजाय दिन पनि सर-मिसहरू उत्तिकै फेमस थिए । तोडले विद्यार्थी तुरुक्क आँसु चुहाउँथे, प्राणै छाडूँलाझैं गर्थे । सजायको घोषणा हुँदा कतिपय विद्यार्थी आत्तिएर रुन थाल्थे । तिनीहरूमाथि लठ्ठी बर्सिन्थ्यो र अझ कडा सजाय हुन्थ्यो । सरको मेचमुनि टुक्रुक्क बस्ने सजाय पनि कम हुन्नथ्यो । मेच होचो हुन्थ्यो र पूरै पिरियडभरि बस्नुपर्दा ढाड भाँचिएलाझैं हुन्थ्यो । जति अपमानकारी भए पनि बेन्चमाथि उभिने सजाय सबैभन्दा सजिलो हुन्थ्यो । तर, यस्तो सजाय कमैमात्र दिइन्थ्यो । कडा र यातनादायी सजाय हुँदाहुँदै यति सजिलो सजाय दिएर शिक्षकहरू आफ्नै मूल्य घटाउन चाहँदैनथे ।
क्लास नहुँदा, क्लास सुरु हुन बाँकी हुँदा, हाफ टाइम र छुट्टीपछि सुका, मोहर, डबल, पाँचपैसे सिक्काको साल भन्ने, टप्पु, भली, ठोक्काइ, ओखर, ह्वाकर्याङ खेल्ने चलन विद्यार्थीबीच लोकपि्रय थियो । इन्द्रबहादुर तामाङ ‘इन्द्रे’ यी सबै खेलमा सधैंजसो मलाई मात खुवाउँथ्यो । म अपमान र पराजयबोधले थरथरी काम्थेँ । उसले नजितोस् भनेर ईश्वर पुकारा गर्थेँ । तर, उसले मलाई नजित्नु अपवादमात्र हुन्थ्यो । पाँचपैसे सिक्का, सुका, मोहोर र डबलको साल ऊ सिक्काको पृष्ठभाग छामेको भरमा सजिलै भन्थ्यो र मेरो पैसा जित्थ्यो । टप्पु, भली, ठोक्काइ, ओखर र ह्वाकर्याङमा म प्रायः ढुस हुन्थेँ । अन्त्यसम्म टिकिरहने उही हुन्थ्यो । यी जितीमा ऊसँग पराजित हुँदा म हुनसम्म अपमानित हुन्थेँ । म ऊसँग बदला लिने अवसर खोजिरहेको हुन्थेँ । अरूसँग मिलिमतो गरेर उसलाई हराउन खोज्थेँ । त्यो व्यर्थको प्रयासजस्तो मात्र हुन्थ्यो । प्वाँख गरेर चुत्थन अनि टाढासम्म भली निसाना लगाउन ऊ कहलिएकै थियो । ऊ यति जोडले भली गथ्र्यो, घप्पु हान्थ्यो कि प्रायः मेरो गुच्चा घट्टमा पिँधिएको अन्नजस्तै धूलोपिठो हुन्थ्यो । गुच्चा फुटेको रिसमा उसको टाउकै फोडिदिऊँझैँ मनमा आगो बल्थ्यो । तर, त्यो नियमविपरीत हुन्थ्यो ।
उसलाई हराएर बदला लिन मैले कहिल्यै सकिनँ । तर, त्यो अवसर मलाई क्लासमा प्राप्त हुन्थ्यो । अंग्रेजी पढाउने नवराज सर विद्यार्थीलाई हिज्जे र माने सोधेर हत्तु पार्थे । जबाफ मिलाउन नसक्ने सबैलाई उभ्याएर राख्थे । मिलाउनेले उभ्याइएका सबैलाई गालामा बत्ती बल्ने गरी चड्काउनुपथ्र्यो । म प्रत्यक्ष कुनै प्रतिस्पर्धामा सधैँ फस्ट आउँथेँ तर अन्तिम जाँचमा मास्टरहरू सधैँ मलाई फोर्थ बनाइदिन्थे । स्कुलनजिक घर हुनेहरू मास्टरलाई थर्काएरै फस्ट, सेकेन्ड, थर्ड हुन्थे । अंग्रेजीमा म अझ राम्रो थिएँ । यो त्यतिखेरको कुरा थियो जसको तुलना अहिलेको शिक्षासँग हुन सक्दैनथ्यो । कक्षा ४ बाट एबीसीडी सुरु हुने जमानामा मैले स्कुल भर्ना नहुँदै अंग्रेजीका धेरै माने र हिज्जे कण्ठ पारिसकेको थिएँ ।
