~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
तिमी सर्वोच्च छालको
शिखरमा छौ
र यो छाल अटल !
मेरै मुटुको सागरमा उठेको छ ।
नडराउ, यहाँ हिंस्रक सामिप्य छैन
र यो दुरताबाटै मैले
तिमीलाई प्रेम गरेको छु ।
सम्झ,
यहाँ शान्त,शालिन र शुभ्र सामिप्य छ ।
तिमी दुर छौ र नै यो संभव छ
नत्र यो मनको तलाउमा
गोहिहरु चल्बलाउन थाल्थे ।
प्रेम गहिरो छ
र मैले प्रेममा
कुनै नीच उचाइ
कल्पना गरेको छैन ।
त्यहाँ लडिन्छ कि !
भन्ने डर हुन्छ ।
बाहिर र भित्र यही फरक छ
भित्र, म लड्ने संभावना शुन्य छ ।
त्यहाँ तिमी सर्वोच्च छौ ।
म तिम्रो
आधार-शिविर !
विश्वास गर,
यहिबाट हेर्नेछु तिम्रो उचाइ !
यहाँ छु भन्ने संकेत-
म दुबै हात हावामा उचाल्छु ।
सक्छौ,
केही पहिरोहरुले पुर्ने प्रयास गर ।
सक्दैनौ, थोरै हिमपातले स्पर्श गर ।
र विश्वास गर,
तिम्रो पवित्रतालाई कुल्चने, म
आरोही होइन ।
२०६७-०४-०४, कीर्तिपुर, काठमाडौं
(स्रोत : Inepal.Org)