~देवी नेपाल~
भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदी
ऐले भव्य नदी फुटी सय कुलो बन्दै गए सुस्तरी
यौटा फूल थुती थुती चुँडिदिए देखिन्छ के सुन्दर ?
यौटै काँध बनेर बोक्नु छ धरा खै एकताको बल ?
माटाको घरमा पसेर दुनियाँ भन्दै छ गिर्जाघर
मासिन्छन् क्षणभित्र मन्दिर यहाँ भत्किन्छ त्यो मस्जिद
येशू, बुद्ध तथा खुदा र भगवान् मान्छे न हुन् आखिर
हामी धर्म भनेर बाँडिन पुग्यौँ खै एकताको बल ?
हाम्रै हुन् फरिया, घलेक, मुजुरा, हाकूपटासी पनि
साकेला, छठ पर्व, तीज र दसैँ, गौरा र जात्रा अनि
छाता संस्कृतिको विशाल शिरमा ओड्दा त के हुन्छ र ?
हामी जात भनेर बाँडिन पुग्यौँ खै एकताको बल ?
मेची दिन्छ चिया मिलेर पिउँदै काली पुगौँ साँझमा
बोकी अन्न तराइको सब घुमौँ मुस्ताङका खोचमा
खुट्टा, हात, शरीर, माथ सबको यो देह साझा घर
हामी क्षेत्र भनेर बाँडिन पुग्यौँ खै एकताको बल ?
हड्डीमा किन हुन्छ नित्य झगडा गिर्दै छ मान्छे अब
यौटै लक्ष्य छ पुग्न सक्दछ जुटे छोड्दै छ बाटो तर
बन्ने छैन नि संविधान यसरी डुब्दै छ यो देश त
बिस्र्यौं त्याग अतीतका रगतको खै एकताको बल ?
मिल्छन् ती धमिरा र बन्छ सजिलै आश्चर्य त्यो देवल
देख्छौँ नै महमा समुन्नत कला ती माहुरीको बल
धर्तीमा कुन हो असम्भव कुरा मान्छे हुने निष्फल ?
यौटा देश बनाउने विषयमा खै एकताको बल ?
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)