~अधिकारी राजुश्री~
एउटा कुरा सोध्दा हजुर रिसाउनु हुन्छ हुन्न !
जनताको छाला काढी ताज लाउनु हुन्छ हुन्न !
पराग भए माहुरीले चुम्छ, चुम्छ फूललाई
प्रयोगशालातिर कदम बढाउनु हुन्छ हुन्न
अलि–अलि बुझ्नेहरू पनि त्यसै भन्दा रै”छन्
आफ्नो मिलापमा पराई गुमाउनु हुन्छ हुन्न !
विनाशकाल आएपछि बुद्धि हुन्छ विपरीत,
दाइँ गर्ने फेरी अर्को बोको दाउनु हुन्छ हुन्न !
यस्तै भए भोलि आगो लाग्छ–लाग्छ सहरभरी,
हजुर चाहिं नीरो–धुन बजाउनु हुन्छ हुन्न !
(संस्कृति, अंक ५ बाट)
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १८ – २०६७ चैत्र ०९ गते, बुधबार)