~पारिजात~
भर्खर निर्माण भएको दुईतले घरको स्टोरसँगसँगै बनेको एउटा चिसो छिंडीमा काखमा स्याकिने छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छ। यतिखेर घडीले साढे आठ बजाइसक्यो। झोल भात पाकेर पनि सेलाइसकेको छ। शकुन्तलालाई थाहा छ आज उसको लोग्ने अलिकति आश्वस्त भएर, अलिकति रिझएर आउनेछ किनभने शकुन्तलालाई यो पनि थाहा छ कि उसको लोग्ने पियन हरिप्रसाद न्यौपानेको हाकिमले आफ्नी स्वास्नीलाई रिझाएको बेला अलिकति ड्रिऒ्ढ गर्ने गर्छ। त्यही मौकामा न्यौपानेलाई पनि अलिकति रिझाउँछ।यस्तो मौका महिनामा चार पटकभन्दा बढी हुँदैन बरू घट्छ। कहिलेकाहीं पाुना आए पनि हाकिमनीले रक्सीको बोतल निकाल्दिनन्। स्वास्नी रिझाएर लोग्ने दामी रक्सी पिउँछ, स्वास्नी बेस्कनै नखरा पारेर मात्र बोतल खोल्छे र केही त ऊ परि रिझाएरै लिन्छ। त्यसपछि बुढो मसिनो तरिकाले पियन न्यौपाने रिझन्छ। यी रिझाउनेहरूले आपसी अनुबन्ध राम्रै बुझेका छन्। यति हो न्यौपाने रिझाइनुको निम्ति रिझाइन्छन। यी सबैभन्दा अलग शकुन्तला धेरै कुरा बुझ्छे। परिस्थितिले उसलाई तँ हाँगा–हाँगा हिंड् म पात पात हिंड्छु यस्तो सिकाइसकेको छ।
नौ त बजिसक्यो अझ न्यौपाने आउँदैन। भर्खर बस्ती बस्न लागेको यो पाखामा यतिखेर रात हुनुको चकमन्न पर्याप्त भइसक्छ। शकुन्तला निधारमा गाँठो पारेर केही सोच्छे र मनमनमा आफैसँग वार्तालाप गर्न थाल्छे, एक्लै हुँदा वार्तालाप गर्ने आफैसँग न हो। ऊ बोल्छे, त्यस हाकिमको अनुहार त मैले राम्रोसँग देखेकी छैन पनि। अँ ड्रिऒ्ढ गरेको बेला भने स्वर अलिक चर्को आउँछ। हाकिमनी त मसँग सोझो मुख गरेर बोल्दिन। भान्सासम्म चियाउन पाएकी छु नत्र बाहिरबाहिरै। कुरा गर्न छोराको बाबुमार्फत। “ए बाहुन। आज तेरी दुलहीलाई भनी दे है कपडा यहाँ झकिराखेको छु सबै धोइदेओस्” अथावा “यहाँ भान्सामा सामान झक्या छ अचार पारेर गइदेखोस्” यी यस्तै यस्तै त हो नि। होइन यी हाकिमनी मसँग डराउँछिन् किन क्या? कुन्नि वा… आ बाबु समानको हाकिमलाइ कसले हेरोस्। हाकिमनीहरू पनि ताल तालका हुन्छन्। यो छोराको बाबुले एउटै हाकिम कहाँ चार वर्ष चाकरी गरिसक्दा मैले चार हाकिमनीको घर धन्धा भित्र्याइसकेकी छु। पहिले बसेको ठाउँमा हाकिमनी बेसै हो। म पनि भर्खरै गाउँबाट आएकी यहाँको चालामाला केही थाहा नाइँ। मालिक खाउँला जस्ता गरी हेर्थे मैले त मालिकनीलाई भनिदिएँ, “मालिकलाई चिया पुर्याउन जान्न म, यत्राात्रा आँखा खोलेर हेर्छन्” सर्पको खुट्टा सर्पले देख्छ भने जस्तै चेताइदिएकी हुन् विचरा मालिक्नीले “होस पुर्या है तेरो मालिकको बानी राम्रो छैन” यो हाकिमनी त कस्ती छे हाकिम उस्तै भए भनिदिनुपर्छ, म उस्ती भए मलाई भन्नुपर्छ घरमा छिर्न पनि नदिने, काम पनि लगाउने। म गरिबको रूप रंग के छ? हाकिमनी त सिंगार पारेर बस्छिन्, तर लोग्ने मान्छेलाई त रूपरंग पनि चाहिन्छ होला र?
ढोका घरक्क उघारेर न्यौपाने भित्र पस्छ। शकुन्तलाको एकान्तता टुक्रिन्छ। दालमोठको एक प्याकेट स्वास्नीतिर फाल्दै भन्छ, “ला भोलि छोराले खान्छ” हाकिमको यतिखेरम्म गफ सुनिदिएको ज्याला कति हो शकुन्तला व्यंग्य गर्छे। व्याकुल आँखाहरूले स्वास्नीलाई एकपल्ट हेरेर न्यौपाने टुक्रुक्क भुइँमा बस्छ। यो उसको भात खाने मुद्रा हो। छोरालाई सुकुलमा सुताइदिएर शकुन्तला स्टोभ सल्काउँदै भन्छे, “आज के भन्छन् नि हाकिम?”
“सधै जे भन्छ त्यही” भनी न्यौपाने विरक्तिको भाव देखाउँछ।
“सधै जे भन्छ त्यही भन्ने त मलाई पनि थाहा छ नि थप केही भयो कि भनी सोधेको?” शकुन्तलाको आवाज छिटो तिखारिन्छ।
न्यौपाने त्यस्तै व्याकूल आँखाले स्वास्नीलाई हेर्छ, मानौं याचना गरिरहेछ– विवाद नगर थाकेको छु, भात खाइसकेर न्यौपाने चुरोट सुल्काउँछ र छोराको नजिकै गुड्ल्किन्छ। धन्धा सिध्याएर शकुन्तला ऊन केलाउन बस्छे र प्रतिक्षा गर्छे एउटा रूटिनबद्ध आदेशको। छोराको बाबु निदाइसक्छ “हस् हजुर” भन्नको निम्ति पनि उसले जागो बस्नै पर्छ। केही छिनपछि भ्यागुताहरूको सामूहिक आवाजलाई चिर्दै भान्सातिरको झ्यालबाट त्यो प्रतिष्ठित आदेश हाकिमनीको पातलो भए पनि उच्चताबोध भएको स्वरमा आउँछ, “ए न्यौपाने घ् चनाखा भएर निदा है, काठपात डन्डी यसै छ।”
“हस् हजुर घ् त्यसपछि दुवैतिरको झ्याल एकसाथ बन्द हुन्छ। हाकिमनीको जोडले र शकुन्तलाको बिस्तारै। शकुन्तलाको जीवन एक किसिमको एकरस र विसंगत हुँदै गइरहेको भान शकुन्तलालाई हुन थालेको छ आजभोलि। चनाखा बस्नु र निदाउनु यी विपरीत अनुभवलाई एकै ठाउँमा मिलाउँदा कस्तो हुन्छ। यो अप्ठ्यारो विवादमा शकुन्तलाको मनस्थिति जान अनजान अलिकति फँस्छ। आज सोच्न थाल्छे, माकुरालाई जालो लाउनलाई सिकायो होला, चराको बचेरालाई त माउले उड्ने सिकायो, पुतलीलाई कसले सिकायो। सोच्न नपाउँदै उसलाई चारथरी मालिक्नीको सम्झनाले चार सुरबाट बिथोल्छन्। शकुन्तला आत्मकेन्द्रित भएर आफैसँग बोल्न थाल्छे, यो हाकिमको घराँ सरेको पनि अब सात आठ महिना हुँदैछ। “यसो घर पनि कुरै तेरो डेरा बहाल पनि बच्ने” भनी उनैले ल्याएका हुन्। यहाँ सधै यी हाकिमनीलाई कराउनपर्ने किन होला? यो पनि हुने कुरा हो र? किन चनाखै बस्नुपर्यो कि निदाउनु पर्यो जम्मामा ननिदा भनेको हो। यी हाकिमनीले हामीलाई कुकुर ठानेर यो चिसो छिंडीमा राख्न ल्याइछन्। मालसामान कुर्ने, भान्साको धन्धा गरिदिने, लुगा धोइदिने मान्छे सित्थैं पाए कसले राख्दैनन्। बस्नलाइ अलि ओभानो ठाउँ पाए पनि ए ठीकै छ भन्नु।यो छोरा बाबु निम्छरा भएर यस्तो दुःख पाएको नि। रक्सी खाएको बेला कुराले दंग पार्छ पठाउँछन्। मान्छे दिनदिनै खिँइदै गएको थाहा छैन। अब शकुन्तलालाई हाकिमनी र न्यौपाने दुवैसँग झोंक चल्छ। न्यौपानेलाई काँधमा झक्झकाउँदै शकुन्तला भन्छे, “ए सानेको बा, कस्तो निदा हो। उहाँ भने हाकिमनी दिनदिनै चनाखो भएर निदा भन्छिन्। आफू भने घुर्ने म र चनाखो बस्ने?”