एक दिन नवराज सर सायद घरमा झगडा गरेर स्कुल आएका थिए । कुकुर बंगाराभित्रको तलमाथिका चारचार दाँतबाहेक खुइँ परेका पहेँला दाँत देखाएर हाँसिरहने सरको अनुहार रिस सोहोरिएर कुरूप देखिन्थ्यो । सारा रिस उनी विद्यार्थीसँग पोखिरहेका थिए । त्यो दिन उनले विद्यार्थीलाई ‘सपकिपर’ को हिज्जे र माने सोधेका थिए । कक्षा ््््््छ पढ्ने विद्यार्थी त्यसको जबाफ दिन सक्ने स्थितिमा थिएनन् । फस्र्टब्वाईले माने मिलायो, हिज्जे बिगार्यो । सेकेन्ड र थर्डब्वाईले पनि बिगारे । सीता, सुनीता, वविता, केशरीलगायत ‘गौँथली समूह’ का केटीहरूले पनि बिगारे । स्कुलवरिपरिका दादा खालका छात्रले बिगार्नु त स्वाभाविक र अनिवार्य थियो ।
त्यो प्रश्न मसम्म आइपुग्दा फस्र्ट, सेकेन्ड, थर्ड ब्वाईसहित २० जना चड्कन-च्युरा खान प्रतीक्षा गरेर उभिरहेका थिए । मलाई हिज्जे र माने दुवै आउँथ्यो । मिलाऊँ भने सहपाठीलाई कान समाएर चड्काउनुपर्ने, नमिलाऊँ, आफैँले चड्कन खानुपर्ने । अर्कातिर, चड्कन चाख्नेले कक्षाबाहिर भेट्नेभित्तिकै एक चड्कनको बदला पातो खस्लाझैँ गरी मलाई तीन, चार घुस्सा हान्थे । त्यसैकारण बाहिरफेर तिनलाई भेट्नेबित्तिकै म थरहरी हुन्थेँ । के गरूँ ? गलत जबाफ पनि दिनु भएन । यति सानो प्रश्नको जवाफमा गल्ती गर्दा सर मप्रति सबैभन्दा क्रूरतापूर्वक प्रस्तुत हुनेवाला थिए ।
जवाफ नदिई भएन । ‘एसएचओपीकेईईपीईर सपकिपर मिन्स पसले’, मैले भनेँ । नवराज सरले मलाई ‘क्या बात्’ भनेर डँडाल्नो भाँचिएलाझैँ गरी धाप दिए । न्यायाधीश भएर सरले फैसला गरिसकेका थिए । अब मैले पुलिस भएर ती ‘फुलिस’ हरूलाई सजाय दिनुपर्ने भयो । फस्र्टब्वाई मलाई खाउँलाझैँ गरी आँखा तरिरहेको थियो । अरू केटा पनि हान्ने गोरुले झैँ हेरिरहेका थिए । केटीहरूका आँखामा भने आतंक थियो ।
नवराज सरले आदेश दिए जुन मैले तामेली गर्नैपर्ने थियो । मैले फस्टब्वाईको कान छोएजस्तो मात्र गरेँ र कति हल्का चड्कन लगाएँ भने फूलले प्रहार गरेजस्तै भयो । कुनै आवाज आएन । अरू चारजनालाई पनि मैले त्यसैगरी चड्कन हानेजस्तो मात्र गरेँ । सर सूक्ष्म तरिकाले मेरो कारबाही निगरानी गरिरहेका थिए । पाँचौँ ‘फुलिस’ थिई वविता । मोटीमोटी, डल्लीडल्ली, गोरी त्यस केटीलाई अरूले खासै राम्री मान्दैनथे । तर, स्याउजस्ता उसका मुलायम गालामा म अनौठो आकर्षण भेट्थेँ । जाँचमा ‘मद्दत’ गर्ने हुनाले केटीहरूसँग मेरो ठीकठीकै सम्बन्ध थियो । हिसाबको जाँच धेरैका लागि साढे सातको दशा हुन्थ्यो । त्यसमाथि केटीलाई ! अघिल्लो त्रैमासिकको हिसाबको जाँचमा यस्तै भयो । पहिलो प्रश्न नै ‘सरल’ थियो । पहिला भाग, त्यसपछि गुणन, जोड र घटाउ गरेर समाधान निकाल्नुपर्ने । तिनलाई भाग, गुणन, जोड घटाउ नै आउँदैनथ्यो । वविता मेरो अगिल्तिर थिई । उसले मेरो उत्तर पछाडि फर्केर सुइँसुइँ सारी । अरू केटी पनि आग्रह गरिरहेका थिए । तिनलाई देखाउन सम्भव थिएन । जाँच सकेर मैले कापी बुझाउन लाग्दा तिनीहरूले मलाई खै गरे । सायद त्यसैको बदलास्वरूप एक दिन ववितालाई उसका साथीहरूले झ्याइँकुटी पार्दै ल्याएर मेरो काखमा मिल्काइदिएका थिए । त्यसपछि मेरो सामु पर्नेबित्तिकै ऊ लाजले गाला रातो पार्दै निहुरेर अर्कातिर लाग्थी ।
