~विजय योजीत~
उ पर्खीरहेछ
सधैं झैँ उसैगरी ,
अँध्यारोको व्यग्र प्रतिक्षा छ उसलाई
र झुकेको छ चुपचाप
पिपलका जराहरु समाएर
सधैं झैं घामको नकाब लगाएर ,
सधैं झैं सन्ध्याको धारिलो गैंती टेकेर ,
त्यहि पुरानो पर्खालको आडमा !
प्रहर-प्रहरको हेक्का छ उसलाई
पछाडी फर्किएर हेर्दा ,
निमेष- निमेष नाप्न सक्छ उसले ,
आफ्ना अग्लिएका छायाँहरु देख्दा ,
अनि मुस्काउछ आफ्ना स्वविवेक र
कुटिल चेतनाहरु संग ,
सोच्छ ,
लैजान्छु आज फेरी
केहि इँटाहरु निकालेर ,
निदाएका बस्तीहरुबाट ,
भात्काउछु केहि भरोसाका शृंखलाहरु ,
बस्तीहरुकै सपनाहरुबाट !
जब उज्यालोले हार्दै जान्छ ,
र अँध्यारोले जित्दै जान्छ ,
उ नकाब उतार्छ र हेर्छ ,
त्यै अग्लो पर्खालमा !
दृष्टि बिनाका आँखाहरु अंकित
शान्त अनुहार ,
अग्ला अग्ला चिसा नितम्बहरु ,
पारदर्सी भएर बगेका ,
सङ्लो रगतका नसाहरु ,
जब जब बिलाउँछ उत्तरार्ध झैँ भएर
प्रहर प्रहर रातको गर्भभित्र ,
जन्मिन्छ त्यै पुरानो पर्खालको पारीपट्टी
यौटा बालक झैँ बृद्ध ,
ससक्त झैँ असक्त ,
र लत्रिन्छन् या पल्किन्छ्न ,
हातहरु उचाइबाट अवतरण रोजेर ,
वा उसैलाई खोजेर ,
त्यहि पुरानो पर्खालको आडमा !
अब उ
बिस्तारै यौटा झोलाबाट ,
निकाल्छ केहि नुनका पोकाहरु ,
केहि केहि दाल चामलका पोकाहरु
केहि तरलताले भरिएका डब्बाहरु !
र अग्लिन्छ उ यसरि ,
सिसिफस हरुको बस्तीमा भीमकाय भएर ,
या भिमसेनको अघिल्तिरै घोटत्चक भएर ,
हो फयाक्छ अब उसले ,
फेरी केहि पोकाहरु ,
बदलामा उप्काउछ
आँखाहरुबाटै केहि इँटाहरु ,
र फेरी फयाक्छ पोकाहरु ,
बदलामा टेक्छ शितल नितम्बहरु ,
अनि केहि डब्बाहरु थमाउँछ ,
थरथर कापेर थापिएका हातहरुमा
र बदलामा पिउँछ ,
धित मरुन्जेल नशाहरु …..!!
हो बस्तीहरु
निदाइरहेका छन ,निदाइरहुन् बस्तीहरु ,
न ब्युझिउन बस्तीहरु ,
यहि चाहाना छ उसको र लेखियोस यौटा कहानी ,
मेरो आँगन उचालेर बसेका छन् ,
” जमिनमुनिका पर्खालहरु ” !
– विजय याेजीत ,
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)