कविता : मलाई तिम्रो दरबार चाहिँदैन

~शिव प्रकाश~SHiva Prakash

दरबार बाँड्दै हुनुहुन्छ
नयाँ मालिकहरू
म राजा होइन
किन चाहियो मलाई दरबार
राजा हुन, रण गर्नुपर्छ
गणको स्वामी हुनुपर्छ, बध गर्नुपर्छ
मैले त्यो गर्न सकिनँ
दरबारको आश छैन
म घरबारविहीन नागरिक
सिहदको रगतले
स्वाधीनता पोतिएको
एउटा स्वतन्त्र देशको मालिक भए पनि
नयाँ मालिकहरूका उग्रगामी
अनुत्तरदायी भाषणमा मात्र
मालिक मानिएको म
यथार्थमा म होइन
मालिकहरू नै हो- मालिक
दरबार बाँड्ने वास्तविक मालिक ।
नयाँ मालिक
घरबारविहीन म, दर्जाहीन म
भोक पचाएर, पीडा पिएर
नाड्गो ओढेर अभाव बाँचेको
मान्छे हुनुको यातना भोग्दै
आँखाभरि सहिदको सपना साँचेको
निर्धो नागरिक मलाई तपाईंहरूको
सैन्य दस्ता होइन
शान्तिको त्राण दिनुहोस्
यो धर्तीमा तपाईं आफूहरूबाहेक
म जस्ता अरूको पनि अलिकति हक छ भने
मलाई दरबार हैन
पाइला टेक्ने एक चपरी जमिन दिनुहोस्
मन राजाको जस्तो नभए पनि
हाडछाला, मासु र रगतले बनेको
उस्तै शरीर भएको उही देशको नागरिक हुँ
दर्जा फरक भए पनि
यथार्थमा तपाईंको राजाजस्तै म पनि मान्छे हुँ
त्यो मान्छेलाई मालिकहरूले दरबार दिए पनि
यो मान्छेलाई आङ ओत्न
एउटा झुपडी मात्र दिनुहोस्
नयाँ मालिकहरू,
म राजा होइन
मलाई दरबार चाहिँदैन ।

June 18th, 2008

(स्रोत : Nepal.hk)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.