~ललिजन रावल~
पीडाहरू पोखी सधैं कति भरौं पाना
आँखाबाट बगाउँदै मोतीका यी दाना
बर्षा याममा फेरि पनि पानी चुहिरह्यो
कैले टालिएलान् कठै चुहिएका छाना
सपनीमा-विपनीमा बोकी हिंडेको छु
गाँस, बास, कपासका चाह साना-साना
हत्या-हिंसा घरमा पसी सिन्दूर खोसेपछि
बिचल्ली भो टार्नलाई दुई छाकको माना
सधैं नयाँ नाना माग्ने नानी रुँदै भन्छे
बाबा! आँखा खोली देऊ चाहिंदैन नाना
भयरहित भैसके कि! गाउँहरू सबै
सदरमुकाम सरी सके गाउँका सबै थाना
‘प्रतिनिधि नेपाली गजलहरू’ पृ १६९
(स्रोत : Majheri)