~मोहन गिरी~
थुप्रै थुप्रै लाज र शरम पचाए पछि पनि
तिमी त के मान्छे नै भयौ त, हो !
मान्छे जस्ता भयौ त? आफै सोच्ने गर
तिमीले दावी गर्ने मान्छे तिमी हौला,
तर मान्छेले दावी गर्ने मान्छे के तिमी हौ त?
तिम्रो मनले भन्दो हो
हो, हो ! म मान्छे हुँ ! मान्छे हुँ
कसले भन्दैन मान्छे, म विशिष्ट मान्छे हुँ
म माननीय, सम्माननीय दुवै हुँ
म यो देशको हर्ता कर्ता दुवै हुँ।
तर तिम्रा मान्छे हुँ भन्ने गर्जनहरु
अगुल्टोलाई पानीमा घुसार्दा च्वाई गरे जस्तै
तिमी धपधप बोलेको अगुल्टो निभेका छौ
एक मुठी पानीमा चोपल्दा तिम्रो अस्तित्व छैन
यसैले तिमी मान्छे कम र अगुल्टो बढी हौ
सोझा सिधाका अगाडि तिमी बल्दो अगुल्टो हौ
जब तिमी नेपालको क्षितिज पार गछर्ौं तब त च्वाई मात्र
तिमी त घर पालुवा कुखुराका शिकारी हौ
तिमी त मरेका बाघका जुँघा च्यात्ने वीर हौ
तिमी त लासमाथि गोली चलाउने योद्धा हौ
तिमी त निर्धामाथि मुक्का चलाउने पहलवान हौ
त्यसैले तिम्रो साइनो मान्छेसँग छैन
तिम्रो साइनो त मान्छे छोडी सकेका
लोभी, पापी, अन्यायी, अत्याचारी
खुनी, दलाली, घुसखोरी, भ्रष्टाचारी
कवाफी, रवाफी, नवाफी
तुन्द्र, मुन्द्रे र गुजुल्टेसँग छ
त्यसैले थुप्रै थुप्रै लाज र शरम चपाएपछि पनि
तिमी त मान्छेको कित्ता छोडिसकेछौं
विडम्बना ! म तिमीलाई माननीय सम्माननीय ठानेको
मैले ठान्नु र मान्नुको मेरो कमजोरीको रापले
आज पोलिरहेको छ कता कता मुटु भित्रैबाट
म पश्चातापमा पिरोलिदै धिक्कारी रहेछु
तिमी मान्छे छोडिसकेको विचरालाई
तिमी त ठूलोभित्रको अत्यन्त सानो
सानो भित्रको सानो हुँदै शून्य पो रहेछौं।
२०६७/१/११, प्यूठान
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४ – २०६७ मंसिर २२ गते, बुधबार )