कथा : मायाताल

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

राघवको नजर रामाको प्रतिविम्बमा अडियो।

मोहिनी थियो, मायातालमा रामाको प्रतिविम्ब। शिव मन्दिरछेउ श्रद्धालुका लागि फूल बेचेर बस्ने रामा फूलजस्तै राम्री थिइन्। फूलजस्तै फक्रेको जवानी। शिव मन्दिरजस्तै पवित्र मन। र, मायातालजस्तै गहिरा आँखा भएकी रामालाई हेरेको हेर्यैज हुन्थ्यो, पहिलोपटक देख्ने जोकोही जवान पुरुष।

हिमालय पर्वतको काखमा निर्जन वनको बीचमा थियो, कञ्चन र विशाल मायाताल। नजिकै शिवको मन्दिर पनि थियो। सफा आकाश भएको रातमा कोही मायातालछेउ पुग्यो भने यो भ्रममा पर्थ्यो, कुन आकाश र कुन धर्ती हो! दिनको उज्यालोमा मायाताल झनै स्वर्गीय देखिन्थ्यो, नीलो आकाश र सेतो बादलको छायाले। यो विश्वास गरिन्थ्यो– घमाइलो दिनमा मायातालमा सेतो बादलको छाया हेर्ने वृद्धवृद्धा मरेर स्वर्ग पुग्छन्।

मायाताललाई चरीताल पनि भनिन्थ्यो। कुनै कारणवश जोडी गुमाउन पुगेको चराले मायातालमा आत्महत्या गर्छ भन्ने गरिन्थ्यो। त्यसैले, मायाताल वरपरको वनमा कुनै पनि सिकारीले चराचुरुंगीको सिकार गर्दैनथ्यो। यदि कसैले कुनै चराको सिकार गर्योग र त्यस चराको जोडीले मायातालमा आत्महत्या गर्योो भने सिकारी पनि आफ्नी पत्नीसँग बिछोडिनुपर्छ भन्ने पनि विश्वास गरिन्थ्यो।

तर, वास्तविकता अर्कै हुन्थ्यो। भइदिन्थ्यो के भने, प्रायः घमाइलो मध्याह्नमा एकपल्ट मायाताल वरपर हावाको गति रोकिन्थ्यो। र, केही क्षण मायाताल तरंगविहीन स्थिर हुन पुग्थ्यो। यही बेला उड्दाउड्दै कुनै चरा मायातालको बीच भागमाथि पुग्यो भने, सबैतिर आकाशैआकाश भएको भ्रममा पर्थ्यो। र, तालमा ठोकिन पुग्थ्यो। त्यसरी ठोकिन आएका चरालाई तालका रंगीन माछाले खाइहाल्थे।

मायातालबारे कैयौं किंवदन्ती छन्। अनेक आस्था र विश्वास प्रचलित छन्। एउटा अनौठो विश्वास त यो थियो— कोही अविवाहित पुरुषले मायातालमा आफ्नो छाया हेर्यो भने ऊ स्त्री चरित्रको बन्न पुग्नेछ।

अर्को विश्वास थियो— कुनै बालिका जन्मेर रजस्वला नहुँदासम्म आफ्नो रूप कुनै दर्पण वा जमेको पानीमा नहेरी बस्छे र एकैपटक मायातालमा हेर्छे भने उसले सात दिनभित्र आफू सुहाउँदो वर पाउनेछे। तर, यस्तो सौभाग्य लाखौंमा एकलाई जुर्थ्यो।
सुन्दर संयोग मान्नुपर्छ, रामा लाखौंमा एक थिइन्। पहिलोपटक रजस्वला भएको नवौं दिन उनी मायाताल पुगिन्।

जब उनले पहिलोपटक मायातालमा आफ्नो छाया देखिन्, आफू त्यति राम्री भएकीमा विश्वासै गर्न सकिनन्। उनी आफ्नै छायादेखि लजाएर दुवै हातले दुवै आँखा छोपिन्। बिस्तारै एउटा हात खोलिन्, छायाले पनि त्यसै गर्योद। दुवै हातले गाला मुसारिन्, छायाले उसै गर्यो । फेरि दुवै हात छातीमाथि राखिन्, छायाले उसै गरी जिस्क्यायो। तालको पानी अँजुलीमा उबाएर अनुहारमा छ्यापिन्, अनिमात्र त्यो सुन्दर प्रतिविम्ब आफ्नै भएकोमा विश्वास गरिन्। निकै रोमाञ्चित भएर उनले वरपर हेरिन्। नजिकै एउटा नौजवानले तालमा देखिएको उनको छाया हेरिरहेको थियो। पूरै सम्मोहित भएर रामाको छाया हेर्ने नौजवान राघव थिए।

०००

शिवभक्त ब्राह्मणका एकमात्र छोरा थिए, राघव। गुरुकुलमा बसेर शास्त्रज्ञान लिएका राघव निकै तीक्ष्ण मस्तिष्कका थिए। शास्त्रका गहिरा कुरा पनि सजिलै बोध गर्थे। उनलाई गुरुले पहिलो ज्ञान यो दिएका थिए, ‘सबैभन्दा पहिले आमाको रक्षा गर्नू, त्यसपछि जोकोही गर्भवती नारीको, अनिमात्र पिताको।’

राघवले गुरुको ज्ञानलाई केही बेर मनन गरे र सहर्ष स्विकारे। गुरुलाई आश्चर्य लाग्छ, राघवजस्ता चिन्तनशील शिष्यले यति कठिन ज्ञानलाई कुनै सवालै नगरी सहर्ष स्विकारेको प्रति। र, प्रश्न गर्छन्, ‘राघव! एउटा यस्तो परिस्थिति आयो, तिमीले आफ्ना पिता र एउटी गर्भवती नारीमध्ये एकलाई मात्र बचाउन सक्छौ। भन, कसलाई रोज्छौ?’

‘गुरुदेव! अवश्य पनि गर्भवती नारीको रक्षा गर्नेछु,’ राघवको जवाफ थियो।

‘किन?’

‘किनभने, आमा र गर्भवती नारीको रक्षा गर्नु, अनि सम्पूर्ण नारीलाई सम्मान गर्नु नै पुरुषको पहिलो धर्म हो।’

राघवको जवाफमा गुरु त्यति धेरै खुसी देखिएनन्।

एक दिन राघव भीरको बाटो भएर जाँदै थिए। उनले भीरमा एकएक वटा रूखको जरा समाएर आफ्ना पिता र एउटी गर्भवती महिला झुन्डिएको देखे। राघव सरासर गर्भवती महिला भएतिर लागे। र, थाहा पाए— त्यो सब गुरुले उनलाई लिएको परीक्षा रहेछ।
राघव गुरुको पहिलो परीक्षामै उत्तीर्ण भए। राघवले गुरुसँग बढी तर्क–वितर्क गर्दैनथे। उनी चिन्तन–मनन गरेर मात्रै बोल्थे। कुनै पनि विषयको भ्रम र वास्तविकता छुट्याउन तल्लीन रहन्थे। र, सत्यका लागि जतिसुकै कठिन परीक्षा दिन पनि तयार हुन्थे।

राघवले मायातालबारे पनि धेरै सुनेका थिए। तर, पानीमा आफ्नो प्रतिविम्ब हेर्दैमा कोही पुरुष स्त्री चरित्रको बन्नेमा उनलाई विश्वास थिएन। यसको वास्तविकता बुझ्न राघव मायाताल पुगेका थिए। किनारमा पुगेर तालमा नजर के लगाएका थिए, उनको नजर रामाको प्रतिविम्बमा अडिन पुगेको थियो।

रामा लजाउँदै भागेपछि राघवले पछ्याउन थाले।

०००

रामा सरासर शिव मन्दिरछेउ आएर फूल बेच्न थाल्छिन्। भक्तालुले रामासँग फूल किनेर शिव मन्दिरमा चढाउँथे। राघवले पनि त्यसै गरे। तर, उनले फूल किन्ने बहानामा रामालाई आँखाभरि हेरे। उनले शिवको मूर्तिमा फूल त चढाए, तर मन भने रामाको सुन्दरतामाथि चढाइसकेका थिए।

त्यहाँ आउने भक्तालु धेरैजसो नारी हुन्थे। थोरै पुरुषमा पनि सबै विवाहित हुन्थे। तर, राघव कलकलाउँदो बैंसका थिए। एउटा कलिलो युवक मन्दिरमा भगवान्को दर्शन गरिरहेछ, त्यहाँ आउने भक्तालुका लागि यो दृश्य नौलो थियो। सबैले राघवलाई विशेष चासो दिन्थे। यसो हुँदा राघवले रामालाई मनको कुरा भन्ने अवसर पाएनन्। राघव हर बिहान मन्दिरमा फूल चढाउन पुग्थे। उनी दिनभरि जंगलमा कन्दमूल खोजेर, गाउँगाउँमा भिक्षा मागेर हिँड्थे र रात कुनै पाटी–पौवामा बिताउँथे। तर, बिहान नहुँदै मन्दिर आउने बहानामा रामाको दर्शन गर्न आइपुग्थे।