अब त्यसका गालामा मैले चड्काउनुपर्ने भयो । ‘गाला रातो गाला रातो’ भनेजस्ता त्यस्तो मुलायम गालामा म कसरी चड्काऊँँ ? थुइक्क, कान समाएर चड्कन लगाएँ भनेको त मैले सायद उसका दुवै गाला पो मुसारेछु । क्लासभरि हाँसो मच्चियो । अकास्मात् मेरै गालामाथि कक्षा थर्कने गरी सरको चड्कन बजि्रयो । मैले आँखावरिपरि तोरीको फूल देखेँ । गाला झनन्न गरिरहेको थियो । सायद रातो भएको थियो ।
‘कसरी चड्काउनुपर्दोरहेछ, चाल पाइस् ?’ सरले खै गरे ।
तोडले म रुनसमेत सकिइरहेको थिइनँ । तैपनि अर्को चड्कन खानु नपरोस् भनी मैले भनेँ, ‘पाएँ सर ।’
त्यसपछि चड्कन चाख्ने पालो थियो इन्द्रेको । सर्वसाधारणको मनोविज्ञान सदैव आफूभन्दा कमजोरप्रति क्रूर र शक्तिशालीप्रति भयग्रस्त हुन्छ । म अपवाद थिइनँ । स्कुलनजिकै घर भएका केटाहरूको घुस्सा खानबाट बच्न म हरदम तिनका आँखा छल्थेँ । इन्द्रे टाइपका सुधा केटालाई भने हेप्थेँ । सरको चड्कनले रन्थनिइरहेको थिएँ । त्यसमाथि इन्द्रे डाँकाको अनुहार देख्नासाथ मलाई झनन्न रिस उठ्यो । त्यो मलाई हरेक जितीमा मात दिन्थ्यो । मेरो पैसा जित्थ्यो र ठूल्ठूलो स्वरले बोलेर वा इत्रेर जितेको घमण्ड प्रदर्शन गथ्र्यो ।
म अगाडि पुग्नेबित्तिकै ऊ कालोनीलो भयो । उसका आँखा भुइँमा जोतिए । सरको चड्कनको चोट, धेरैअघिदेखि अव्यक्त अपमानबोध र उसको कालोनीलो अनुहारले मलाई एकखालको अनौठो आमन्त्रण गरिरहेको थियो । मैले उसको कान बेस्सरी तानेँ र रन्काएर तीन चड्कन लगाइदिएँ जब कि मैले एक चड्कनमात्र हान्नुपर्ने थियो । वास्तवमा यो सबैबाट भोटे भनेर हेपिएको तामाङ केटोमाथि मबाट अञ्जानमै भएको जातीय अत्याचार थियो । अनपेक्षित कारबाही देखेर सर मलाई खाउँलाझैँ गरी हेर्न थाले ।
‘किन तीन चड्कन लगाइस् ?’ सरले सोधे ।
‘सरको चड्कन फेरि खानुपर्ला भनेर सर ।’
सर स्वयं जिल परेर मलाई हेरिरहेका थिए ।
इन्द्रे थुचुक्क बसेर क्वाँक्वाँ रुन थालेको थियो । जात्रै भयो । उसको बायाँ कानको जडी च्यातिएर रिमरिम रगत आइरहेको थियो । त्यसको रुवाइपछि चड्कन अभियान बन्द भयो । बाँकी पन्ध्रजनाले अघोषित माफी पाए ।
मलाई एक्कासि आफैँसँग रिस उठ्यो । इन्द्रेको माया लागेर आयो । ऊ अझै निहुरेर सुँक्कसुँक्क गरिरहेको थियो । ऊसँग माफी माग्ने इच्छाशक्ति ममा थिएन । चड्काउन सरकै आदेश पाएकाले कक्षामै एउटा ब्याकबेन्चर विद्यार्थीसँग माफी माग्न पनि ‘इज्जतको सवाल’ हुन्थ्यो । अर्कातिर मलाई डर थियो, भोलिपल्टै इन्द्रेका बाबुआमा आएर स्कुलमै मलाई रामधुलाइ नगरून् । स्कुलमा अक्सर यस्तो हुन्थ्यो । सरहरू तमासेमात्र हुन्थे ।
