समय अविरल आइरहन्छ
विना मुहानको पानी जस्तो
पर्खदैन डुवी जाने घाम जस्तो
प्रक्रितिले प्रदान गरेको निशु:ल्क उपहार
प्राप्त भैरहन्छ
बाँच्नको लागि प्राण जस्तो
तर थाहा हुँदैन हामीलाई
सहज-असहज बनेर पाइलामा
गतिशील भएर उर्लिदिँदा
बनिदिन्छ सृस्टिको नियम जस्तो
विद्यमान बगिदिने नदिहरुमा
जन्म र मृत्यु दुइ किनार भएर बगे जस्तो
समय
वलवान हुन्छ
रोकेर रोकिँदैन छेकेर छेकिदैन
त्यसैले घाम बन्छ कहिले सफलताको
औँसीको रात बन्छ कहिले असफलताको
फक्रिन्छ कहिले रङ्गीविरङ्गी फूल भएर वसन्तहरुमा
पोलिन्छ कहिले आगोको राप बनेर छातीहरुमा
धड्कन हो की कुन्नी
खुल्दुलीमा आँखा
जति च्यातेर हेरे पनि
देखिदैन कहीँ
हतारिएर जति भेट्न खोजे पनि
भेटिदैन कहीँ
व्यस्त-व्यस्त भैरहन्छ हरपलमा
समय
छाइरहन्छ सदैव दिनहरुमा, रातहरुमा
र स्पर्स गरिरहन्छ अनुभूतिहरुमा
विना आकृतिको भावना जस्तो
वर्तमान छचल्किरहन्छ भविष्यको पानीमा
रोकिदैन भुतकाल पहिरो गए जस्तो
पर्खदैन डुबी जाने घाम जस्तो ।
*****