यो क्रम छ दिनसम्म चल्छ। त्यो अवधि रामा र राघव एकअर्काको मायामा पर्न प्रशस्त भइदिन्छ। सातौं दिन, राघवले रामालाई बेहुली बनाएर आफ्नो घरमा ल्याए।

०००

राघवका पिता शिवभक्त ठूला साहु थिए। एकछेउमा उभिँदा आँखाले देख्न भ्याएसम्म जमिन, औंलामा गन्न नसकिने नोकरचाकर, वनको एउटा पाखै ढाक्ने गाईबस्तु, धनदौलतले भरिपूर्ण— शिवभक्त समाजमा गन्यमान्य थिए।
एकपटक, रोपाइँको बेला थियो। शिवभक्त रोपाइँ हेर्न गैरीखेत पुगेका थिए। दमाईहरूले बाजा बजाइरहेका थिए। थुप्रै हली, बाउसे, खेताला र सयौं रोपाहार एक–अर्कालाई हिलो छ्याप्दै रमाइरहेका थिए।

यही बेला कताकताबाट एउटी सात वर्षकी बालिका आफ्ना बाबुसँगै जोत्न पुगी। त्यसरी जोत्न पुग्ने बालिका शिवभक्तकै हलीकी छोरी थिई। उसकी आमा खसिसकेकी थिई। ऊ सधैं बाबुको अघिपछि हुन्थी। त्यही सिलसिलामा उसले हलो समाउन पुगेकी थिई।
त्यति बेला स्त्रीले हलो जोत्नु अशुभ मानिन्थ्यो।

‘स्त्रीले हलो जोत्नु शुभ होइन। यो कुनै अपशकुनको लक्षण हो,’ गाउँका पण्डितले भने, ‘यस कुलक्षिणी बालिकालाई गाउँमा बस्न दिनु हुँदैन।’

शिवभक्तले तत्कालै हलीका बाबुछोरीलाई नै घरबाट निकालिदिए।

त्यसपछि हलीका बाबुछोरी त्यस गाउँ नै छाडेर हिँडे। र, कतै पर अर्को गाउँमा गएर बस्न थाले। त्यस हलीले दाउरेको काम गर्न थाल्यो। नजिकै वनबाट दाउरा ल्याएर गाउँलेको अन्नसँग साट्थ्यो। एक दिन वनमा दाउरा काटिरहेका बेला उसलाई विषालु सर्पले डस्यो। र, मर्योअ। उसकी छोरी टुहुरी भई। त्यस टुहुरी केटीले शिव मन्दिरमा भक्तालुका लागि फूल बेचेर बस्न थाली।

०००

शिवभक्तले जन्मकुण्डली पत्ता लगाए, आफ्नो पुत्रले वधुको रूपमा लगेकी कन्याको। अनि भने, ‘हे पुत्र! यस कन्या कुलक्षिणी छे। यससँग हाम्रो कुल, गोत्र पनि मिल्दैन। त्यसैले यस कन्यालाई त्याग्नू।’

राघवले भने, ‘हे पितादेव! कुनै संकट, सर्त र तर्कमा परेर धोका दिनेछैनौं, जस्तोसुकै बाधा–व्यवधान सहेर पनि जुनीभरि साथ दिनेछांै— यही वाचा गरेर हामीले एक–अर्कालाई वरवधुको रूपमा स्वीकार गरेका हौं।’

शिवभक्त पुत्रप्रति रिसले आगो भए। पुत्रले यति ठूलो निर्णय आफूलाई सोध्दै नसोधी गर्ला भनेर उनले सोचेकै थिएनन्।

शिवभक्तले क्रोधमा आएर भने, ‘कि कन्या त्याग्नू कि पिता।’

राघव शान्त मुद्रामा बोले, ‘हे पितादेव! मैले आफ्नो पितालाई त्याग्न सक्ने कुरै भएन। मेरो हृदयमा हरदम हजुर नै हुनुहुनेछ। तर, मेरो शरीर हरहालतमा रामासँगै हुनेछ। यो मेरो धर्म हो र वाचा पनि हो।’

त्यसपछि पत्नी रामालाई लिएर राघव घरबाट निस्के। नजिकैको वनमा गएर रूखमुनि बास बस्न आइपुगे। उनले रामालाई बायाँ बाहुको सिरानी र दायाँ बाहुको न्यानो माया दिए। र, अनेक चिन्तन–मनन गर्दै निदाउन पुगे। बिहान उठ्दा रामा बाहुमा थिइनन्। उनले वरपर खोजे, कतै भेटेनन्।

राघवले रामालाई महिनौंसम्म खोजे, कुनै पत्तो लागेन।

रामाले एउटा चाँदीको थालीमा फूल बेच्ने गर्थिन्। जुन थाली रामाका बाबुले खेत जोत्दा फालीमा आएको थियो। जसको बीच भागमा कमलको फूलको बुट्टा थियो। रामाले त्यो चाँदीको थाली भने छोडेर गएकी थिइन्।

त्यही थाली बोकेर राघव जोगी भएर हिँड्न थाले।

अन्ततः उनी विरक्त भएर वनवास लागे। मायाताल नजिकै वनमा कुटी बनाएर बस्न थाले। कहिले वरपरको गाउँबाट भिक्षा मागेर त कहिले कन्दमूल खाएर गुजारा गर्थे।

बाह्र वर्ष बित्छ। राघवले त्यही वनको एउटा ठूलो ढंुगालाई कुदेर देवीको मूर्ति बनाउँछन्। र, मूर्तिलाई हरदिन फूल चढाएर पूजा गर्छन्।

एक दिन वरपरका नारीहरू टपरी गाँस्ने पात खोज्न त्यस वनमा पुग्छन्। उनीहरूले त्यो निर्जन वनमा सुन्दर देवीको मूर्ति देख्छन्। त्यसपछि वनमा देवीको मूर्ति भएको खबर हावासरी फैलन्छ।

नयाँ देवीको उत्पत्ति भयो भनेर हजारौं मानिस दर्शन गर्न आइपुग्छन्। महिना दिनमै त्यस मूर्तिलाई मनको इच्छा पूरा गरिदिने इच्छादेवीको रूपमा चिन्न थाल्छन्। कोसौं परदेखि श्रद्धालु आइपुग्छन्। तर, त्यो मूर्ति राघवले बनाएको भनेर कसैलाई थाहा हुँदैन। राघवले पनि आफूले बनाएको मूर्ति भनेर कसैलाई बताएनन्। तर, उनी हरदिन मूर्तिको पूजा गर्न भने पुगेकै हुन्थे।

वर्ष दिनमै मानिसहरू यो विश्वास गर्न पुग्छन्— इच्छादेवीको दर्शन गर्ने हो भने, जस्तोसुकै रोग पनि निको हुन्छ।

०००

चार दशक वर्ष बित्छ।

देवीको मूर्तिमाथि सुनको छानो हालिन्छ। चाँदीका चार–चारवटा ढोका र झ्याल राखेर पर्खाल लगाइन्छ। र, मूर्तिलाई सुन्दर मन्दिरभित्र कैद गरिन्छ। थुप्रै पुजारी हुन्छन्। दिनहुँजसो सयौं मानिस देवीको दर्शन गर्न आइपुग्छन्।

एक दिन, एउटी पागलजस्ती देखिने वृद्धा देवीको दर्शन गर्न आउँछिन्। ढोकानेर आएर उनले मूर्तिलाई एकोहोरो हेर्न पुग्छिन्। उनको आँखाबाट आँसुको वर्षा हुन्छ। केही बेर देवीलाई हेर्दै टोलाएपछि रुँदै देवीलाई अँगाल्न खोज्छिन्। एउटी पागल वृद्धाले मूर्तिको तोडफोड गर्न पनि सक्ने सम्झेर पुजारीहरूले उनलाई रोक्छन्। ती वृद्धाले मन्दिरभित्र पस्न बलजफ्ती गरिन्। उनको अस्वाभाविक व्यवहार देखेपछि मन्दिरका पुजारी केरकार गर्न थाल्छन्।

‘को हौ तिमी? किन यसरी हाम्री देवीलाई झम्टिन खोज्यौ?’

वृद्धा भन्छिन्—
‘मेरो नाम रामा हो। धेरैअघि म यहीँ परको शिव मन्दिरमा फूल बेचेर बस्थेँ। मैले मायातालमा पहिलोपटक आफ्नो रूप हेरेकी थिएँ, आजभन्दा ४० वर्षअघि। त्यति बेला मैले मायातालमा आफ्नो छाया यही मूर्तिजस्तै देखेकी थिएँ। जवानीमा म यो मूर्तिजस्तै राम्री थिएँ। अहो, मजस्तै मूर्ति कसले बनायो होला?’

