~चन्द्र गुरुङ~
सडकैभरि पोखिएका भक्तजन्
जोरदार चिच्च्याइरहेछन् भजनकीर्तन
उफ्रिँदैछन् जोश र आक्रोश
कुनातिर कोही फुसफुसाइरहेछ ओऽऽऽम माने पेमे
ओऽऽम माने पेमे ओऽऽम माने पेमे
चर्चभित्र रनभुल्लमा छ क्यारोलको लय
मस्जिद वरिपरि पखेटा फटफटाइरहेछ आजानको पंक्षी
लट्ठिएको छ समय-
गल्ली-गल्ली, चोक-चोक नाराहरू हिँड्दै छन्
धर्मनिरपेक्ष/हिन्दू-राष्ट्र/गाई
यस बखत-
लोलाएको छ सरकारको रतन्धो आँखा
निदाएको छ जनताको दिमाग
पीडामा छ देशको निर्दोष अनुहार ।
अहिले-
दिमागको ग्राफ शून्यमा झरेको छ
सोचको आँखामाथि कालो पट्टी बाँधिदिएका छौँ
समझको आकाशैभरि छाडिदिएका छौँ स्वार्थका किटाणु
यहाँवहाँ उड्दै छ अन्योलको धूलो र धुआँ
मुटुहरू उकुसमुकुस जेल्लिएका छन् विषवृक्षको जराले
भ्वाङ परेको छ चेतनाको आकाशमा
भासिँदै छ विवेकको धरातल
बढेको छ अविश्वास जीवन जीवनमाझ
अपहरित छन् सद्भाव र सहिष्णुता
घिस्रिरहेछ दूषित र दुर्गन्धित समाजको नदी ।
बेहोस पल्टिएको छ परिवेश
आआफ्नो होशलाई
भीरमाथिबाट गोरुको पुच्छरमा बाँधेर घचेटिदिएका छौँ
उडान गुमाएको छ विचारको घाइते पंक्षीले
अर्धचेत मन नाच्दै छौँ आआफ्नै आस्थाको ताल
झुम्दैछौँ आआफ्नै श्रद्धाको संगीत
गाउँदै छौँ आआफ्नै विश्वासको गीत
हामी-
रूढिवादी सुक्खो र साँघुरो कुवामा
टर्र टरररररररर भ्यागुता उफ्रिरहेका छौँ
बुद्रुक्क
बुद्रुक्क ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )