~निभा शाह~
हामी खुट्टा बनाउँछौँ
हामीले बनाएका खुट्टाहरू
हामीलाई नै कुल्चिएर
सडक बनाउँछन् ।
यही हो हाम्रो इतिहास
आफैले बनाएका पैतालाले
आफैलाई कुल्चिएको इतिहास ।
हामी हात बनाउँछौँ
हामीले बनाएका हातहरू
हामीलाई नै हतकडी लगाएर
बन्दी बनाउँछन् ।
यही हो हाम्रो इतिहास
आफैले बनाएका हातहरूले
आफैलाई बन्दी बनाएको इतिहास ।
हामी आँखा बनाउँछौँ
हामीले बनाएका आँखाहरू
हामीलाई नै झिर घोचेर
अन्धो बनाउँछन् ।
यही हो हाम्रो इतिहास
आफैले बनाएका आँखाहरूले
आफैलाई अन्धो बनाएको इतिहास ।
यस इतिहासमा
एकाध फूलहरूले
आत्महत्या गर्दैमा
मालीहरू सती जाँदैनन्
यस इतिहासमा
सिङ्गो बगैँचाले
आत्महत्या गरे पनि
मालीहरू सती जाँदैनन्
मालीहरू
नयाँ–नयाँ बगैँचा बनाइरहन्छन् ।
(कवि निभा शाहको नयाँ कविता संग्रह ‘मनसरा’ हालै प्रकाशित छ । उनको यसअघि ‘इन्कलाब जिन्दावाद’ र ‘कालापानीकी द्रौपदी’ प्रकाशित भइसकेका छन् ।)
(स्रोत : Emulyankan)