उनले साँच्चिकै पागलले जस्तै कुरा गरिन्। फेरि पनि उनलाई सोधियो, ‘यत्तिका वर्षसम्म कहाँ गएकी थियौ त?’

‘मायातालमा आफ्नो रूप हेरेको हप्ता दिनमै मैले खोजेजस्तै वर पाएँ। उनले मलाई वधु बनाएर आफ्नो घर लगे। तर, परिवारले मलाई बुहारीको रूपमा स्विकारेन। मेरा पतिले घर–परिवारै त्यागेर हिँड्नुभयो। घर त्यागेर हिँडेकै दिन हामी एउटा रूखमुनि बास बसेका थियौँ। त्यही रात मेरा पतिका आफन्तले खटाएका मानिस आएर हामीलाई छुटाए। त्यसपछि मलाई बेहोस पारियो। होस आउँदा मैले आफूलाई भारतको एउटा नगरमा पाएँ। मेरो वरिपरि गिद्धजस्ता पुरुष थिए। म त्यहाँ सुरक्षित रहने अवस्थै थिएन। म त्यस नगरमा रातारात बदनाम भएँ। मैले दसनंग्रा खियाएर पेट भर्ने काम पाइनँ। र, नगर छाडेर हिँड्न पनि दिइएन, जबर्जस्ती नगरवधु बनाइयो मलाई। तैपनि कताकता आशा हुन्थ्यो, मेरा पति मलाई लिन आउनेछन्। तर, त्यस्तो सुनौलो दिन कहिल्यै आएन। जवानी छँदासम्म म त्यहाँ नगरवधुको रूपमा रहेँ। जवानी ढल्दै गयो र भिरिंगी रोग लाग्यो, मलाई मानिसहरूले नगरबाट खेदे। त्यसपछि म भिक्षुणी भएर घुम्न थालेँ। भिक्षुणी भएर हिँड्दाहिँड्दै यहाँसम्म आइपुगेँ।

मैले धेरैपहिले सुनेकी थिएँ, यहाँकी देवीको दर्शन गर्ने हो भने जस्तोसुकै रोग पनि निको हुन्छ। आफ्नो रोग निको हुने विश्वासमा पनि म यहाँसम्म आइपुगेकी हुँ। यहाँ त आफ्नै मूर्ति पो देख्छु!’

उनको कुरालाई कसैले विश्वास गरेनन्। सबैले पागल बूढी भने।
‘यस भिरिंगी रोग लागेकी वेश्यालाई जिउँदै जलाउनुपर्छ। उल्टै आफूलाई हाम्री पवित्र देवीसँग तुलना गर्छे,’ दर्शनार्थीले आवाज उठाए।

क्षणभरमै भीड वृद्धामाथि खनियो। दर्शनार्थीको भीडले उनलाई जिउँदै आगोमा हाल्यो।

उनी चिच्याउँदै थिइन्। ठिक त्यही बेला राघव आइपुग्छन्। उनी चाँदीको थालीमा फूल लिएर देवीको दर्शन गर्न आएका थिए। एउटी नारी जिउँदै जलेको हेर्ने सामर्थ्य उनीमा थिएन। उनी ती वृद्धालाई बचाउन आगोमा पस्न खोजे। तर, अन्य मानिसले रोके।
राघवको हातबाट फूलको थाली झर्यो । र, गुडेर रामाछेउ पुग्यो। जब रामाले थालीमा कमलको फूलको बुट्टा देखिन्, उनको अनुहारमा उही अद्भूत आभा फर्कियो। जसलाई राघवले पहिलोपटक मायातालमा देखेका थिए।

‘ती मेरी रामा हुन्। उनलाई बचाऊ। यो मन्दिरको प्रतिमा उनैको हो, मैले नै बनाएको हुँ,’ राघव चिच्याउँछन्। उनको कुरा कसैले पत्याउँदैन।

भीडबाट कसैले भन्यो, ‘यो पागल बूढालाई पनि जलाउनुपर्छ।’

राघवले चिच्याए, ‘जलाइदेऊ मलाई पनि, म उनीसँगै मर्छु।’ तर, राघवलाई जलेर मर्न दिइएन। किनभने, त्यति बेला पत्नीसँगै पुरुष सती जानुलाई अशुभ मानिन्थ्यो।

हेर्दाहेर्दै रामा राघवकै आँखाअगाडि जलेर ढलिन्।

त्यसपछि खोइ कुन कारणले हो, राघवलाई पनि मन्दिर प्रवेशमा रोक लगाइयो।

(स्रोत : Nagariknews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.