म कसैगरी उसलाई क्षतिपूर्ति दिन चाहन्थेँ । उसलाई पाठ सिकाएर, सान्त्वना दिएर अनि ऊसँगै हिँडेर । म चाहन्थेँ उसले यो घटना घरमा नभनिदेओस् र म उसका बाबुआमाको रामधुलाइबाट बच्न सकूँ । हाफटाइममा ऊ मेरो सामु देखै परेन । कसरी होस् ऊ मलाई छल्न चाहन्थ्यो ।
छुट्टीपछि मैले उसको हात पक्रिएँ । ऊ झसंग भयो । ‘तँ मसँग किन रिसाउँछस् इन्द्रे ? सरले भनेर पो मैले तँलाई चड्कन हान्नुपरेको !’ उसले जवाफ दिएन । भयभीत आँखाले मलाई हेरिरह्यो । त्यस रातभरि उसका भयभीत दुई चिम्सा आँखाले मलाई लखेटिरहे ।
भोलिपल्ट, उसका बाबुआमा आएर रामधुलाइ गर्ने डरले म कुस्तुर थिएँ । ऊ ढिलासम्म आएन । सायद बाबुआमालाई पनि भनेन । सरस्वती बन्दना सकिँदासम्म पनि आएन । मेरो मनले प्रार्थना गरिरहेको थियो, ऊ आइदेओस् । बाबुआमा नलिई आइदेओस् । ऊसँग बोल्न पाऊँ, खेल्न पाऊँ, उसलाई सिकाउन पाऊँ । आइन्दा उसलाई कहिल्यै चड्काउन नपरोस् ।
आखिर ऊ आएन । पर्सि पनि आएन । निपर्सि पनि आएन । सायद अब ऊ आउँदैन । वास्तवमै म उसको अपराधी थिएँ । मैले उसको नजिक घर भएका छात्रछात्रालाई सोधेँ । कसैले पनि यसलाई गम्भीरतापूर्वक लिएनन् । सबै हल्का पाराले भन्थे, ‘खोइ थाहा छैन ।’
केही काम परेर वा सन्चो नभएर ऊ नआएको हुँदो हो । अथवा, गरिबीले गर्दा बाबुले उसलाई स्कुल नपठाउने निर्णय गरे । तर, किन हो, ऊ स्कुल नआएकोमा म आफैँलाई अपराधी ठान्न थालेँ । मैले त्यति क्रूरता नदेखाएको भए ऊ आउँथ्यो । मसँगै खेल्थ्यो, मलाई हरेक खेलमा हराउँथ्यो । म चाहन्थेँ, उसले मलाई त्यसैगरी कान पक्रेर तीनपटक बेस्सरी चड्काओस् । मलाई त्यसैगरी टप्पु, भली, ठोक्काइ, ओख्खर र ह्वाकर्याङमा हराइरहोस् । तर, स्कुलचाहिँ आओस् । म पागलै भइसकेको त थिइनँ ?
एक हप्तापछि एक दिन कक्षामा सर पस्नै लाग्दा ऊ लुसुक्क छिर्यो । मेरो मुखबाट लामो श्वास निस्कियो । मेरो शिरबाट एउटा बोझ हटेर गएको थियो । मैले उसलाई फर्केर यताउति खोजेँ । ऊ लास्ट बेन्चमा निहुरेर बसिरहेको थियो । हाफटाइममा साथीहरूसित ऊ टप्पु खेलिरहेको थियो । उसको कानको पछाडिपट्टि रगत जमेको टाटो अझै गएको थिएन ।
‘तेरो कानको घाउ अझै निको भएन इन्द्रे ?’ मैले सोधेँ ।
‘अँ भइसक्यो । अस्ति नै निको भइसक्यो,’ इन्द्रेले यसरी रेडिमेड जवाफ दियो मानौँ हामीबीच केही भएकै थिएन । सुनेर मन कति खुसी भयो भने थाहै नपाई आँखा भिजिसकेछन् । त्यो छल्न म एकछिन अर्कोतिर फर्किएँ ।
अब म ऊसँग खेल्ने बहाना खोजिरहेको थिएँ । मन त बादल फाटेको आकाशझैँ छ्यांग भएको थियो । सायद म फेरि ऊसँग हार्न चाहन्थेँ । हारेर आफैँलाई सजाय दिन चाहन्थेँ ।
प्रकाशित: पुस २६, २०७०
(स्रोत : कान्तिपुर – कोसेली)