~नवराज दाहाल~
लुकि-लुकि घरि-घरि तिमीलाई नियाल्दा,
चाल नपाएको नाटक गर्दै मुस्कान तिमीले फाल्दा।
बुझिकन नबुझे झै गर्ने तिमी उस्तै,
पत्तै नदिई तिम्रो लागि मर्ने उस्तै म।
आउने जाने जसमा पनि तिम्रै मुहार देख्छु,
मिठो बोली सुन्दा पनि तिम्रै भनी झस्कन्छु।
जहाँ गए नि, यादमा सधैं आउने तिमी उस्तै,
तिमी हिंड्ने प्रत्येक मोडमा धाउने उस्तै म।…..
हरेक रात सपनिमा बारम्बार आयौ,
तिमीले पनि शायद मेरो झझल्को पो पायौ।
धैर्य गरी मेरै बाटो हेर्ने तिमी उस्तै,
प्रकट हुन अनेक मौका कुर्ने उस्तै म।
बिर्सिएछु आँफैलाई, दिक्क लाग्छ अचेल,
बिना तिमी जमाना नै, फिक्का लाग्छ अचेल।
पत्तै नदीइ मन-मुटु चोर्ने तिमी उस्तै,
मुटु खुल्लै तिम्रो सामु छोड्ने उस्तै म।
(स्रोत : INLS – australia)