न्यौपाने स्वास्नीलाई माया गर्छ यसले होइन कि ऊ लोग्नेको निम्ति दुःख गर्छे। त्योभन्दा बेग्लै अर्कै केही छ त्यो न्यौपाने पनि बुझ्दैन। बुझ्नको निम्ति न्यौपाने स्वास्नीलाई प्रेम गर्छ। स्वास्नीको आँखामा सधै केही खोजी रहन्छन् ऊ। त्यस्तैत्यस्तै भावपूर्ण स्वास्नीलाइ हेरेपछि भन्छ, “ला तँ सुत् न म बसुँला… ल आ…।”
हो, यस्तै स्थितिमा शकुन्तलालाई लोग्नेप्रति माया लागेर आउँछ। ऊ सोच्छे, यति पनि थाहा छैन उसको लोग्नेलाई कि यहाँ उनीहरू एकजना सुत्न र एक जना जागा बस्न आएको होइन। हाकिमको काठपात कुरेर घर बहाल बचाउनुभन्दा कति कति महंगो छ सुखको मानो खाएर विछ्यौनामा पल्टिने, थकानको निद्रा सुत्ने उनीहरूको रात।
शकुन्तला भन्छे, “के यहाँ हामी एकजना सुत्ने एकजना जागराम बस्ने कबोलमा आएका हौं? तपाईलाई थाहा छ, यी हाकिमनीले कुकुर ठानेकी छन्, कुकुर। सधै रातिराति ए बाहुन चुनाखा भएर निदा है भन्नुपर्छ। कुकुर जात मात्रै चनाखो भएर निदाउन सक्छ। निदाइराखेको बेला चोर चकार आए कुकुरले तुरून्त चाल पाउँछ अनि भुक्छ। के हामी कुकुर हौं, यहाँ भुक्न आएको? यस्तो चिसो छिंडीमा के होला यो सानेको हाल?”
त्यै पनि विस्फारित आँखाले स्वास्नीलाई हेर्छ। ऊ आँखाबाट करूणा खोल्छ मात्र करूणा। स्वास्नीको निम्ति ऊसँग कुनै विकल्प छैन। दशौं हुन्डर खाएपछि यही हाकिमले उसलाई काममा झुन्डाइदियो, ऊ त्यति जान्दछ। ऊ छातीबाट होइन मुखबाट बोलेको जस्तो गरी स्वास्नीलाई सम्झाउँछ, “भैगो जसोतसो सहुँ न त। हिउँदा हाकिमले ढलान गर्छु भनेको छ। त्यसपछि तँलाई अन्त कतै सारूँला।”
शकुन्तलालाई बुझ्न गाह्रो पर्दैन कि उसको लोग्नेले उसलाई साँच्चै मुखबाटै सम्झाइरहेको छ व्यवहारमा ऊ यति पनि गर्न सक्दैन, हृदयमा माया र प्रेमको अपार सागर नै किन नहोस्। स्वास्नीलाई ऊ ह्वाइमहलको कल्पना दिन सक्ने मान्छे होइन त्यसैले मात्र मुखबाट बोल्छ। उसको औकात नै त्यति हो।
त्यस रात, रातको एक बजेसम्म शकुन्तला ऊन केलाएर बस्छे र न्यौपाने निदाउन र चनाखो बस्नुको साधनामा लीन भएर जागराम बस्छ। शायद निद्रा नलाग्नुको कारण अरू पनि हुन सक्छ। शकुन्तला सुत्ने तर्खर गर्छे। ऊ त्यही शकुन्तला होइन, जसलाई दुर्वासाको अभिसाप परेको होस्। त्यसो त आजका शकुन्तलाहरूलाइ बिना कुनै दुर्वासाबाट अभिसाप दुष्यन्तहरूले परित्याग गर्ने गर्छन्, न्यौपानेको शकुन्तलालाई यस्तो भय हाल पटक्कै छैन। शकुन्तला आफैसँग बोल्न थाल्छे, होइन, यो हाकिमनीले सधै हाकिम बस्ने कोठाको झ्यालको पर्दा हाकिम आउनासाथै लगाइहाल्छिन्। आफू देखा पर्ने ठाउँमा भने पर्दा पातलो छ र खुल्लै पनि राखिन्छन्। मैले एकपटकसम्म बैठकको अनुहार देखिंदैन। के यिनी मदेखि साँच्चै डराएकी हुन् त? हाकिम पनि त त्यस्तो मान्छे होइन होला नि। यिनले मलाई नकच्चरी, नखरमाउली के नै ठानेकी छिन् हँ?” प्रत्यूत्तर नपाउँदै ऊ निद्राको पखेटाभित्र पसिसकेकी हुन्छे।
आज कुनै खास लामो अन्तरालपछि पनि होइन। फरक जरूर छ। खेत हुँदो झलिञ्चा देखिन थालेको छ, भ्यागुता कम कराउँछन् र दिउँसो झ्याउँकिरी कराउन थालेका छन्। घाममा संवेदनशीहरूको दशैंको बास सुध्रन थालिसकेका छन्। यसबीचमा खास त्यस्तो केही भएन। साने एकपल्ट निकै साह्रै बिरामी पर्यो बस्। आज फेरि ऐजन, ऐजन…. भएको छ। हाकिम ड्रिऒ्ढ गर्न थालेका छन्। रिझाएका छन्, रिझएकी छन् शायद केही रिझाउन। घटीमा एउटा बनारसी साडी। आज भारतीय लाहुरे पसेको छ त्यो घरमा। परिणामस्वरूप न्यौपाने अलिकति रिझाएर आउनेछ। सानेलाई एक पुडिया दालमोट। शकुन्तला ओंठको कुनामा हाँस्दै ऊन काट्न बस्छे। उसको रूटिनमा पनि कुनै हेरफेर भएको छैन। ऐजन समयमा ढोका उघारेर न्यौपाने भित्र पस्छ। एक पोका दालमोट स्वास्नीतिर मिल्काउँछ र भन्छ, “भोलि सानेले खान्छ।”
सुकुलमा बसी च्यूँडो घुँडामा राख्दै सोध्छ, “भात पाको?”
