~किशोर पहाडी~
जब जब पानी पर्छ
म तिमीलाई सम्झन्छु
तिम्रो सुन्दर केश राशीबाट
झर्दै गरेका थोपाहरू
मोतीका
र बग्दै गरेको नदी झैँ ।
जब जब रात पर्छ
म तिमीलाई देख्दछु
आउँदै विस्तारै अँधेरोबाट
छाया विनाका
तिम्रा ओठहरू
केस्रा केस्रा
फूलका पत्र पत्र झैं ।
एक मध्यान्तर पश्चात्
बाँकी छौ तिमी
अब केही एसएमएसभित्र
छौ तिमी मुस्काउँदै गरेको
सम्झनाको ईनबक्सभित्र
एस्एम्एस्
र
ईनबक्समा
डिलेट बटनको खोजी गर्दै तिमी रहेको बेला
समुद्र किनार बालुवामा
कोरिएको नाम झैँ
यता तिमी मेटिएका छौ
एक छालद्वारा
मेरो हृदयको क्यानभासभित्र ।
र फेरि म
आफ्नो रित्तो हृदय लिएर
सूर्योदय र सूर्यास्तका क्षणहरूसँगै
आज निस्केको छु
तिम्रो मुस्कानको खोजीमा ।
तर अचेल मलाई
किन हो किन
प्रेम
घृणाभन्दा
पनि बढी त्रासद लागिरहेको छ ।