~बिष्णु सुवेदी ‘दोलखे’~
त्यो पारिको उन्यू फुलेको पाखो
र तितेपाती घारी
छ, नी
उ त्यो भीर मौरीको मह काढ्ने पहरो
सबै–सबै आदिबासी हुन् !
कहिल्यै घाम छिर्न नसक्ने
त्यो भीमकाय जङ्गल र
त्यही जङ्गलको बूढो ढुङ्गा
जतिकै पुरानो छु म
आदिबासी अनुहार !
कोलम्वसले जस्तै
हाम्रै पुर्खाले पत्ता लगाएको
तिमी बस्ने त्यो आधुनिक शहर
तिमीले पिउने पानीको मुहान !
कुन डाँडाबाट झुल्कन्छ घाम
एकाबिहानै अस्ताउँछ बेलुकी
नामाकरण हाम्रै पुर्खाले गरेका हुन्
त्यो तिमी हिंड्ने आदिम गोरेटो
मेरा पुस्ताले खनेको हो
मेरै लागि !
तिमी उभिएको जमिन
मेरै पुर्खाले फाँडेर
बनाएका हुन् बस्न योग्य !
त्यो मकैको विऊ
त्यो कोदाको जरो
त्यही त भन्या,
त्यो गुफ्लाको लहरो
मेरै पुर्खाले जोगाएको हो
भोलिका लागि !
तिमीले सिकेको कला र संस्कृति
हाम्रै मुटु र कलेजा हुन्
तिमीले नबुझ्ने हाम्रा आवाज
हाम्रै मस्तिष्क मनहरु हुन्
गर्व गर्न लायक सभ्यता !
हामीले नै हुर्काएका हौं
टुक्रा–टुक्रामा विभाजित
यो देशको नक्सा एउटै बनाउन
हामीले पनि रगत पोखेकै हौं
यो अहिलेको तिम्रो देश
आदिम रगतले भिजेको छ !
घाम जतिकै छर्लङ्ग छ
हामी नै भूमी पुत्र हौं
हामी नै संस्कृतिका मुर्चुङ्गा हौं
ती खोलाहरु आदिवासी
ती भीरहरु आदिवासी
यी जङ्गलहरु आदिवासी
यी पहाडहरु आदिवासी !
यो जमिनको कुनैपनि कुनामा
पहिलो दिन जन्मिएको थियो
एउटा आदिवासी अनुहार
र पहिलो पटक मर्ने पनि
त्यही थियो आदिवासी आवाज !
आदिवासी अनुहारकै
पसिनाले बनेका थिए
तिमी कुद्ने सम्म मैदान
तिमी तर्ने खोलाको पुल !
एकदिन दौडेर आए
तिम्रा पुर्खाहरु
त्यही सम्म मैदान हुँदै
र हामीलाई छेउ लगाए
त्यही बखत विभाजन गरे
हामीहरुलाई
जात–जातमा रङ्ग–रङ्गमा !
त्यही दिनदेखि हामी पृथक भयौं
तिमी पृथक भयौ
उही माटो टेकेर
उही बाटो हिंडेर
उही मान्छे भएर !
राम्पा, दोलखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)