पाको मात्र होइन, सिङ पनि उमि्रसक्यो। शकुन्तलालाई जीवनको एकरसताले चिथोरेर धेरै घाइते बनाइसकेको छ। ऊ चाहन्छे, कतैबाट यसलाई बिथोलुँ। नयाँ केही होस् न राम्रो नराम्रो जस्तो होला।
“हाकिमले आज के भने?” चर्को स्वरमा सोध्छे। उही मुद्रामा जवाफ दिन्छ, “आज अर्थोकै भने।”
“कस्तो अर्थोक ल सुनौं?”
“तँ मूला बाहुन दश क्लाससम्म पुगेकै रहेछस्। चोरचार गरेर भए पनि एसएलसी पास गर। टाइप सिक तँलाई म बढुवा गराइदिइहाल्छु नि….।”
कुरा टुंगिन नपाउँदै शकुन्तला आँखास्थिर पारेर एकटक न्यौपानेलाई हेर्दै भन्छे, “सानेको बा, तपाई मान्छे होइन, मैले आजको दिनमा भनें भनें तपाई मान्छे होइन। बरू आफू पनि अलिकति रक्सी घुट्काएर कराउनुस् न मेरो छोर अस्ति निमोनियाले झन्डै खुस्केको, जहानलाइृ बाथ होला जस्तो छ, ऊ त्यो स्टोर घरमा सर्छु। के को एसएलसी अहिले? यो कोठाभन्दा त्यो स्टोर घर सुख्खा छ। त्यति त भन्न नसक्ने तपाई मान्छे होइन।
शकुन्तलाका स्थिर आँखासँग जुधाउन न्यौपानेलाई निकै गाह्रो पर्छ। कि ऊ हिंड्छ कि पल्टन्छ तर आज त्यसो भएन।
न्यौपाने मान्छे, जसले सधैको भन्दा कडा आवाजमा कराउँछ, “तँ आइमाईलाई के थाहा छ? म जस्तो सुइखुट्टे पियन एक्लैले … यामानको हाकिमको केही पनि लछार्न सक्दैन। हाउ पुग्छ भने तँ गएर भन्न जा।”
यति भनेर न्यौपाने फेरि च्यूँडो घुंडामा जोतेर बस्छ। ठीक त्यति नै खेर शकुन्तलाका आँखाका कुना र ओंठका कुनामा एउटा छरितो हाँसो अति छिटो खेलेर भाग्छ। ऊ भात तताएर पस्कन्छे र भन्छे, “ल भात खानुस् नरिसाउनुस्।”
आज परिवारमा स्थिति असामान्य छ। एउटा छरितो हाँसो खेल्न त खेल्यो शकुन्तलाको ओंठ र आँखामा तर मनमा अर्कै अर्कै पैह्रो गएको छ। भात खाएर न्यौपाने सधै झैं छोराको छेउमा गुडुल्किन्छ। शकुन्तला निस्त्रि्कय छे एकदम। उसले कान आज ठाडी छैन ऐजन आदेश सुन्नलाई। केहीबेरपछि भूतप्रेतको कथाको जस्तै त्यो आवाज आउँछ “ए बाहुन अलि चनाखो…।
आज “हस् हजुर” भन्ने फिर्ती जवाफ जाँदैन। “निदायो कि क्या यो न्यौपाने खलक?”
यता फेरि मौन गनगन गर्दै हाकिमनीले झ्याल जोडले लगाई। यतापट्टि विस्तारै भए पनि झ्याल बन्द भएन। शकुन्तला सोच्न थालेकी छे उसको आजभोलि जीवनको एकरसता कति बिथोलियो।
(स्रोत : “पारिजातका संकलित रचनाहरु : ग्रन्थ तीन” बाट)