~कमला विजेरत्ने~
अनु : केशव सिग्देल
म पत्याउन सक्दिन
त्यो कालो धुँवाको
कुहिरीमण्डल
जुन आकाशसम्म उचालियो
त्यो तिमी नै थियो भनेर;
तिम्रो तस्विर
मेरो एल्बममा
अझै मुस्कुराउँछ
त्यो सुन्दर प्रिय मुस्कान
मलाई कुनै सन्देह छैन भन्ने होइन
तिम्रो फोन नम्बर
मेरा विभिन्न डायरीहरुमा
पुराना र नयाँ
मेल खाँदैनन्
तिम्रो पछिल्लो ठेगानामा
मैले पठाएका चिठ्ठीहरु
फिर्ता आए नखोर्लिकै अवस्थामा
तर पनि तिम्रो आवाज गुन्जिरहन्छ
मेरो मनको
गहिरो गल्छीमा।
त्यसैले म पत्याउन सक्दिन
धुवाँको त्यो कालो मुस्लो
जो हावामा सवार थियो
तिमी नै थियौ भनेर।
To a Friend
कमला विजेरत्ने (श्रीलङ्का)
(स्रोत : Nepalikalasahitya)