~राजेश नेपाली~
अप्ठ्यारोमा डराएर के भनौं साथ छोड्नेलाई
नपुग्दै गन्तव्यमा आफ्नो यात्रा मोड्नेलाई
सम्बन्ध गासेपछि ऐस, आराम र धनसँग
अब बाँकी के रह्यो र सबै नाता ताड्नेलाई
मलजल गरी हुर्किएका कोपिलामै झार्छन् भने
फुलको महत्व के थाहा बोटैदेेखि गोड्नेलाई
बाहिर चिल्ला कुरा गर्ने भित्र तिनै झुशिलकिरा
असलीको मोल के थाहा नक्कली खोल ओड्नेलाई
संघर्षमा साथ छोडी मृत्युसँग डराएर
कायर भन्छन् बैरीसँग हात पाउ जोड्नेलाई
–खाँचीकोट–२, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३९ – २०६७ भाद्र ०२ गते, बुधबार )